आयो उड्ने कार, शुरु भयो बुकिङ

आयो उड्ने कार, शुरु भयो बुकिङ


उड्ने कारमा सवार हुन चाहने मानिसको चाहना गाडी निर्माता एक डच कम्पनीले साकार गरिदिएको छ । जेनेभामा आयोजित इन्टरनेसनल मोटर शोमा एक से एक आकर्षक तथा सानदार कार लन्च गरिएको छ । यही शोमा संसारकै पहिलो फ्लाइङ कार पनि प्रस्तुत गरिएको छ ।

डच कम्पनी पीएएल–भी कम्पनीद्वारा निर्मित सो कारको नाम लिबर्टी राखिएको छ । लिडरहित ग्यास (सिसारहित इन्धन)मार्फत चल्ने यस कारलाई फुल चार्ज गरेर उडाउँदा पाँच सय किलोमिटरसम्म उड्न सक्छ । दुईवटा सिट रहेको लिबर्टीले ९ सय १० केजी वजनसहित उड्ने क्षमता राख्दछ । यसमा सय लिटर क्षमताको फ्युल ट्याङ्क रहेको छ ।

सम्बन्धित कम्पनीले दाबी गरेअनुसार फ्लाइङ कारमा प्लेन, हेलिकोप्टर एवम् कारका लागि आवश्यक उपकरण तथा प्रविधिको प्रयोग गरिएको छ भने यो एक म्यानुअल ड्राइभ कार हो । जमिनमा गुडाउँदा यसलाई प्रतिघन्टा १ सय ७० र आकाशमा उडाउँदा १ सय ८० प्रतिघन्टाको गतिमा उडाउन सकिने बताइएको छ । यो कारको प्रोडक्सन मोडल तयार गर्न दश वर्ष समय लागेको निर्माता कम्पनीको भनाइ छ ।

यसको बुकिङ शुरु भइसकेको छ भने प्री–अर्डरको निम्ति कम्पनीको वेबसाइट भिजिट गरे थप जानकारीसमेत मिल्दछ । दश हजार डलर बुकिङ चार्ज लाग्ने जनाइएको उड्ने कार अहिले बुक गर्नेले आगामी वर्ष अर्थात् सन् २०१९ मा हासिल गर्नेछन् ।

उडानका लागि कुनै विशेष हवाई इन्धन आवश्यक नपर्ने यसलाई केवल पाँचदेखि दश मिनेटभित्रै जमिनबाट हावामा उडाउन सकिन्छ । जमिनमा ओर्लन पनि करिब दश मिनेट समय लाग्ने कम्पनीले जनाएको छ । दुईवटा रोट्याक्ट एयरक्राफ्ट इन्जिन फिट गरिएको सो कारको मूल्य चार लाख डलर तोकिएको छ ।