ट्राफिक सचेतनाका लागि ‘स्लो बाईक रेस’ प्रतियोगिता

ट्राफिक सचेतनाका लागि ‘स्लो बाईक रेस’ प्रतियोगिता


ट्राफिक सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता सम्पन्न भएको छ । वढ्दो सडक दुर्घटनालाई न्युनिकरणका लागि रोट्रयाक्ट क्लव अफ लमजुङले सचेतनामुलक स्लो बाईक रेसको आयोजना गरेको हो ।

‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ” भन्ने मुल नाराका साथ शनिवार स्लो बाईक रेस खुल्ला प्रतियोगिता आयोजना भएको हो । रोटा सप्ताहको विशेष अवसर पारेर जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी प्रतियोगिता सञ्चालन गरेको क्लवले जनाएको छ ।

प्रतियोगितामा बेसीशहरका शुरेस श्रेष्ठले निर्धारित दुरी सवैभन्दा विस्तारै चलाएर विजेता बनेका थिए । ४१ जनाको सहभागिता रहेको सो प्रतियोगितामा बेसीशहरकै अमृत विक दोश्रो भए भने गुणराज सिलवाल तेश्रो भएका कार्यक्रम संयोजक रुपेश खतिवडाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम भएका श्रेष्ठलाई बेसीशहरस्थित ग्लोवल बजाज सोरुमले विभिन्न गिफ्ट ह्याम्पर सहितको पुरस्कार उपलब्ध गराएको थियो । हेलमेट, चेष्टगार्ड, बडीस्प्रे लगायतको गिफ्टह्याम्पर उपलब्ध गराएको क्लवले जनाएको छ ।

प्रतियोगिता अघि सहभागिहरुले बेसीशहरको मनाङे चौतारसम्म मोटरसाईकल र्याली पनि गरेका थिए । र्यालीको लागि रोटरी नेपालले इन्ड पोलियो सम्वन्धी सचेतना सहितको टिसर्ट उपलब्ध गराएको थियो ।

रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको प्रतियोगिता रोट्रयाक्ट क्लवका अध्यक्ष झमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा रोटरी क्लव अफ लमजुङका पूर्व अध्यक्ष इश्वर जोशीले पोलियो रोग उन्मुलनको लागि रोटरीले खेलेको भूमिका विषयमा जानकारी गराए ।

अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङले मार्च १३ देखि १९ सम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिता गरी रोटा सप्ताह मनाएको छ । मार्च १३ अन्तराष्ट्रिय जगतमा रोट्रयाक्टको स्थापना दिवस भएकोले यो सातालाई बार्षिक रोटा सप्ताहको रुपमा मनाईले क्लवका सचिव सुजन श्रेष्ठले जानकारी दिए ।

रोटा सप्ताहको अवसरमा यसअघि क्लवले लमजुङ जेसीससँग मैत्रीपुर्ण फुटवल प्रतियोगिता, लागुपदार्थ दुव्र्यसन न्युनिकरणसम्वन्धी सचेतनामुलक छलफल लगायतका कार्यक्रम गरेको थियो भने सोमबार परेवाडाँडाका विद्यार्थीहरुलाई सहयोग कार्यक्रम गर्ने जनाएको छ ।

रोट्रयाक्ट डिआरआर अफिसियल भिजिट

रोट्रयाक्ट नेपाल ३२९२ का राष्ट्रिय प्रतिनिधीले रोट्रयाक्ट क्लव अफ लमजुङका गतिविधीबारे जानकारी लिएको छ । राष्ट्रिय नेतृत्व सुरज पौडेलसहितको टोलिले शनिवार सदरमुकाम बेसीशहरमा आएर चालु रोटा वर्षमा क्लवले गरेका गतिविधीको बारेमा जानकारी लिएको हो ।

प्रत्येक वर्ष राष्ट्रिय नेतृत्वले मुलुकभरका क्लवहरुमा स्थलगत भेट गर्ने प्रावधान अनुसार लमजुङमा आएको डिआरआर पौडेलले बताए । पौडेलसहित राष्ट्रिय कोषाध्यक्ष एवं तालिम संयोजक सुरज श्रेष्ठ लगायतको टोली लमजुङ आएको हो ।

राष्ट्रिय नेतृत्वलाई स्वागत गर्दै रोट्रयाक्ट क्लव लमजुङका अध्यक्ष झमप्रसाद गुरुङले जिल्लामा चालु रोटा वर्षमा भएका गतिविधीहरुको बारेमा जानकारी गराएका थिए । विशुद्ध समाजिक सेवा गर्ने क्लवको लक्ष्य अनुसार रोट्रयाक्ट क्लव अफ लमजुङले उत्कृष्ट कामहरु गरेको भन्दै राष्ट्रिय नेतृत्वले धन्यबाद ज्ञापन गरेको छ ।

उक्त भेटमा रोट्रयाक्ट क्लव अफ लमजुङका पूर्व अध्यक्षहरु सन्देश पौडेल, रुपेश खतिवडा, रेशम घिमीरे लगायत क्लवका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।