यसरी सम्पन्न भयो घोडेजात्रा (तस्बिरसहित)

यसरी सम्पन्न भयो घोडेजात्रा (तस्बिरसहित)


घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो ।

घोडेजात्रामा भएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने सहभागीलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गर्नुभयो ।

घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रही आएको राससले जनाएको छ ।

सबै तस्बिर रासस