‘फेजर कप’ भारोत्तोलनमा नेपाल टिम उपविजेता

‘फेजर कप’ भारोत्तोलनमा नेपाल टिम उपविजेता


नेपाल भारोत्तोलन संघले तेश्रो अन्तर्राष्ट्रिय फेजर कप भारोत्तोलन च्याम्पियनसिपमा टिम उपविजेता बन्न सफल नेपाली टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेको छ । इरानको अहभाजमा मार्च ६ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली स्वदेश फर्किएको हो ।

१२ राष्ट्र सहभागि उक्त प्रतियोगितामा नेपाल ५ कांस्य जित्दै टिम उपविजेता बनेको नेपाल भारोत्तोलन संघले जनाएको छ । नेपालबाट ३ पुरुष खेलाडी सहभागि भएकोमा दुईजनाले पदक जित्न सफल भएका थिए ।

प्रतियोगिताको ८५ केजीमा सुरेन्द्र श्रेष्ठले ३ कांस्य जितेका थिए । उनले क्लिन एन्ड जर्कमा १२७ र स्न्याचमा ९० केजी गरी कुल २१७ केजी भार वहन गर्दै तीनै स्पर्धामा कांस्य जितेका हुन् ।

सागका स्वर्णधारी कमलबहादुर अधिकारीले क्लिन एन्ड जर्क र कुलमा गरी २ कांस्य जितेका थिए । उनले क्लिन एन्ड जर्कमा १५३ केजी र कुलमा २६४ केजी भार उठाएका थिए । उनले स्न्याचमा ११२ केजी उचालेका थिए ।

१०५ केजीमाथि पुकार गुरुङ पदकविहनी रहेपनि स्न्याचमा भने आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनले स्न्याचमा १२६ केजी वजन उठाउदै आफ्नै नाममा रहेको १२५ केजीको कीर्तिमानमा सुधारे गरका थिए । गत पुसमा पोखरामा भएको राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पुकारले १२५ केजी उठाएर कीर्तिमान बनाएका थिए । पुकारले क्लिन एन्ड जर्कमा १४० केजीसहित कुल २६६ केजी भार वहन गरेका थिए ।

उक्त प्रतियोगितामा दिनेश भुजेलले टिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार निर्णायकका रुपमा सहभागी भएका थिए ।

टोलीलाई भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ, महासचिव पार्थ सारथी सेन गुप्त, सचिव तिलक राउतलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले स्वागत गरे ।