आयात र निर्यात गरिने वस्तुको कार्गो प्रबन्ध शुल्कमा भारी वृद्धि, ब्यवसायी आन्दोलनमा

आयात र निर्यात गरिने वस्तुको कार्गो प्रबन्ध शुल्कमा भारी वृद्धि, ब्यवसायी आन्दोलनमा


नयाँ सरकारले निकासीलाई बढावा दिने भनिरहेका बेला विमानस्थल व्यवस्थापनले आफूखुशी निर्णय गर्दा व्यवसायी विरोधमा उत्रिएका छन् । गोदाम कम्पनीले आयात र निर्यात गरिने वस्तुको कार्गो प्रबन्ध शुल्क भारी रुपमा वृद्धि गरेपछि ब्यवसायीहरुले अनिश्चितकालका लागि आयात निर्यात ठप्प पारेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको गोदामको ठेक्का पाएको कम्पनीले गोदाम शुल्क बढाएपछि विहीवारदेखि व्यवसायीले आयात निर्यातलाई ठप्प पारेका छन् । दश व्यवसायिक संस्थाले शुल्क वृद्धि फिर्ता नभएसम्म आयात र निर्यात ठप्प पार्ने निर्णय गरेका हुन् । पछिल्लो समय मुलुकमा ब्यापार घाटा बढिरहेको र निर्यातको तुलनामा आयात घटिरहेको अवस्थामा प्राधिकरणले आफूखुशी नयाँ मुल्यसूची ल्याएर व्यवसायीलाई मर्कामा पारेको भन्सार समितिका सभापति निरज राईको भनाई छ ।

प्राधिकरणले नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनीलाई गोदाम संचालनका लागि जिम्मा दिएको छ । प्राधिकरणले नयाँ शुल्क कायम गर्न ठेकेदार कम्पनीलाई ताकेता गरेपछि बिहीबारदेखि लागु हुने गरी नयाँ मुृल्य काम गरिएको छ । ब्यवसायीहरुले आफूहरुको हितमा नयाँ शुल्क नभएको भन्दै शुल्क नघटाएसम्म आयात निर्यातलाई ठप्प पार्ने नेपाल कार्गो ब्यवसायी संघका महासचिव सुन्दरप्रसाद दाहालले जानकारी दिए ।

विमानस्थल दस्तुर नियमावली २०६७ को नियम ११ को अनुसूची ८ बमोजिम साधारण सामान निकासी गर्दा प्रतिकिलो २ रुपैया, निकासी गर्दा प्रतिकिलो पाँच रुपैया, बहुमूल्यतर्फ निर्यात गर्दा प्रतिकेजी तीन रुपैयाँ र आयात गर्दा ८ रुपैयाँ प्रतिकेजी असुल गर्ने गरी नयाँ शुल्क तोकिएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका आर्थिक प्रशासन प्रमुख हिराकाजी महर्जनले जानकारी दिए ।

गोदाम संचालनबाट उठेको मुनाफाबाट विमानस्थल कार्यालयले ७० र गोदाम कम्पनीले ३० प्रतिशत रकम लिदै आएका छन् । अघिल्लो आर्थिक बर्षमा भन्सार कार्यालयले ३ करोड ११ लाख ९९ हजार मुनाफा गरेको थियो ।