द्वन्द्व, परिवार, धर्म र परम्पराका बहुआयाम

द्वन्द्व, परिवार, धर्म र परम्पराका बहुआयाम


– दामोदर पौडेल

कुनै पनि निर्माणसमेतमा ठेक्का दिँदा भ्याट, कमिसन, घुस गरेर ७० प्रतिशतसम्म गरिनुपर्ने कामभन्दा बाहिर जाने र ३० प्रतिशत मात्र कामका लागि खर्च हुनेसम्म पनि देखिएको जानकारी आउने गरेका छन् । अझै ठेकेदारले पनि फाइदा लिने हुँदा त्यो वास्तविक खर्च घट्ने देखिने हुन्छ । द्वन्द्ववाद र अतिरिक्त मूल्यको सिद्धान्तको कुन सूत्रले यहाँ काम गर्ने हो ? यो द्वन्द्ववादको परिभाषाअन्तर्गत पर्ने हो कि मिलेर बेइमानी गर्ने र अन्य वादभन्दा बाहिर पर्र्ने हो भन्ने प्रस्ट हुनुपर्ने देखिन्छ । धेरै घटनामध्ये नामिभियाको स्वापो नामक स्वतन्त्रता पक्षधर सङ्गठनले संयुक्त राष्ट्र सङ्घमा प्र्रतिनिधित्व गर्न पाउँदा त्यसका प्रतिनिधिले मेरा जनताले नाङ्गै खुट्टा हिँड्छन्, त्यसैले म जुत्ता लगाएर संयुक्त राष्ट्र सङ्घको बैठकमा जान्नँ भनेका थिए । अब यी दुईथरी उदाहरणको तुलना गरौँ ।

इतिहास पनि बाङ्गोटिड्गो भएर बढेको रहेछ । एकजना साधु बाटोमा हिँडिरहेका रहेछन् । केही युवती बाटोमुनि आफ्नो जग्गामा कपडा खोलेर नुहाइरहेका रहेछन् । साधुले भनेछन् । यो त अति भयो, यसरी नुहाउन हुँदैन । युवतीले पनि भनेछन् कि यो त अति नै भयो, तपाईंलाई अरूको चियोचर्चा गर्न कसले भनेको छ ? हामीलाई नहेरी जान सक्नुहुन्न ? आफ्नो काम गर्ने र अरूको चियोचर्चो नगर्ने हो भने धेरै समस्या आउँदैनन् । चियोचर्चो नगर्दा युवतीले नुहाएको त ठीकै होला, तर भ्रष्टाचारको बारेमा त ? नेपालमा भारतमा भन्दा धेरै बढी भ्रष्टाचार हुने गरेको बताइन्छ ।

मैले सुनेका–पढेका कुराहरू हेर्दा हामी इतिहासदेखि नै झमेलामा छौँ र दोहोरो मापदण्ड अपनाएका छौँ । पुन्डरी ऋषिले काक्ष नाम गरेको दलित महिलासँग बिहे गरे र अहिले पनि ऋषिको रूपमा र महिला विदुषीको रूपमा पुजित छन् । रामले दलित महिला साबरीको जुठो खाएका थिए । हामी भने उनीहरूलाई पुज्छौँ र उनीहरूको कामलाई भने आत्मसात् गर्दैनौँ ।

गौतम ऋषिले समेत सातजना पुरुषसँग महिलाको सम्बन्ध सामान्य हो भनेका रहेछन् । सँगै पति मरेमा पत्नी सती जाने परम्परा पनि आएको छ । धेरै पति भएमा को मर्दा सती जाने होला ?

अर्कोतर्फ इतिहासकै कथा छ कि एकपटक जाँ वाला भन्ने किशोर वशिष्ट ऋषिकोमा पढ्न गएको र ऋषिले नाम सोध्दा थाहा नभएको भनेकोले ‘आमासँग सोधेर आऊ’ भनी ऋषिले अह्राएबमोजिम सोध्न गएछन् । आमाले ‘तिमी गर्भमा हुने समयमा म धेरै मानिससँग त्यस्तो सम्पर्कमा थिएँ, त्यसैले बाबुको नाम यकिन नभएकाले थाहा भएन, यही कुरा ऋषिलाई भन, अनि मेरो नाम सत्य काम जाँ वाला हो पनि भन’ भनी सिकाइछन् । वशिष्ट ऋषिले यस्तो सत्य बोल्ने मानिस ब्राह्मण नै हुन्छ वा ब्राह्मणकै सन्तान हुन्छ भनेर पढाएछन् । त्यसबाट ब्राह्मण जात होइन ज्ञान र सत्कर्म वा त्यसको परम्परा वा पूर्वाधार हो भन्ने देखिन आउँछ ।

द्वन्द्ववादको सम्बन्धमा यौनक्रियाकलापबारे हेर्दा पनि मिलेको देखिँदैन । गौतम ऋषिकी पत्नी उनकै अगाडि भृगु ऋषिसँग रतिका लागि तयार हुन्छिन् । छोरा श्वेतकेतुले विरोध गर्दा गौतम ऋषि भन्छन् कि महिलालाई त्यो स्वतन्त्रता छ र जसबाट पनि बच्चा पाउन सक्छन् । उनले आफ्नी पत्नीको सम्बन्धमा जे भने हामीहरूको समयमा सम्भव छ त ? पछि महिलामा त्यो स्वतन्त्रता कम भयो । पुरुषमा बढ्यो, अब महिलाको स्वतन्त्रता झनै बढिरहेछ । महिलाले आफ्नो पति हुँदाहुँदै अर्को बिहे गरेमा उनलाई सजाय हुँदैन र पुरुषले भने पत्नी हुँदाहुँदै अर्को बिहे गरेमा तीन वर्षसम्म कैद पनि हुन्छ । मैले बुझेअनुसार द्वन्द्ववादले पछाडि फर्कने कुरा मान्दैन र हुँदैन । तर, यहाँ इतिहास दोहोरिइरहेको छ ।

गाईको बारेमा पनि त्यस्तै देखिन्छ । पहिला गौमेध (बध) यज्ञ गरेर हिन्दूहरू गाईगोरुको मासु खान्थे । महाभारतकै शान्तिपर्वमा रान्तीदेव राजाले पाहुनालाई गाईगोरु काटेर खुवाउने गरेको उल्लेख छ । बीचमा गाई हत्या वर्जित भयो । अब त्यो सामान्य बन्दै छ । हिन्दूहरूले महाभारत र त्योभन्दा पहिलाको कुरालाई नै धेरै मान्दै आएका हुन् । पछि आएर गाईलाई माता, लक्ष्मी र गोरुलाई नन्दी मानेर पूजा नै गर्न थालियो ।

यी समयसमयमा आएका फरकफरक तथ्यहरू विभिन्न समय र परिवेशका फरक सन्देशबाहक हुन् । यी फरक आचारहरूलाई कसरी बुझ्ने भन्ने पनि समस्या नै भएको छ । भनिन्छ कि हरेक काम वा परिणामको पछाडि कारण हुन्छ । तर, गौतम ऋषिले समेत सातजना पुरुषसँग महिलाको सम्बन्ध सामान्य हो भनेका रहेछन् । सँगै पति मरेमा पत्नी सती जाने परम्परा पनि आएको छ । धेरै पति भएमा को मर्दा सती जाने होला ? हुन त हरेक विषयमा आवश्यकता परेपछि विकल्प निकाल्ने गरिन्छन् । नेपालमा पनि मानिस मरेमा १३ दिन मर्नेका छोराबुहारीहरू पति भए पत्नीसमेत किरिया बस्नुपर्ने अनिवार्य छ । नेपालमा नै कतै १३ दिनसम्म कोही एकजना मात्र किरिया बसे हुने पनि चलन छ । एउटै हिन्दूधर्ममा फरक चलन भए पनि अलग परिवेशमा चलेको चलन भनेर सजिलोलाई आत्मसात् गर्नुपर्ने हो । जस्तै पालो गरेर १३ दिनसम्म नै क्रिया बसे पनि एकजना मात्र बस्ने र अरूले अरू कामहरू गर्ने हुन सक्ने थियो । त्यस्तै गरुड पुराणलाई घटाउने वा अगाडि नै सार्ने गरेर वा अन्य तरिकावाट किरियाको १३ दिनलाई कम गर्न सकिन्छ । हिन्दूधर्मको महानता बुझ्ने, व्यवहारमा ल्याउने भनेकै यसका मन्त्रसमेतका केही विषयबाहेक अन्य विषय समय र विकासअनुसार परिवर्तन हुन सक्छन् । हिन्दूबीच नै अरू समूह वा समुदायका सजिला कार्यहरूलाई लिने र असजिला विषय त्याग्न सकिने पनि हिन्दूधर्मको महान् पक्ष हो । यो अवस्था अरू धर्ममा छैन ।

जब समाजले विकासको एउटा चरण पार गर्दछ, त्यतिबेला पति–पत्नी र धेरै निजी सम्पत्ति भन्ने नै हुँदैन, निजी सम्पत्ति र बच्चाको भरणपोषणको अवस्था नभएपछि अरू विषय पनि समाज वा राज्यले सम्बोधन गर्ने भएपछि परिवारको अन्त्य हुन्छ नै ।

पहिला आर्यहरू गौपालक थिए । उनीहरू खेतीमा अभ्यस्त थिएनन् । उनीहरूका लागि गाईको दूध र मासु खानु सामान्य थियो । जब उनीहरू खेतीमा लागे त्यतिबेला गाईका बाच्छाहरू जग्गा जोत्न र भारी बोक्न अब्बल भए । गाई काटेर खाँदा बाच्छा कम भएमा खेतीमा असर पर्ने भएकाले नयाँ नियम बनाइयो र त्यसलाई धर्मको रूपमा नै लागू गरियो र गाईलाई देवीकै अवतार मानियो । गाईको बहुउपयोगिताले गाई पशुमा सबैभन्दा उपयोगी पनि देखिएकै हो । समय परिवर्तनशील छ । त्यसैले कतिपय पूर्वानुमानहरू पूरा हुँदैनन् । तर, समाजमा विकास चलिरहन्छ । त्यसैले पूर्वानुमान गरौँ, तर कसैको पूर्वानुमानको आधारमा नयाँ अनुमानहरू र अवस्थाहरूलाई निषेध नगरौँ । राजनीतिमा एकदलीयता, कुनै एक विचारको श्रेष्ठता मानेर अरूलाई हेप्ने वा निषेध गर्नेजस्तै धर्ममा पनि मूर्खता नगरौँ । धर्ममा पनि कुनै धर्म मान्नेले आफ्नो धर्म मात्र श्रेष्ठ मानेर अरूलाई विश्वमा कतै पनि निषेध नहोस् । त्यो निषेधले विश्वको ज्ञानको सम्पदालाइ नै कम गराउँछ । जैविक विविधताजस्तै विचार र धर्मका पक्षहरूको विविधतालाई आत्मसात् गरेर नै समाजको पूर्णता र अग्रगमन सुरक्षित हुन्छ । इतिहासलाई समाताँै, तर त्यति बढीचाहिँ नसमाताँै कि त्यो नयाँ परिवेशमा हास्यास्पद नबनोस् । सामान्य कुरा छ कि पखाला लाग्दा पानी नखाने चलन पहिला थियो । त्यो गल्ती रहेछ । परम्परा भनेर समात्दा अब पनि अनाहकमा ज्यान जान्छ ।

अहिले पनि निजी सम्पत्ति र पति–पत्नी तथा परिवारका बारेमा अफवाहहरू चलिरहन्छन् । परिवारको आवश्यकता छ कि छैन ? परिवारको आवश्यकता छ । त्यो कतिबेलासम्म आवश्यकता छ त भन्दा जतिबेलासम्म सम्पूर्ण मानिसको सुरक्षा र संवद्र्धन समाज वा राष्ट्रले गर्न सक्दैन । मानिस वास्तवमा नै पोलिगामी प्राणी हो । तर, मानव सभ्यतालाई यो अवस्थामा अगाडि बढाउन नियन्त्रण आवश्यक छ । जब समाजले विकासको एउटा चरण पार गर्दछ, त्यतिबेला पति–पत्नी र धेरै निजी सम्पत्ति भन्ने नै हुँदैन, निजी सम्पत्ति र बच्चाको भरणपोषणको अवस्था नभएपछि अरू विषय पनि समाज वा राज्यले सम्बोधन गर्ने भएपछि परिवारको अन्त्य हुन्छ नै । पति वा पत्नीको शरीरबाटै कुनै तन्तुबाट आफैँले बच्चा बनाउन सक्ने वैज्ञानिक तथ्य प्रमाणित भएपछि विवाह र महिलाले सन्तान जन्माउने भन्ने हराउँछ । अस्पतालले जन्माउँछ र त्यो जिम्मा पनि सरकारले नै लिन्छ । त्यसपछि पतिपत्नीको आवश्यकता नै रहँदैन । मानिसलाई स्वभावैले आफ्ना बायोलोजिकल आवश्यकता पूरा गर्न त्यही महिला र त्यही पुरुष चाहिन्छ भन्ने मान्यतामा रहँदैन ।

यो अनुमानको सहजतालाई अस्वीकार गर्नु पनि स्वाभाविक हुनेछ । मैले कुनै पनि अनुमान आवश्यक छ, तर अनुमानको कैद अर्को पुस्तालाई बनाउने कार्यले समाज विकासलाई असर गर्दछ भन्न मात्र खोजेको हुँ । द्वन्द्ववाद वा द्वन्द्व कुनै दल वा विचारकले दिएको दिशा वा पाटोबाट मात्र हिँड्छ भन्ने सोच्नु पनि अस्वाभाविक हो ।