शक्तिशाली सरकारप्रमुखको आदेश- ‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ’

शक्तिशाली सरकारप्रमुखको आदेश- ‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ’


प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने बताएका छन् । खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको सन्दर्भ औंल्याउँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा नरहेको जनाउ दिएका छन् । सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ, नगदको बिटा बुझेर सेवा नै छोडी घर बस्छु भन्न मिल्दैन भन्ने उनको प्रष्टोक्ति छ ।

नेपाल निजामती कर्मचारी संगठनले दिएको बधाई ग्रहण गरेपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भीर रहेको पनि बताए ।

जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए। देश बनाउन अब कुनै पनि बहानामा ढिला गर्न नसकिने उल्लेख गर्दै पुरानो शैली र ढाँचाले देशको विकास प्रक्रियाले गति लिन नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘देशको विकास गर्ने कुरामा अब ढिलाढाला गर्न सकिँदैन, सबैले नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौँ’, ओलीको अभिव्यक्रि छ ।

‘नगरपालिकामा सरुवा हुँदा बढुवा नहुने, प्रदेशमा सरुवा हुँदा फेरि संघमा आउन नपाइने भन्ने हुँदैन’ भन्दै उनले आवश्यकताको आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ, तर जहाँ गयो त्यहीँ सीमित भएर बस्नु नपर्ने बताए ।

कर्मचारी स्थायी सरकार भएकाले उसको सहयोग बिना कुनै पनि सरकारले छिटो छरितो ढंगले काम गर्न नसक्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । ‘हिजो कर्मचारीबाट पनि केही तलमाथि भयो होला, हिजो देशको अवस्था पनि बिग्रिएको थियो, सरकारको नेतृत्व पनि बिग्रिएको थियो । तर, अब सबै कुरा सुध्रिएका छन्, त्यसकारण कर्मचारी पनि समयअनुसार चल्नु पर्दछ’, उनले भने ।

सो अवसरमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाको नेतृत्वको टोलीले निजामती क्षेत्र सुधारका लागि ११ बुँदे सुझावसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।