वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्बले बढ्यो

वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्बले बढ्यो


दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ ।

भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो ।

निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात १८ प्रतिशतले बढेको छ ।

तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासले सार्थकता पाउन सकेका छैनन्, मुलुक आयातमुखी बन्दै गइरहेको छ ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम नगरिनु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामग्रीमा परनिर्भरता बढिरहनुले बर्सेनी व्यापार घाटा चुलिँदै गएको हो । सात महिनामा सबैभन्दा बढी ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ ।

दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जा हुन् । ७० अर्ब ७ करोड रुपैयाँ बराबरका मेसिनरी उपकरणसँग सम्बन्धित भित्रिएका छन् ।

६२ अर्ब ९ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिल सामग्री आयात भएका छन् । करिब ५० अर्ब रुपैयाँ बराबरका सवारी साधन ल्याइएको छ । त्यस्तै विद्युतीय सामग्री ४५ अर्ब २६ करोड रुपैयाँको भित्रिएको छ ।