अशिक्षा र अभावले हिंसा बढायो, चेतनासँगै उजुरी पनि बढ्दो

अशिक्षा र अभावले हिंसा बढायो, चेतनासँगै उजुरी पनि बढ्दो


– प्रणय साह

जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा ठूलो सङ्ख्यामा घरेलु महिला हिंसाको घटना दर्ता भएका छन् । आव ०७४/७५ को फाल्गुण मसान्तसम्म सेवा केन्द्रमा ३ सय ६३ वटा घरेलु हिंसाको घटना दर्ता भएकोमा सेवा केन्द्रबाट २ सय ९० वटा फस्र्यौट गरेको र एउटा मुद्दा बारा जिल्ला अदालतमा पठाइएको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

महिला हिंसामा मुख्य आरोपी या पीडक घर–परिवारका सदस्य नै हुने गरेको प्रहरी प्रमुख बैदवारको भनाई छ । महिला तथा बालबालिका सेवा केन्द्र बाराले घरेलु महिला हिंसा न्यूनीकरण गर्न विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सहयोगी सिद्ध भएको बताइन् । विभिन्न प्रकारका यस्ता कार्यक्रम जिल्लाभरका गाउँघरमा प्रचारप्रसार भएपछि महिलाहरू हिंसा सहेर नबस्ने र सम्बन्धित निकायमा उजुरी गर्न पुग्ने गरेका, यसरी उजुरी गर्नेको सङ्ख्या निरन्तर बढिरहेको महिला तथा बालबालिका सेवा केन्द्र बाराका प्रहरी नायब निरीक्षक लालुमाया श्रेष्ठको भनाई छ ।

धेरैजसो घरेलु हिंसा आफ्नै घरपरिवारका सासु–ससुरा, श्रीमान र गाउँसमाजबाट समेत हुने गरेकोले त्यसतर्फ महिला सेवा केन्द्रको बढी ध्यानाकर्षण भएको र उनिहरुलाई सेवा केन्द्रमा बोलाई काउन्सिलिङ तथा छलफल गरी मिलाएर पठाउने गरिएको श्रेष्ठले बताइन् । घरेलु हिसा बढ्नुको अर्को कारण गरिबी र अशिक्षा भएकोले अशिक्षा र अभावले ग्रस्त धेरै महिला तथा बालबालिका हिंसा सहेर बस्ने गरेको उनले बताइन् ।

त्यसैगरी बारा जिल्लामा फाल्गुन मसान्तसम्म बलात्कारका मुद्दा सातवटा दर्ता भएको र सातजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाइएको महिला सेल बाराकी प्रहरी नायब निरीक्षक लालुमाया श्रेष्ठलेले बताइन् ।

त्यसैगरी बलात्कारकोे प्रयास गरेको पाँच जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । आब ०७४/७५ को फाल्गुन मसान्तसम्म महिला तथा बालबालिका सेवा केन्द्रमा बहुविवाहको दुईवटा मुद्दा दर्ता रहेको र दुबै जनालाई पक्राउ गरि कार्वाही गरिएको छ । घरेलु हिंसाको शिकार बाराको करैयामाई गाउँपालिका–४ लौतन निवासी सपना चौधरीले महिला सेल बारामा दिएको उजुरीका आधारमा उनका श्रीमान चिरञ्जीवी चौधरीलाई पक्राउ गरी मिलापत्र गराएर छाडिएको प्रहरीको भनाई छ ।

प्रहरीले कुन पनिै किसिमको हिंसा सहेर बस्नु भनेको हिंसालाई बढावा दिनु हो भन्दै महिला तथा बालबालिकामाथिको हिंसालाई समयमै जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला तथा बालबालबालिका सेवा केन्द्रसम्म पुर्याउन सहयोगको आग्रह गरेको छ ।