पशुपतिनाथ र विश्व व्यवस्था

पशुपतिनाथ र विश्व व्यवस्था


– केशवप्रसाद चौलागाईं

करचरणकृतंं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वापराधम् ।
विहितमविहितं वा सर्वमेतत् क्षमस्व
जय जय करुणाब्धे श्री महादेव शम्भो ।।

महादेवको स्तुती र प्रार्थनासँगै विश्वव्यवस्था सञ्चालनमा ईश्वरीय प्रभाव र कारणको खोजी हुनु स्वभाविकै हो । ब्रह्माण्ड र जीवको सृष्टि र सञ्चालनमा पशुपतिनाथको भूमिकाका कारण पशुपतिनाथ राष्ट्रदेवताको रुपमा पूजित हुनुहुन्छ । ‘वेदः शिवः शिवो वेदः ।’ अर्थात वेद नै शिव हुन् र शिव नै वेद हुन् भन्ने शास्त्रवचनले पनि पशुपतिनाथको महत्वलाई बुझ्न सहज हुन्छ ।

सनातन हिन्दु धर्मको आधार वेद हो भने वेद नै शिव हुन् भन्ने मान्यताले पशुपतिनाथको प्रमुख स्थान रहेको प्रष्ट हुन्छ । व्यवहारिक रुपमा समेत सूर्यको तेज प्रदान गर्नुहुने र शिरमा चन्द्रमालाई धारण गर्नुहुने शिव भगवानको चरित्र र स्वरुप विश्व व्यवस्थाको प्रतीकका रुपमा देखिन्छ ।

प्राणको श्रोत नै सूर्य हुन् भने चन्द्रमा स्वर परिवर्तनको । सूर्यबाट प्राप्त हुने प्राणको सञ्चालन व्यक्तिमा सूर्य र चन्द्रनाडीबाट प्रवाहित गराई उर्जा सन्तुलन तथा जीवन सञ्चालन गराउने परम्परा एक विश्व परम्परा हो र त्यसको आधार शिव भएकाले शिवद्वारा विश्व व्यवस्थाको सञ्चालन भएको देखिन्छ ।

विश्वका सबै प्राणीहरूको जीवन सुखमय बनाउन पनि शिवको प्रार्थना गरिइने परम्पराले विश्वव्यवस्थाप्रतिको उत्तरदायित्व छर्लङ्ग हुन्छ । शिव र रुद्र ब्रह्मकै पर्यायवाची शब्द भएकाले शिवलाई रुद्रै पनि भनिएको हो । ‘दुःखम् द्राबति नाशयतीति रुद्रः’ । दुःख नष्ट गरिदिने भएकाले रुद्र भनिएको हो । एवं प्रकार दुःख नाश गरी सुख प्रदान गर्ने भगवान शिव जीवको मुक्तिका लागि पनि उत्तिकै क्रियाशिल र जिम्मेवार देखिनुहुन्छ । ‘पश्यन्ति इति पशवः’ अर्थात् जसलाई संसारको आकर्षणले प्रभावित तुल्याउँछ तिनै पशु हुन्छन् भनिएको छ ।

सांसारिक लोभ, मोहबाट प्रभावित जीवलाई पशुत्वबाट मुक्ति दिलाउने उनै शिव भएकोले सबैको मुक्तिदाताको रुपमा पुजनीय हुनुहुन्छ । विराज पुरुषका रुपमा सृष्टि तथा मूल प्रकृतिका रुपमा शास्त्रले गरेको व्याख्या पनि स्मरणीय रहेको छ । ‘सर्वदेवात्मको रुद्रः सर्वे देवाः शिवात्मकाः । रुद्रात्पवर्तते बीजं बीजयोनिजनार्दनः । यो रुद्रः स स्वयं ब्रह्मा यो ब्रह्मा स हुतासनः ।। ब्रह्मविष्णुमयो रुद्र अग्निषोमात्मक जगत् ।।’ यस कथनबाट रुद्र नै मूल प्रकृति पुरुषमय आदिदेव साकार ब्रह्म हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ  । साकार ब्रह्मको रुपमा जीवनलाई पशुत्वबाट मुक्ति दिलाउने पशुपतिनाथारे ईश्वर गीताको निम्न वचनले पनि स्पष्ट पार्दछ ।

‘आत्मानः पशवः प्रोक्ताः सर्वे संसार वर्तिनः
तेषां पतिरहं देवः स्मृतः पशुपतिर्बुधैः ।।
मायापाशेन बध्नामि पशूनेतान् स्वलीलया
मामेव मोचकं प्राहुः पशूनां वेदवादिनः।।
मायापाशेन बद्धानां मोचकोऽन्यो न विद्यते ।
मामृते परमात्मानं भूताधिपतिमब्ययम् ।।
चतुर्विशतितत्वानि माया कर्मगुणा इति ।
एते पाशाः पशुपतेः क्लेशाश्च पशुबन्धनाः ।।

अर्थात् संसारको बन्धनमा परेका सम्पूर्ण जीवात्माहरू नै पशु कहलाउँछन् । तिनको पति र इष्टदेव मै हुँ, त्यसैले विद्वानहरू मलाई पशुपति भन्दछन् । म आफ्नो लीलाको क्रममा ती पशुहरूलाई माया रुप पाशद्वारा बाँध्दछु  । वेदवेत्ताहरू ती पशुहरूको मुक्तिदाताका रुपमा मलाई नै बताउँछन् । मायाको पाशद्वारा बाँधिएकाहरूलाई छुटकारा दिलाउने सम्पूर्ण प्राणीको अधिपति मै परमात्मबाहेक अर्को कोही छैन । अविनाशी म परमात्मा नै तिनीहरूलाई मुक्त गरिदिन्छु  । पाँच ज्ञानेन्द्रीय, पाँच कर्मेन्द्रीय, पाँच महाभूत, प्राँच प्राण, मन, बुद्धि, चिन्तन र अहंकार यति चौबीस तत्वहरू र मायाले सिर्जना गरेको गुणहरूको यो समूह नै जीवात्मालाई बाँध्ने पाश कहलाउँछन्  । पशुपतिका पाशका रुपमा यिनै चौबीस तत्व हुन्छन् । अनि भव बन्धनका रुपमा चाहिँ अनेकौं क्लेशहरू हुन्छन् । एवम् प्रकार पशुत्वबाट मुक्ति दिलाउने मार्गमा पाशुपत योग र रुद्राष्टाध्यामी महत्वपूर्ण साधना देखिन्छन् । पाशुपतयोगबारे ईश्वर गीतामा उल्लेखित निम्न वचनले पनि पाशुपतधर्मको महत्वलाई उजागर गर्दछ ।

एब पाशुपतो योगः पशुपाशविमुक्तये । सर्ववेदान्तसारोऽ यमत्याश्रममिति श्रुति: । अर्थात जीवलाई बन्धन रुपपाशबाट मुक्त गर्नको लागि योपाशुपत नामक योग भनिएको हो । यो सम्पूर्ण वेदान्तको सार हो र श्रुतिमा यस योगको अवस्थालाई सबै आश्रमहरूको अवस्थाभन्दा उत्कृष्ट बताईको छ । एवम् प्रकार सृष्टिका सबै जीवहरू श्वासप्रश्वासका आधारमा जीवीत रहने हुँदा उनीहरूको जीवन संचालनमा प्रत्यक्ष प्रभाव पार्नै भगवान पशुपतिनाथद्वारा प्रदत्त पाशुपत योग विश्व व्यवस्थाको महत्वपूर्ण साधना र आस्था बन्दै गइरहेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा समेत विश्व योग दिवसको रुपमा मान्यता पाउनुले पनि विश्व व्यवस्थामा महत्वपूर्ण भूमिका प्राप्त गरेको छ । ‘आ यद वामीपचससा मित्र वयं च सुरयः । व्यचिष्ढे बहुपायेय येतमही स्वराज्ये’, अर्थात विस्तृत बहुमतद्वारा जसको पालना हुन्छ यस्तो स्वराज्य शासनमा जनताको भलाईका लागि रहौँ भन्ने ऋगवेदको सिद्धान्तले प्रजातन्त्र, राष्ट्रियता र समावेशितालाई सम्बोधन गर्दै विश्व व्यवस्थाको मार्गदर्शन गराउनुले पनि वेद र शिवको औचित्य प्रमाणित हुन पुगेको छ । उपासना र मुक्तिका साथै दैनिक समाज र राष्ट्र संचालन गर्दै विश्वलाई एकीकृत गराउने वैदिक स्वराज्यको अवधारणाले विश्वलाई नै आकर्षित तुल्याउँदै सबैको साझा र मान्य देवताको रुपमा पशुपतिनाथ स्थापित हुन सक्नुभएको छ । भगवान पशुपतिनाथले सबैको कल्याण गरुन् ।