मन्त्रिमण्डल विस्तार, अझै पाएन पूर्णता

मन्त्रिमण्डल विस्तार, अझै पाएन पूर्णता


केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल तेस्रोपटक विस्तार भएको छ । आज मन्त्रिमण्डललाई पूर्णता दिने भनिए पनि मन्त्रिमण्डल अधुरै रहेको छ । फोरम र राजपाका कारण मन्त्रिमण्डल अधुरै रहेको बुझिएको छ ।

आज विस्तार गरिएका मन्त्रीहरु एमाले र माओवादी केन्द्रबाट मात्रै लिइएका हुन् । एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रविन्द्र अधिकारी पर्यटन, रघुविर महासेठ भौतिक पूर्वाधार, जगत विश्वकर्मा युवा तथा खेलकुद, शेरबहादुर तामाङ कानुनमन्त्री बनाइएका छन् । यस्तै, माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा, शक्ति बस्नेत वन, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल कृषि तथा सहकारी र विना मगर खानेपानी मन्त्री बनाइएका छन् ।

आज विस्तार गरिएको मन्त्रिमण्डलमा चारजनालाई राज्यमन्त्री बनाइएको छ । राज्यमन्त्रीहरुमा गोकुल बास्कोटा सुचना तथा सञ्चार, पद्या अर्याल स्वास्थ्य, रामकुमारी चौधरी कृषि र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री भएका छन् ।