घरैबाट शुरु हुन्छ समानताको लडाइँ

घरैबाट शुरु हुन्छ समानताको लडाइँ


– रसना ढकाल

धेरै पहिलेदेखि हामी एउटा भनाइ सुन्दै र भन्दै आइरहेका छौँ, त्यो हो– पतिपत्नी एक रथका दुई पाङ्ग्रा हुन् । त्यो दुई पाङ्ग्रामध्ये एकमा केही खराबी आयो भने अर्को पाङ्ग्रालाई असर पुग्छ । यस भनाइलाई घरपरिवारमा इङ्गित गरिएको छ । यसका लागि परिवारका सदस्यबीच एक–अर्कामा सम्मान दिने वातावरण हुनुपर्छ किनकि एक–अर्काको सम्मानबिना घरलाई दिगो रूप कहिल्यै दिन सकिँदैन । घर सजाउन सबै परिवारको उत्तिकै दायित्व हुन्छ । घर एउटा यस्तो वस्तु हो जसलाई बनाउन मान्छेले आफ्नो जीवन बिताइदिन्छ, तैपनि पूर्ण रूपमा बनाउन सकिरहेको हुँदैन । तर, त्यसलाई बिगार्न कुनै समय नै लाग्दैन । यो यथार्थलाई हामी सबैले मनन गरेका छौँ । घरभित्र रहने हरेक सोचका सदस्यहरूबीच सन्तुलन कायम राख्दै सबैले घर चलाइरहेका हुन्छौँ ।

भनिन्छ, सबैको विचारधारा हुन्थ्यो भने यो संसारको स्वरूप नै परिवर्तन हुन्यो होला । यो संसारको स्वरूपलाई बदल्न हामी आफू पहिला बदलिनुपर्ने हुन्छ । किनकि पहिला आफू परिवर्तन हुनुपर्छ अनि मात्र अरूलाई परिवर्तनको पाठ सिकाउन सकिन्छ । यही परिवर्तनको शुरुवातमै सम्मान आउँछ । जो सबै परिवारमा हुन आवश्यक छ । परिवर्तनका लागि आवश्यक सम्मान भएझैँ त्यस सम्मानलाई बराबर रूप दिन सोचको आवश्यकता पर्दछ । समान सोच नभएको कारण आज घरभित्रदेखि नै द्वन्द्व शुरु भई बाहिरसम्मको यात्रा तय गरिरहेको छ । सोच र सम्मान घरभित्रको कार्यमा जान जरुरी देखिन्छ ।

त्यसैगरी घरलाई राम्रो बनाउन त्यहाँ व्यक्तिको श्रमशक्ति गइरहेको हुन्छ । त्यस श्रमशक्तिको हामीले केही मूल्याङ्कन नै गर्दैनौँ । हामीकहाँ घरमा गरिने श्रमलाई काम होइन केवल बाहिरको काम मात्र काम हो भन्नेर परिभाषित गर्ने गरिन्छ । त्यही परिभाषाको विपरीत चाहना भनेको महिला र पुरुषबीचको असमानाता हो । यी दुई लिङ्गमा समानता ल्याउनलाई नै आज महिलाको सम्मानको कुरा उठेको हो । घर शान्ति नै विश्व शान्तिको आधार भनेझैँ घर नै पहिलो स्थान हो जहाँ समानाताका लागि एकले अर्कोलाई सम्मान गर्नु आवश्यक पर्छ । हाम्रो घरको संरचना त्यो अवधारणाले बनेको छ जहाँ कार्यको विभाजन गरिएको छ । जस्तै, प्रायः गरेर घरको सबै जिम्मेवारी महिलाले नै बोक्नु परिरहेको हुन्छ भने घरबाहिरको पुरुषले जिम्मेवारी बोक्नुपरेको हुन्छ । हाम्रो सोचाइको संरचना पनि पुरुष भनेको बाहिरको काम गर्ने प्राणी हो भने महिला केवल घरभित्रको परिधिमा रही काम गर्ने प्राणी हो भनेर चिनाएको छ । घरभित्रको श्रमलाई कुनै स्थान नदिएको हाम्रो मनस्थितिले बाहिरको कामलाई मात्र प्रमुखताको साथमा हेरेको हुन्छ । पहिलो असमानता त यहीँ नै सुरु हुन्छ । यसैको कारणले गर्दा समानताको लडाइँ गर्नुपर्ने हुन्छ ।

घरभित्र रहेका दुई शक्तिमा असमानताको जब पर्खाल लाग्न थाल्छ तब त्यहाँ द्वन्द्व उत्पन्न हुन्छ । त्यही द्वन्द्वको प्रतिफल हो समानताको द्वन्द्व । समानताको द्वन्द्व भनेको कसैलाई काखा या कसैलाई पाखा लगाउने होइन, यो त सृष्टि चलाउने दुई प्राणीबीचको एक–अर्कालाई गरिने सम्मानको वातावरण बनाउने स्थान हो ।

अर्कोतिर लडाइँ भनेको रक्तपात, एक–अर्कालाई घायल बनाउने खालको द्वन्द्व भन्ने बुझिन्छ । तर, यो लडाइँ कुनै रक्तपात गरेर कसैको टाउको फोडेर गरिने लडाइँ होइन । यो त केवल पुरुषले गरेको कामको जुन सम्मान छ त्यस्तै सम्मान महिलाले गर्ने काममा पनि देऊ भन्न खोजिएको हो । तर, यसो भनिरहँदा समाजका गन्यमान्य भनौँदाहरूको विपरीत तर्क आउन सक्छ किनकि ती गन्यमान्यहरूलाई पनि के लाग्छ भने घरको सबै धन्दा महिलाले गर्नुपर्छ । त्यहाँ पुरुषको सहभागिता हुनु भनेको जोइटिङ्ग्रेको उपनाम आउनु हो । पुरुषलाई लगाइने यस्तो ट्याग पनि पित्तृसत्ताकै दोष हो भन्नुपर्दा दुईमत नहोला । किनकि पितृसत्ताले महिलालाई मात्र कमजोर होइन पुरुषलाई पनि कमजोर बनाएको छ । पुरुषले चाहेर पनि महिलाको काममा सहभागी हुन सक्दैन । किनकि उसलाई डर र लाज हुन्छ त्यो समाजको जो पितृसत्ताको विगुल लिएर हिँडिरहेको छ । त्यसले मलाई केही असर त गर्ने होइन भन्ने ।

घरभित्र रहेका दुई शक्तिमा असमानताको जब पर्खाल लाग्न थाल्छ तब त्यहाँ द्वन्द्व उत्पन्न हुन्छ । त्यही द्वन्द्वको प्रतिफल हो समानताको द्वन्द्व । समानताको द्वन्द्व भनेको कसैलाई काखा या कसैलाई पाखा लगाउने होइन, यो त सृष्टि चलाउने दुई प्राणीबीचको एक–अर्कालाई गरिने सम्मानको वातावरण बनाउने स्थान हो । नेपाली महिलाले यस्तै समानताको लडाइँ वर्षौँदेखि लड्दै आइरहेका छन् । लडाइँको प्रतिफल वर्तमान समयमा सकारात्मक देखिए तापनि कहीँ कतै अझैसम्म पनि असमानता नै कायम रहेको देखिन आउँछ । सामाजिक सोच र मूल्य–मान्यताले जकडेको त्यो दिमागलाई स्थिर बनाउन अझै केही वर्ष लाग्न सक्ने देखिन आउँछ । दक्षिण एसियाकै पहिलो देश नेपाल नै होला जसले नेपाली महिलालाई उच्च स्थानमा पुग्न बाटो दिएको छ । तैपनि कहीँ–कतै त्यस स्थानलाई पूर्ण रूपमा महिलाले कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नचिह्न बेलाबेलामा उठाइन्छ ।

नेपाली महिलाको आन्दोलनको अर्को पाटो हो पहिचान । जो आफूबाट जन्मेको बच्चालाई आफ्नो पहिचान दिन सकेको स्थिति छैन । जस्तै आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्ने कुरामा नेपाली महिलाले आन्दोलन गरे । फलस्वरूप नेपालको संविधान २०७२ ले आमाको नामबाट नागरिकता पाउनु धेरै कुरामा अडचन देखाएको छ भने अर्कातिर पहिचानको लडाइँलाई राज्यले उपेक्षा नै गरेको छ । देशमा यत्रो परिवर्तन भए पनि नागरिकताको सवालमा राज्य महिलाको पक्षमा मौन नै बस्यो । आखिर किन ? के यो राज्य चलाउने हरकोही प्राणी त्यही आमाको कोखबाट जन्म लिएका होइनन् र ? के महिलाको काम केवल बच्चा जन्माउने मात्र हो ? उसले आफ्नो कोखबाट जन्म दिएको बच्चालाई आफ्नो पहिचान दिन नसक्नु के कारण हो ? यस्ता प्रकारका अड्चनले महिलाअधिकारको आन्दोलनलाई नर्भस पारेका छन् ।

यति भनिरहँदा राजनीतिक रूपान्तरण महिलाको हकमा सफल भए पनि सामाजिक रूपान्तरण हुन बाँकी नै छ । यो समाजले महिलाले गरेको कार्यलाई जहिलेसम्म सम्मानको स्थान दिँदैन तबसम्म महिलाप्रति विभिन्न प्रकारका टीका–टिप्पणी निस्किनै रहन्छ । किनकि यो पितृसत्ताले महिला बलियो भएको, आत्मनिर्भर भएको देख्न चाहेको हुँदैन । त्यसैले कहीँकहीँ महिलाले गरेको कार्यको नराम्रोसँग मूल्याङ्कन हुनुका साथै ए यो महिला हो यसलाई केही पनि आउँदैन भन्ने लाञ्छना लगाउँछन् ।

बच्चा जन्मनासाथ लिङ्गका आधारमा त्यो एउटा निश्चित श्रेणीको भइहाल्छ । महिला र पुरुषबीचका सम्बन्धहरूलाई बुझ्नका लागि पितृसत्तालाई बुझ्नुपर्छ । जसको कारण महिला र पुरुषबीच ठूलो खाडल नै खडा गरेको छ ।

हामी सबैलाई थाहा भएको कुरा हो, बच्चा जन्मनासाथ लिङ्गका आधारमा त्यो एउटा निश्चित श्रेणीको भइहाल्छ । महिला र पुरुषबीचका सम्बन्धहरूलाई बुझ्नका लागि पितृसत्तालाई बुझ्नुपर्छ । जसको कारण महिला र पुरुषबीच ठूलो खाडल नै खडा गरेको छ । त्यो सत्तामा पुरुष बाहुल्य हुन्छ भने त्यहाँ महिला कमजोर पक्षको रूपमा रहन्छिन् । उनको निर्णय सबै त्यस पितृसत्ता चलाएर बसेको जो छ उनीहरूको हातमा हुन्छ । निर्णयको अधिकार अरूको हातमा हुनेबित्तिकै कमजोर पारिएको व्यत्ति,को मनोबल खस्छ । उसले सही र गलत छुट्याउन सक्दैन । वर्षौँदेखि त्यही अभ्यास चल्दै आएको हाम्रो समाजमा परिवर्तनको विगुल फुक्दै महिलाको कामको सम्मानको कुराहरू गर्नै सक्दैन ।

देशमा यति ठूलो परिवर्तन महिलाको पक्षमा भए तापनि कहीँ कतै कमजोर पक्षको रूपमा महिलालाई चित्रण गरिएकै हुन्छ । वर्षौँदेखि महिला अधिकारको आन्दोलन मुलुकमा चलिरहँदा एक पक्षले यो त पुरुषविरोधी आन्दोलन हो भनेर व्याख्या गर्छ । किनकि सबैको मानसपटलमा पनि यही नै भाव बसेको हुन्छ । यथार्थमा रहेर कुरा गर्ने हो भने महिला अधिकारको सवालमा उठेका नाराहरू र अधिकारका कुराहरू पुरुषविरोधी होइन, यो त केवल वर्षौँदेखि महिला र पुरुषबीच पितृसत्ताले खनेको खाल्डोलाई समानताले पुरौँ भन्न खोजिएको हो ।

विभिन्न वाहनामा गरिने महिला आन्दोलनको निष्कर्ष समानाताको रेखा कोर्नका लागि हुने गरेको छ । घरको परिधिदेखि बाहिरसम्मको समानताको लडाइँमा कहीँ महिला–पुरुष हातेमालो गर्दै जान जरुरी देखिन्छ । किनकि महिलालाई लागेको चोटको असर पुरुषलाई पुग्न सक्छ भने पुरुषलाई लागेको चोटको असर महिलालाई पुग्न सक्छ । त्यसैले सामाजिक संरचनाले पाखा पारेको वर्ग जब आन्दोलनमा उत्रिन्छ तब उसलाई चारैतिरबाट साथ र सहयोगको खाँचो पर्दछ । सम्मानपूर्वक बाँच्न पाउने हरेक प्राणीको अधिकार हो भनेझैँ समानताको लडाइँमा लिङ्गको आवश्यकता पर्दैन । हरेक वर्गका व्यक्तिको उपस्थिति हुन आवश्यक देखिन्छ ।

[email protected]