सौरभले दिए बुहारी मायालाई मिर्गौला दान

सौरभले दिए बुहारी मायालाई मिर्गौला दान


मिर्गौलाको समस्याबाट गुज्रिरहेकी झापाका पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उनकै जेठाजु सौरभले मिर्गौला दान गरेका हुन् । भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा गत बिहीबार मायाको मिर्गौला प्रत्यारेपण गरिएको हो ।

रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि दश महिनाअघि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन् । उपचारका क्रममा चिकित्सकले दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि कसले मिर्गौला दान दिने भन्नेबारेमा उनको परिवार तथा आफन्तजन छलफलमा जुटेको थियो ।

सोही क्रममा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए । सौरभकी पत्नी करुणालाई उद्धृत गर्दै राससले दिएको जानकारीअनुसार मिर्गौलाको सफल प्रत्यारोपण भएको छ भने हाल दान दिने र लिने दुवैको स्वास्थ्य सामान्य छ ।