के राजपा पनि सरकारमा जाँदै छ ?

के राजपा पनि सरकारमा जाँदै छ ?


आज विस्तार हुने मन्त्रिमण्डलमा केपी ओलीको कट्टर आलोचक दल राष्ट्रिय जनता पार्टी (नेपाल) पनि सहभागी हुने सम्भावना बढेको छ । उपेन्द्र यादवको दल ओली सरकारमा जाने निश्चित भएकै दिनदेखि राजपा पनि सरकारमा जाने उपायको खोजीमा छटपटिन थालेको अनुभूति गरिएको थियो । त्यसपछि सो पार्टी सरकारलाई ‘समर्थन’ गर्ने बिन्दुसम्म आइपुगेको जगजाहेर नै छ ।

राजपा सरकारमा जाने या नजाने भन्नेमा सो पार्टीभित्र दुई धार देखिएको छ । सत्ताको ‘उपयोग’ गर्नुपर्ने धारको नेतृत्व राजेन्द्र महतोले गरेका छन् भने अहिले सरकारमा जानै नहुने जिकीर गर्दै आएका छन् महेन्द्र राय यादवले । यादवलाई राजकिशोर यादव र अनिल झाजस्ता नेताले साथ दिएका छन् ।

महेन्द्र राय आफै पनि सत्ताको चरम लालची नेताका रुपमा चिनिदै आएका पात्र हुन् । यस्ता व्यक्तिले पार्टी सरकारमा जाने नीतिको किन विरोध गरे होलान् ?

राजपासम्बद्ध एक नेताका अनुसार पार्टी सरकारमा जाँदा महेन्द्र रायको भागमा मन्त्रीको ओहदा पर्ने सम्भावना छैन । एक या दुईवटा मात्र कोटा मिल्ने भएकोले त्यसमा आफू नपर्ने पूर्वज्ञान यादव समूहलाई रहेको छ । यसर्थ पार्टी सरकारमा जाँदा मधेस आन्दोलन नै बदनाम हुनसक्ने तर्क गर्दै यादवहरूले विरोध जनाउँदै आएका हुन् । आफूले नपाउने भएपछि राजेन्द्र महतोलाई किन दिने ? यस्तो सोच राख्छन् महेन्द्र यादव । उनकै कारण सो दलभित्र सरकारमा जान हुने र नहुने विवाद उल्झिँदै आएको छ ।

तर, राजेन्द्र महतोले गत चुनावदेखि नै ओलीसँग सम्बन्ध सुधार्दै हालसम्म निकै मधुर तुल्याइसकेका छन् । विरोध गरेर भन्दा समर्थनबाटै ‘राजनीतिक उपलब्धि’ हासिल हुने ठम्याइमा पुगेका छन् उनी । महतोको यस लचकदार कदमले प्रधानमन्त्री ओलीलाई पनि निकै लाभ पुग्ने देखिन्छ । तसर्थ, निकै समय कुरेर भए पनि ओली उपेन्द्रको फोरमसँगै राजेन्द्रको राजपालाई पनि सरकारमा भित्र्याउन चाहन्छन् । सम्भवतः आजै यो काम हुन सक्ने सम्भावना बढेर गएको छ ।

राजपा सरकारमा सहभागी हुँदा उसको लागि दुईवटा मन्त्रालय दिइने बालुवाटारको तयारी छ । बताइएअनुसार राजपाबाट मन्त्रिमण्डलमा सहभागी गराइनेहरूमा राजेन्द्र महतो र चन्दा चौधरीको नाम प्रबल रूपमा अगाडि आएको सूत्र बताउँछ ।