उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो

उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो


उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहकार्यको खाँचो औंल्याइएको छ ।

स्थानीय नागरिक सरोकार मञ्च र महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाको संयुक्त आयोजनामा शनिबार आयोजित ‘ट्राफिक जनचेतनामा महिला सहभागिता’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रवक्ता पम्फा भुसालले ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताइन् ।

‘बाटोको दुरावस्था चाँडो समाधान गर्न सकेमात्र ट्राफिक व्यवस्थापनमा सहजता आउँछ,’– उनले भने । नेत्री भुसालले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उपत्यकाका सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण समेत गरिएको बताइन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पूर्वाधार निर्माण नभएसम्म ट्राफिक समस्या यथावत हुने भन्दै सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।

‘हामी सबै मिलेर उपत्यकाको ट्राफिक समस्यालाई समाधान गर्ने हो,’– उनले भने । सरकारले ल्याउने नीति नियमलाई ट्राफिक प्रहरीले कडाईका साथ लागू गर्ने उनको भनाइ थियो ।

मञ्चका अध्यक्ष रुद्र जोशीले महिलालाई ट्राफिक जनचेतनासम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा सानेपा र बल्खु क्षेत्रका एक हजारभन्दा बढी महिलाको सहभागिता थियो ।