बाल ठाकरे :कार्टुनिस्टदेखि शक्तिशाली नेतासम्म

बाल ठाकरे :कार्टुनिस्टदेखि शक्तिशाली नेतासम्म


कट्टर हिन्दूवादी नेताको छवि बनाएका भारत महाराष्ट्रका अत्यन्त प्रभावशाली व्यक्तित्व तथा शिवसेना प्रमुख बाल ठाकरेको ८६ वर्षको उमेरमा गत साता मुम्बईमा निधन भयो । महाराष्ट्रमा अत्यन्त लोकप्रिय र त्यत्तिकै विवादास्पद ठाकरेको अन्त्येष्टिमा सहभागी हुन मुम्बईमा अभूतपूर्व रूपमा मानव–सागर उर्लियो । ठाकरेको मृत्युमा उनका परिवारका सदस्य, आफन्त वा परिजन मात्र नभई सामान्य समर्थकहरूसमेत कोक्किई–कोक्किईकन रोएका देखिए । आखिर निरङ्कुश र अधिनायकवादी प्रवृत्तिका बाल ठाकरेमा त्यस्तो कुन जादु थियो जसको देहावसानले त्यत्तिका मानिसलाई वास्तविक रूपमा भावविह्वल तुल्यायो ?
सिङ्गो जीवनको लगभग ४६ वर्षसम्म सार्वजनिक जीवनमा रहेका शिवसेना प्रमुख बाल ठाकरेले न कहिल्यै कुनै चुनाव लडे न त कुनै राजनीतिक पद नै स्वीकार गरे । यहाँसम्म कि उनलाई विधिवत् रूपबाट कहिल्यै शिवसेनाको अध्यक्ष पनि चुनिएन । तर, यी सबका बाबजुद महाराष्ट्रको राजनीति र विशेषगरी त्यसको राजधानी मुम्बईमा उनको अत्यन्त दर्बिलो पकड र प्रभाव थियो । उनको राजनीतिक यात्रा पनि अनौठो थियो । उनी एक पेसेवर कार्टुनिष्ट थिए भने सहरको तत्कालीन एक अखबार ‘फ्रि प्रेस जर्नल’मा काम गर्थे । पछि उनले नोकरी छोडे र मराठीभाषी स्थानीय मानिसलाई रोजगारीमा विशेष मौका दिइनुपर्ने माग बोकेर आन्दोलन सुरु गरे ।
त्यतिबेला बम्बई भनिने मुम्बईस्थित कम्पनीहरूलाई ठाकरेले निशाना बनाएका थिए, तर यथार्थमा उनको उक्त अभियान मुम्बईमा बस्दै आएका दक्षिण भारतीयहरूका विरुद्ध थियो, किनकि शिवसेनाका अनुसार मराठीलाई हासिल हुनसक्ने रोजगारीमाथि दक्षिण भारतीयले कब्जा जमाएका थिए । यसको खिलाफमा रहेको शिवसेनाले दक्षिण भारतीयहरूको व्यवसाय, सम्पत्तिलाई निशाना बनायो, फलस्वरूप विस्तारै–विस्तारै मराठी युवाहरू ठाकरेले स्थापना गरेको शिवसेनामा सामेल हुन थाले ।
बाल ठाकरेले आफ्नो पार्टीको नाम शिवसेना १७औँ शताब्दीका एक जानेमानेका मराठी राजा शिवाजीको नामबाट जुराएका थिए । शिवाजी मुगलहरूका विरुद्ध लडेका राजा थिए । ठाकरेले आफ्नो पार्टी–सङ्गठनलाई आमतहमा विस्तार गर्नका लागि हिंसाको समेत सहारा लिन थाले । मराठी भावनाको सहारामा बाल ठाकरेले राजनीतिको सिँढी चढे । राजनीतिक प्रतिद्वन्द्वी, आप्रवासीहरू र मिडियाकर्मीहरूमाथिसमेत शिव सैनिकद्वारा हमला गरिने कार्य सामान्यझैँ हुन पुगेको थियो । विस्तारै–विस्तारै मुम्बईका हरेक इलाकामा गुण्डागर्दीमा संलग्न स्थानीय हुल्लडवाज युवाहरू शिवसेनामा सामेल हुन थाले । एक ‘गडफादर’का रूपमा बाल ठाकरेचाहिँ प्रत्येक झगडा वा मुद्दा–मामिला सुल्झाउने गर्न थाले । मानिसहरूलाई नोकरी दिलाउने काममा तीव्रता दिएका ठाकरेले सरकारी र गैरसरकारी निकायहरूलाई हरेक मामलामा आफूसँग राय लिन आदेश दिए । यहाँसम्म कि मुम्बईका सिनेमा रिलिज गर्ने सन्दर्भमा पनि उनको मनोमानी चल्न थाल्यो ।
बाल ठाकरेको जीवनसँग जोडेर कैयन कल्पित कुराहरूसमेत प्रचलित हुन थाल्यो । भनिन्थ्यो कि ठाकरे जर्मनीका पूर्वतानाशाह हिटलरका प्रशंसक हुन् । एक पत्रिकामा उनैको हवाला दिएर सो समाचार प्रकाशित भएको थियो तर त्यस समाचारको उनले न पुष्टि गरे न त खण्डन नै । एक कार्टुनिस्टको रूपमा बाल ठाकरे बेलायती कार्टुनिस्ट डेबिड लोबाट अत्यन्त प्रभावित थिए । दोस्रो विश्वयुद्धको समयमा डेबिड लोका कार्टुनहरू निकै लोकप्रिय बनेका थिए ।
विस्तारै–विस्तारै मुम्बई म्युनिसिपल कर्पोरेसनको चुनावमा उनको पार्टीको प्रदर्शन व्यापक हुन थाल्यो, तथापि त्यसबेलासम्म पनि शिवसेनालाई ठूलो राजनीतिक सफलता प्राप्त हुन भने सकेको थिएन । त्यसो त आजसम्म पनि शिवसेनाको प्रभाव मुम्बई तथा आसपासका इलाकासम्म मात्र सीमित छ, राज्यका अन्य क्षेत्रमा पार्टीको खास असर छैन । बाल ठाकरे हेर्दाहेर्दै महाराष्ट्रमा दक्षिणपन्थी राजनीतिको प्रतीक बन्न पुगे । जीवनको अन्त्यकालसम्म पनि उनी आफ्नो मराठी साप्ताहिक ‘मार्मिक’का लागि आफैँ कार्टुन बनाउँथे ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ कि प्रारम्भिक दिनमा सत्ताधारी काङ्ग्रेस पार्टीले शिवसेनालाई कि त नजरअन्दाज गर्‍यो कि चाहिँ कतिपय मामलामा वामपन्थीलगायतका आफ्ना विरोधी शक्तिहरूलाई समाप्त तुल्याउनका लागि शिवसेनालाई प्रोत्साहित गर्‍यो । तर, ८० को दशकका दौरानमा शिवसेना भारतमा एक ठूलो ‘शक्ति’ बन्न पुग्यो जसले राज्यमा शासन–सत्ता हासिल गर्नका लागि आफ्नो दाबेदारी नै प्रस्तुत गर्‍यो । खासगरी शिवसेनाको प्रभाव महाराष्ट्रभर सीमित रहे पनि यसै दौरान बाल ठाकरेले दक्षिणपन्थी मतदाताहरूलाई लोभ्याउनका लागि हिन्दुत्वको सहारा लिए ।
सन् १९९२ मा उत्तर प्रदेशको अयोध्यामा बाबरी मस्जिद तोडिएको घटनापछि मुम्बईमा हिन्दू र मुसलमानबीच साम्प्रदायिक दङ्गा हुन पुग्यो जो हप्तौँसम्म चल्यो । उक्त दङ्गामा शिवसैनिक पनि सामेल भए भने दङ्गामा नौ सयको हाराहारीमा मानिस मारिए । सयौँ मानिसले त दङ्गापछि मुम्बई नै छोडिदिए र पछि कहिल्यै त्यहाँ फर्केनन् । त्यसको मात्र तीन वर्षपछि शिवसेना र भारतीय जनता पार्टी मिलेर महाराष्ट्रमा आफ्नो सरकार बनाउन सफल भए । बाल ठाकरेले आफ्नो एक अत्यन्त नजिकका नेतालाई मुख्यमन्त्री बनाए र सत्ताको चाबी आफ्नो मुठ्ठीमा राखे ।
पछिल्लो एक दशकमा शिवसेनाको अभियान उत्तर भारतबाट मुम्बई बस्न पुगेका आप्रवासी तथा धार्मिक अल्पसङ्ख्यकहरूका विरुद्ध लक्षित रहँदै आएको छ ।
ठाकरे एक प्रभावशाली वक्ता थिए भने मानिसलाई आफ्ना रमाइला कुरा गरेर आकर्षित गर्न उनी खप्पिस थिए । मुम्बईको शिवाजी पार्कमा दशहराको अवसरमा हरेक वर्ष ठाकरेले दिने भाषणको उनका अनुयायी र समर्थकहरू निकै प्रतीक्षामा रहन्थे । यस वर्षचाहिँ खराब स्वास्थ्यका कारण उनी शिवाजी पार्क जान त सकेनन् तर आफ्ना समर्थकका लागि उनले भिडियो रेकर्ड गराएर सन्देश पठाए । उक्त सन्देशमार्फत ठाकरेले समर्थकहरूसँग आफ्ना पुत्र तथा शिवसेनाका कार्यकारी अध्यक्ष उद्धव ठाकरेलाई आफूलाई जत्तिकै प्रेम र सम्मान दिन आग्रह गरेका थिए ।
अत्यन्त शक्तिशाली नेता भएर पनि ठाकरेले आफ्ना पार्टीका महत्वपूर्ण हस्ती एवम् साथीहरूलाई कजाएर राख्न सकेनन् । थुप्रै उनका निकट सहयोगीले अहम् मौकामा उनको साथ छोडेर गए । यहाँसम्म कि उनले अत्यन्त भरोसा गरेका आफ्नै भतिज राज ठाकरेले समेत पार्टी छोडेर अर्कै सङ्गठन निर्माण गर्न पुगे । ठाकरेले उद्धवलाई वारिस नियुक्त गरेपछि सो हैसियतका आकाङ्क्षी राजले पार्टी त्यागेका हुन् । हाल पुन: राज र उद्धवबीच सम्बन्धमा सुधार आउन थालेको अनुमान गरिएको छ । चुनावमा शिवसेना र राजको पार्टीबीच तालमेल हुने सम्भावना पनि बढेको छ तर आफ्नो पार्टी भङ्ग गर्ने निर्णय राजले गर्लान् भन्नेमा शङ्का नै छ । तथापि, बाल ठाकरेको निधनले यी सम्भावना र अनुमानहरूमा निकै हेरफेर गराउन सक्छ ।
बाल ठाकरेको सबभन्दा ठूलो विरासत नै मराठी भावनालाई पार्टीसँग जोड्नु र त्यसलाई ‘भोट’मा रूपान्तरण गर्न सक्नुमा रहेको छ । तर, राजनीतिक लाभका लागि हिंसाको प्रयोग गर्न नहिच्किचाउने ठाकरेको तौरतरिकायुक्त छविलाई समाप्त पार्ने काम नै शिवसेनाका लागि ठूलो चुनौती बन्ने देखिन्छ । कहिल्यै कसैसँग माफी नमागेका बाल ठाकरेको तुलनामा पुत्र उद्धवले आफूलाई नरम देखाउने भरपूर कोसिस गर्दै आएका छन्, तर बाल ठाकरेको असली वारिस को बन्न सक्छ र मराठीभाषीको समर्थन कसले हासिल गर्न सक्छ भन्ने प्रश्न भने ठाकरेको इहलीला समाप्तिसँगै जोडले खडा भएको छ ।
– सन्देश शर्मा