किन पछुताए पत्रकार भगिरथ ?

किन पछुताए पत्रकार भगिरथ ?


लन्डन । नेपाल पत्रकार महासंघ युकेको सदस्यता वितरणसम्बन्धी विवाद चर्किएर अर्को चरण प्रवेश गरेको छ । विवाद चुलिँदै गर्दा संघका सल्लाहकार भगिरथ योगीले पदबाट राजीनामा गर्ने घोषणा गर्दै पदाधीकारीहरुलाई इमेल पठाएका छन्।

पत्रकारको स्वतन्त्र संस्थाको सट्टा महासंघको शाखा खोलेर गल्ती गरिएछ भन्ने सोच आफूभित्र पलाएको खुलासा गर्दै सल्लाहकार योगीले सदस्यतासम्बन्धी विवादले आफू दुःखी भएको उल्लेख गरेका छन् ।

एक इमेल लेख्दै सल्लाहकार योगीले विवाद समाधानका लागि केही सुझाव दिएका छन् । पदाधीकारीहरुले एकअर्कामा आरोपप्रत्यारोप गर्नुको सट्टा चाँडो सहमतिमा पुग्न उनले आग्रह गरेका छन् । सञ्चारकर्मी योगीले कार्यसमितिलले सदस्यतासम्बन्धी विवाद तत्काल समाधान गरेर निर्वाचन समिति गठन गर्न सुझाव दिएका छन् । सदस्यता विषयमा उठेको विवादबारे कुनै पनि अनलाइन तथा सामाजिक सञ्जालमा नलेख्न उनले अनुरोध पनि गरेका छन् ।

पत्रकार महासंघ युकेको अधिवेशनअगाडि वर्तमान अध्यक्ष नरेश खपांगी मगरले आफ्नो पक्षलाई मात्र सदस्यता बाँडेको भन्दै विवाद बढेको हो ।

यसरी विवाद बढेपछि हालको समिति भंग गरी तदर्थ समिति गठन गर्न युकेमा कार्यरत पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले निवेदन गरेका छन् । महासंघलाई लेखिएको अनुरोधपत्रमा नेपाल पत्रकार महासंघ बेलायत शाखाको दुईवर्षे कार्यावधि मार्च ६ तारिखदेखि सकिएको उल्लेख गर्दै कार्यसमितिले अर्को अधिवेशनको मितिसमेत तय नगरिएको प्रस्ट्याइएको छ । अधिवेशनको मिति नतोकी कुनै तयारी नगरेको अवस्थामा शाखाको कार्यअवधि स्वतः समाप्त भएको भन्दै दुःख प्रकट गर्दै लेखिएको निवेदनमा अगाडि भनिएको छ- ‘शाखाको चौथोअधिवेशनको लागि आवश्यक तयारीसमेत हालसम्म नभएको अवस्थामा जनवरी ३१ तारिखसम्मको लागि नयाँ सदस्यको लागि आवेदन खुल्ला गरिए पनि हालसम्म ती सदस्यको विवरण र सदस्यता शुल्कबारे कार्यसमितिले आवश्यक निर्णयसमेत गर्न सकेको छैन। विधानतः कार्यअवधि सकिएको कार्यसमितिले सदस्यतालगायत अन्य विषयमा गरेको निर्णय स्वतः अवैधानिक र सर्वमान्यसमेत नहुनेसमेत जानकारी गराइन्छ ।’

‘महासंघको शाखाको विधान, केन्द्रीय विद्यान र वैदेशिक नियमावलीको समेत निर्देशनको पालन नगर्ने, विधिविधानको उल्लंघन गर्ने र समयसीमाभित्र महाअधिवेशन समेत गर्न नसक्ने पत्रकार महासंघ यूके शाखाको अध्यक्ष नरेश खपांगी मगरको नेतृत्वमा रहेको समिति भंग गरी नयाँ तर्दथ समिति तत्काल गठन गरी शाखाको महाधिवेशनको मिति तोक्न हुन विनम्र अनुरोध गर्दछौँ ।’

यसरी महासंघलाई आह्वान गर्नेहरुमा विपिन निरौला (संस्थापक सदस्य एवम् पूर्वपार्षद, नेपाल पत्रकार महासंघ, यूके), खुशी लिम्बु (महासचिव, आदीवासी पत्रकार महासंघ, यूके), धर्मराज अधिकारी (निवर्तमान उपाध्यक्ष , नेपाल पत्रकार महासंघ, यूके), मिलन शर्मा (संस्थापक सदस्य, नेपाल पत्रकार महासंघ, यूके), गुणदेव घिमिरे (संस्थापक सदस्य, नेपाल पत्रकार महासंघ, यूके), संजयभक्त कँडेल, विनय अधिकारी, मनिष श्रेष्ठ, सुशील प्रजापति, कृष्णा भण्डारी, जसन भट्टराई, प्रकाश महर्जन, आशिष महर्जन, खेमराज रानाभाट, विकेशराज बस्नेत , रोमियन लिम्बु र लालबहादुर गुरुङ रहेका छन् ।