‘परिवर्तन’को नाममा ‘मुगेरीलालको सपना’ नबनोस् एन्फाको निर्वाचन

‘परिवर्तन’को नाममा ‘मुगेरीलालको सपना’ नबनोस् एन्फाको निर्वाचन


आउँदो चैत १४ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन हुँदै छ । यतिबेला उक्त निर्वाचन विभिन्न कारणले चर्चामा आएको छ । परिवारवादी र परिवर्तनवादीबीचको भिडन्तमा कसले बाजी मार्ला त्यो आफैँमा सनसनी बनेको छ । त्यस्तै पटकपटक विभिन्न बाहना बनाएर सारिँदै आएको एन्फाको निर्वाचन यसपटक पनि तोकिएको समयमा हुन्छ या हुँदैन, त्यो पनि प्रश्नचिह्नको घेरामा परेको छ । दुई दशकसम्म एन्फामा चलेको तानाशाही र फेरि पनि तिनै तानाशाहका सेनामेनाले एन्फालाई हाँक्न गरेको दुस्साहसको सेरोफेरोमा रहेर फुटबलका क्रान्तिकारीको रूपमा चिनिने पूर्व राष्ट्रिय फुटबल खेलाडी शम्भू बास्तोलासँग श्रीविक्रम भण्डारीले गरेको कुराकानी :

० आगामी चैत १४ गते हुन गइरहेको एन्फाको निर्वाचनलाई कसरी हेर्नुभएको छ, निर्वाचन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
– अखिल नेपाल फुुटबल सङ्घ (एन्फा)को चैत १४ गते हुन गइरहेको निर्वाचनप्रति म निकै उत्साहित छु । साथसाथै निरुत्साहित यस अर्थमा छु कि यो निर्वाचन पहिल्यै तोकिएको समयमा हुनुपर्ने थियो, तर भएन । अहिले पनि एन्फाको निर्वाचनसम्बन्धी जुन चर्चा र माहोल देखिरहेको छु, म सशङ्कित छु । निर्वाचनप्रति अहिले पनि प्रश्नचिह्न लागेकै छ ।

० अहिलेको निर्वाचनमा पनि परिवारवादी र परिवर्तनवादीको दुईवटा गुट देखिएको छ, तपाईंको दृष्टिकाणमा यतिबेला कुन वादीले बाजी मार्लाजस्तो लाग्छ ?
– परिवार एन्फामा लामो समयसम्म चलिसक्यो, त्यसले एन्फामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत जरो गाडिसकेको छ । त्यसको उपलब्धि भनेको नेपालको फुटबल अधोगतिमा लाग्नुको साथै अन्तर्राष्ट्रियस्तरमा समेत बदनाम भयो । तसर्थ यसपटक एन्फामा परिवर्तन आवश्यक छ, त्योे हुनु पनि पर्छ । त्यसका लागि सम्पूर्ण क्लब, जिल्ला फुटबल सङ्घ र खेलाडी–प्रशिक्षकले आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।

० फुटबलमा यसरी नातावादले गाँज्दासमेत दास प्रवृत्तिको मानसिकताको उन्मूलन नहुनुको रहस्य के होला ?
– हो, तपाईंले मेरो मनको प्रश्न गरिदिनुभयो । अब यस्तो प्रवृत्तिबाट छुटकारा पाउन फुटबलकर्मी साथीहरू चनाखो हुनुपर्ने र जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ । एन्फाको निर्वाचनले फुटबल पदाधिकारीको चयन मात्र गर्ने नभई फुटबलको कायापलट अर्थात् भविष्यको निर्धारणसमेत गर्नुपर्छ । तसर्थ अब पनि दास बनी दासत्व स्वीकार गर्ने कि परिवर्तनलाई आत्मसात् गरी फुटबलको वृद्धि विकासमा लाग्ने ? त्यो महत्वपूर्ण कुरा हो । त्यसैले अब अवसरबाट चुक्नुहुँदैन, फुटबललाई कसैको पेवाभन्दा सबैको बनाउन सक्नुपर्छ, फुटबलबाट तानाशाही हटाउनुपर्छ ।

० एन्फाका पूर्वअध्यक्ष गणेश थापाले कर्मा छिरिङ शेर्पालाई अध्यक्षका लागि उपयुक्त व्यक्तित्व नभएको र एन्फामा राजनीति भित्र्याउन लागेको आरोप लगाएका छन् । त्यस्तै, यस्तो भए आफू टुलुटुलु हेरेर बस्न नसक्ने सार्वजनिक रूपमै दिएको चेतावनीलाई कसरी हेर्नुभएको छ ?
– बूढो सिंह जति गर्जे पनि अब फुुटबलमा उसको हैसियत के हो, सबैले बुझिरहेका छन् । साँचो रूपमा भन्नुपर्दा थापा अहिले फुटबलमा एकादेशको कथा भइसके । राजाको हैसियतमा बसेका व्यक्ति नाङ्गै नभएर सडकमा हिँड्दा देख्नेले आश्चर्य मानेर गिल्ला गर्नु कुनै आश्चर्यको कुरा होइन । त्यसैले नाङ्गै हिँडिरहेको छु भन्ने हेक्का राख्न सक्नुपर्छ । अहिले थापा पनि यही हालत या मनो दशाबाट गुज्रिरहेका छन् । यस्तो अवस्थामा थापाले टुलुटुलु मात्र नभई आँखै च्यातेर हेरे पनि कुनै फरक पर्लाजस्तो मलाई लाग्दैन ।

० एन्फाको निर्वाचनमा जुन हस्तक्षेपको गन्धको चर्चा चलेको छ, जसलाई अध्यक्षका उम्मेदवार शेर्पाले पत्रकार सम्मेलनमै दुःखको कुरा भन्दै विरोधसमेत गरिरहेका थिए, के साँच्चै यस्तै भइरहेको छ त ?
– यो मामलामा थापा खेलाडी मात्रै होइन, महान् खेलाडी हुन् । थापाले एन्फाको आगामी निर्वाचनमा साम, दाम, डण्ड, भेद सबै उपाय प्रयोग गर्ने निश्चित छ । त्यसको आभास पाएर नै कर्माले आवाज उठाएका होलान् । विगतको एन्फाको निर्वाचनलाई दृष्टिगत गर्दा मलाई लाग्छ, यसपटक पनि थापाले शक्ति प्रयोग गर्नेमा दुईमत छैन । यो कुरालाई थापाले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले पनि पुष्टि गर्छ । तर, फुटबलमा थापाको तानाशाही देख्ने र भोग्नेहरूले अब पनि यो तीतो सत्यलाई आत्मसात् गरेनन् भने त्यो फुटबलका लागि दुर्भाग्य हुनेछ । जसले फुटबललाई सदाका लागि कोमामा पु¥याउनेछ ।

० यतिबेला फुटबलसँग सम्बन्धित व्यक्ति शेर्पाको साथमा देखिएका छन्, उनीहरूको साथ हेर्दा एन्फाको काँचुली फेरिने जस्तो दृश्य अगाडि आएको छ, तपाईंलाई कस्तो लाग्छ ?
– यो परिदृश्यको निर्माता म हुँ, मबाटै एन्फामा थापाको विरुद्धमा विद्रोहको शुभारम्भ भएको हो । तर, अहिले बागमतीमा धेरै पानी बगिसकेको छ । मेरो पदचिह्नमा ढिलै भए पनि फुटबलकर्मीले हिँड्ने आँट र साहस देखाएका छन्, म निकै खुसी छु । फुटबललाई न्याय दिलाउन उनीहरू एकढिक्का भएको देख्दा ज्यादै आनन्दको महसुस गरेको छु । तर, अहिले पनि विश्वस्त हुने अवस्था छ जस्तो मलाई लाग्दैन । विगतमा झैँ छलकपटको जे–जस्तो पनि राजनीतिक खेल हुन सक्छ । पुनः कोही पदका लागि बिक्न सक्ने सम्भावना उत्तिकै देख्छु । यो मेरो भोगाइको प्रत्यक्ष र अप्रत्यक्ष अनुभव हो, जसलाई मैले सामान्य रूपमा लिएको छैन । म अहिले पनि यो साथ र सङ्गठनलाई लोभीपापीहरूको भिडको सङ्ख्या नहोस् भन्न चाहन्छु । उनीहरूले परिवर्तनलाई साँचो रूपमा आत्मसात् गरेका हुन् भने परिवर्तनको नारालाई लिएर अगाडि बढ्न सक्नुपर्छ । अन्यथा यो मुरारीलालको सपनाजस्तै हुनेछ ।

० तपाईं राष्ट्रिय फुटबल खेलाडी किन फुटबलबाट टाढा बस्नुभएको, पर्दापछाडिबाट त निकै खेल खेल्नुहुन्छ ? के स्वार्थ लुकेको छ फुटबलमा, आखिर के चाहनुहुन्छ ?
– मैले जे–जति समय सक्रिय फुटबलमा बिताएँ, त्यो एउटा खुला किताबजस्तै छ । म कस्तो स्वभावको व्यक्ति हुँ, त्यो कुरा सबैलाई ज्ञात छ । फुटबलबाट म कहिल्यै टाढा भइनँ र रहन पनि सक्दिनँ । अर्को कुरा फुटबल मेरो रगतमा छ, म फुटबलको विकास र विस्तारको पक्षधर हुँ । म सक्रिय फुटबलबाट टाढा भए पनि फुटबलमा भएका विकृति–विसङ्गतिबारे बोल्दै आएको छु । मेरा लागि पद ठूलो कुरा होइन, म कार्यमा विश्वास गर्छु । म एन्फाको कुनै पदमा नबसेर पनि फुुटबलको स्तरोन्नतिका लागि कहिल्यै कसैसँग सम्झौता गरेको छैन, भविष्यमा पनि गर्नेछैन । त्यसको मापदण्ड के हो मलाई राम्रोसँग थाहा छ । फुटबलकै कारण मैले जागिर पाएँ, घरपरिवार चलाउन सक्षम व्यक्ति भएँ, फुटबल खेलाडी भएका कारण मैले यो स्थान प्राप्त गरेको हुँ । तर, अहिले फुटबलको हैसियतलाई मसँग दाँज्न मिल्दैन, किनकि त्यो नितान्त व्यक्तिगतजस्तो लाग्छ । त्यसले राष्ट्रको नभई व्यक्तिगत स्वार्थसिद्ध गर्न उन्मुख भएजस्तो देख्छु म ।

० अन्त्यमा, फुटबलको वृद्धि विकासका लागि यो निर्वाचनले कस्तो दूरगामी प्रभाव पार्ने देख्नुहुन्छ ?
– मैले यसलाई निकै गम्भीरतापूर्वक लिएको छु । परिवारवाद र परिवर्तनवादको लडाइँमा कसले विजय हासिल गर्ला, अहिल्यै ठोकुवा गर्ने अवस्था छैन । तैपनि म परिवर्तनको पक्षधर हुँ । यदि परिवर्तनकारीले एन्फालाई गन्तव्यमा पुऱ्याउन सकेनन् र बीचैमा दुर्घटना गराए भने त्यसबेला म तेस्रो शक्तिको विकल्पको रूपमा एन्फाको वागडोर सम्हाल्न उपस्थित हुनेछु ।