नेपाली क्रिकेटमा ऐतिहासिक सफलता

नेपाली क्रिकेटमा ऐतिहासिक सफलता


नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको ओडिआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्ने थियो ।

नेपालले अन्तराष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पनि पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

नेपालसँग पराजित भएको पपुवान्युगिनीले भने ओडिआई स्टाटस गुमाएको छ । अहिलेसम्म एशोसिएसट टिम मात्र रहेको नेपालका लागि यो ठूलो मौका मिलेको हो ।

सन् १९९६ बाट अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले २२ वर्षपछि एकदिवसीय मान्यता पाएको हो । नेपाली टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यता पाएकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटमा योगदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

डिभिजन ५ बाट यात्रा थालेको नेपालले यसअघि २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो । तर, न्यूजिल्याण्डमा कमजोर प्रदर्शन गरेपछि नेपाल डिभिजन ३ मा घटुवा भएको थियो ।