बद्नाम गर्ने नियत त होइन ?

बद्नाम गर्ने नियत त होइन ?


राजधानीबाट प्रकाशित घटना र विचार साप्ताहिकको यसअघिको अङ्कमा पाठक मञ्चकाअन्तर्गत मेरोबारेमा तथानाम लेखेर प्रकाशित समाचारले गम्भीर ध्यानाकर्षण गरेको छ । म पोखरामा विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएको छु । यो क्रममा यहाँका धेरै जुवाघर, भूमाफिया, गुण्डागर्दी र अनियमितता गर्ने समूह र व्यक्तिको समाचार प्रकाशन गरेको छु । यसबाट आजित भएकाहरू मेरोविरुद्धमा लाग्नु स्वाभाविकै हो । उनीहरू मेरो कलम कमजोर बनाउन चाहन्छन् । तर, उनीहरूको कुत्सित मनसाय पूरा हुन दिनेछैन । र पनि तिनै व्यभिचारी समूहलाई घटना र विचारले साथ दिएको देख्दा अचम्म लागेको छ ।
हो, पोखराको न्युरोडमा मेरो घर छ । हाल म बस्दै आएको घर मेरो भाइ डा. मदनकृष्ण ज्ञवाली र मेरो नाममा छ । यो घर पत्रिकामा भनिएजस्तो एक करोड ६५ लाख रुपैयाँमा नभई करिब पाँच वर्षअघि ७५ लाख रुपैयाँमा हामी दुई भाइले खरिद गरेका हौंँ । घरजग्गाको मूल्याङ्कन मालपोत कार्यालय आफैँले गर्छ । सोहीअनुसार राजस्व तिरेका छौँ । त्योबेला घर खरिद, मर्मत र घर थप्नका लागि लागि यही घर बैंकमा राखेर ७५ लाख रुपैयाँ नै ऋण लिएका हौँ । धरानस्थित बीपी कोइराला इन्स्टिच्युट अफ मेडिकल साइन्स ‘टपर’ मेरो भाइ मदनकृष्ण ज्ञवालीले काठमाडौंस्थित ओम अस्पताल, बी एण्ड बी अस्पताल र विभिन्न नर्सिङ कलेज पढाएर राम्रो कमाइ गर्थे । हाल त उनी क्यानडामा छन् र छोटै समयमा राम्रो कमाउने नेपालीमध्येमै पर्छन् । म एभिन्युज टेलिभिजनको ब्युरो प्रमुख, समाधान दैनिकको कार्यकारी सम्पादक, पोखरा एफएमको समाचार प्रमुख, राजधानी दैनिकको पोखरा संवाददातासहित राजधानीबाहिरका अन्य विभिन्न सञ्चारमाध्यममा संवादादाताको रूपमा काम गर्थें र राम्रै तलब पाउँथँे । यसले हामीलाई घरको किस्ता तिर्न कुनै समस्या थिएन ।
घटना र विचारमा पाठक मञ्च छपाउन केही पत्रकारकै हात भएको रहस्य खुल्दै छ । त्यहाँ पत्र पठाउने पोखराका तीनजनाको नामसमेत उल्लेख गरिएको छ, ती नाम गरेको मान्छे यो पोखराको धर्तीमा छँदै छैनन् । गलत मान्छेको नाम राखेर एउटा सद्धे, इमान्दार र कर्तव्यनिष्ठ पत्रकारको बद्नाम गराउन घटना र विचारजस्तो साप्ताहिकलाई सुहाउने कुरा हुँदै होइन । जुन ढङ्गले कमाउने स्रोत देखाइएको छ, त्योमध्ये कुनै एकबाट एक पैसा मात्र लिएको देखाउन चुनौती दिन चाहन्छु । महिला पत्रकारको नाम जोडेरसमेत बद्नाम गर्ने प्रयत्न हुँदा एउटी महिला नै सम्पादक भएको पत्रिकाले सत्य के हो बुझ्ने प्रयास गर्नुपर्छ कि पर्दैन ? आशा छ, पत्रिकाले गरेको यस्तो गम्भीर त्रुटि सच्याउनेछ र आगामी दिनमा यस्तो गल्ती गर्ने छैन । विश्वास छ मेरो बद्नाम गर्ने चेष्टा गर्ने गिरोहको पर्दाफास गर्न पनि यही पत्रिकाका पत्रकारहरू सहयोगी बन्नेछन् ।
– रामकृष्ण ज्ञवाली
ब्युरो प्रमुख, एभिन्युज टेलिभिजन
कार्यकारी सम्पादक समाधान राष्ट्रिय दैनिक