साँच्चैको नाकाबन्दी अब हुन्छ : उपेन्द्र यादव

साँच्चैको नाकाबन्दी अब हुन्छ : उपेन्द्र यादव


सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब साँच्चैको नाकाबन्दी हुने बताउनुभएको छ । ‘पहिले सीमासम्म पुगेर धर्ना बस्न बाध्य हुनुपरेको थियो, हामीहरूको भावनाविपरीत संविधान जारी भएपछि हामी सीमामा धर्ना दिन बाध्य भएका थियौँ । तर अबचाहिँ साँच्चैको नाकाबन्दी हुने अवस्था आउँदै छ ।’ शान्ति, स्थिरता र विकासका विषयमा आयोजित वृहत नागरिक परामर्श कार्यक्रममा यादवले उपरोक्त विचार व्यक्त गर्नुभएको हो ।

उहाँको भनाई छ– ‘अब प्रदेश र केन्द्रका बीचमा द्वन्द्व हुन्छ, अधिकारका लागि सङ्घर्ष हुन्छ, मुखिया र खरिदारले समेत नटेर्ने प्रदेश सरकारको कुनै अर्थ रहन्न ।’

अध्यक्ष यादवले संविधान जारी भएपछि आफूले तत्कालिक राष्ट्रपति डा. रामवरण यादवलाई संविधान कसरी जारी भयो भनी सोधेको प्रसङ्ग स्मरण गर्दै भन्नुभयो– ‘उहाँले पनि नपढिकन तीनपटक ढोगेर सही गरी संविधान जारी गरिदिनुभएको रहेछ । चारसयवटा संशोधन प्रस्तावमा छलफलसम्म नभई संविधान जारी गरिएको हो । ह्वीप जारी गरी सबैलाई हुन्छ भन्न लगाएर यो संविधान ल्याइएको हो ।’

नेता यादवले नेपालको संविधानले विविधतालाई सम्बोधन गर्न नसकेको चर्चा गर्दै भन्नुभयो– ‘प्रधानमन्त्रीले नै सङ्घीय अवधारणअनुरुपको व्यवहार गर्नुभएको छैन । कैलाली घटनाका रेशम चौधरीलाई प्रदेश सरकारले आवश्यक कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले सिधै केन्द्रबाट आदेश दिनु, राधा चौधरीमाथि भएको कुटपिट प्रकरणमा दोषीहरूलाई कारवाही गर्न निर्देशन दिनु सङ्घीयताको अवधारणाविपरीत छ । धेरै समस्याहरू छन्, तिनको यथोचित सम्बोधन नभएसम्म शान्ति, स्थिरता र विकासको सम्भावना रहन्न ।’

कार्यक्रममा संविधानविद डा. भीमार्जुन आचार्यले जुन दिन न्यायाधीशले प्रधानन्यायाधीशलाई बर्खास्त गरेको घोषणा भयो र त्यतिले नपुगी न्यायपरिषदका सचिवलाई पत्र लेख्न लगाई प्रधानन्यायाधीशको बर्खास्तगी भयो भनी प्रचार गराइयो, त्यही दिन नेपालमा ‘रुल अफ ल’ मर्यो । न्याय मरेको मुलुकमा शान्ति, स्थिरता र विकास कठिन छ ।

भवानीप्रसाद खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, डा. सुरेन्द्र केसी, सुवास नेम्वाङ, डा. मीनेन्द्र रिजाल, निलाम्बर आचार्य, डा. गोपालकृष्ण सिवाकोटी, विजयकान्त कर्ण, लिलि थापा र पम्फा भुसाललगायतले आ–आफ्नो विचार प्रकट गर्नुभएको थियो ।