एउटा तानाशाहको वैधानिक उदय

एउटा तानाशाहको वैधानिक उदय


– पुरुषोत्तम ढकाल, लसएन्जलस

कुटिल हाँसोसहित मुस्कुराउँदै आफ्ना छिमेकीलाई सदैव ‘रुवाउन’ सफल चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘आजीवन राष्ट्रपति’ हुने वैधानिक बाटो खुलेको छ । अर्थात् कुटिल हाँसो हाँसेर भूगोलका छब्बीस छिमेकी मात्र होइन, उनले चिनियाँ जनतासहित दुनियाँ रुवाउनेछन् भन्ने अनुमान गर्न थालिएको छ ।

कडा सुरक्षा घेराभित्र पार्टीभित्रको बहस र पैरवीबिनै चीनको नेसनल पिपुल्स कङ्ग्रेसको गत आइतबार सम्पन्न बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको छ । यसले सन् २०२३ सम्मको कार्यकाल भएका जिनपिङलाई अनिश्चितकालसम्म राष्ट्रपति हुने बाटो खोल्दै एउटा तानाशाहमार्फत देश चलाउने वैधानिक अवसर प्रदान गरेको छ ।

जिनपिङको संविधान संशोधन प्रस्ताव अर्थात् नियोजित मतदानमा २ हजार ९ सय ६४ जनाले मतदान गरेका थिए । तीमध्ये दुईजनाले चाहिँ विपक्षमा मतदान गर्ने आँट देखाए भने तीनजना अनुपस्थित थिए ।

यसअघि चीनले सन् १९९० को दशकदेखि दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने सीमा तय गरेको थियो । एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी राष्ट्रपति पदमा बहाली गर्नु खतरनाक हुने भन्दै धेरै राजनीतिक पण्डितले यो संविधान संशोधनको आलोचना गरेका छन् ।

चिनियाँ परम्परा तोडेर गत अक्टोबरमा राष्ट्रपति सीले आफ्ना अधिनायकीको पूर्वसङ्केत गरेका थिए । कुटिल हाँसोसहित जिनपिङले चीनमा परिवर्तन चाहने शक्तिविरुद्ध राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमै आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले अर्को तानाशाहको उदयलाई ‘सी जिनपिङवाद’को नाम दिएको थियो । दुर्भाग्य ! त्यही सम्मेलनबाट उदाउँदै गरेका राष्ट्रपति सी आगामी पाँच वर्षलाई पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए ।

चिनियाँ जनताको अर्को दुर्भाग्य, सी फेब्रुअरी महिनाको अन्त्यतिर चिनियाँ कम्युनिस्ट पार्टीमार्फत राष्ट्रपति कार्यकालको समयसीमा हटाउन सफल भइसकेका थिए ।

संविधान संशोधनपछि अब सी आफैँले नचाहेसम्म उनलाई राष्ट्रपति पदबाट हटाउन कठिन देखिएको छ, अर्थात् उदाएको चिनियाँ नवतानाशाहले फेरि एकपटक दुनियाँमा मान्छेलाई रुवाउन सक्ने त्रास बढेको छ । अर्थात् समयले उनलाई माओत्से तुङपछिको सबभन्दा शक्तिशाली चिनियाँ राष्ट्रपतिको हैसियतमा पुऱ्याएको छ, जसले जतिबेला जे पनि गर्न सक्ने औकात राख्छ ।
यसरी उदाएका चिनियाँ तानाशाह राष्ट्रपति सी संविधानमै टेकेर आजीवन राष्ट्रपति हुनेछन् र यसका लागि उनले आफ्नो मनसायले गुपचुप संविधान संशोधन प्रस्ताव अघि बढाएको बुझिन्छ ।

मानव सभ्यताको यति धेरै विकास भयो भनिएको यो शताब्दीमा कुनै एक नेतालाई उसले चाहेसम्म नेतृत्वमा बस्न दिने कि नदिने भन्ने यति महत्वपूर्ण विषयमा पनि राष्ट्रिय बहस नहुनुले यस्तै सङ्केत गर्छ । र, बाँकी दुनियाँले यो बुझ्नुपर्छ कि पुटिनको नयाँ अवतार ट्रम्पका साझेदार, मोदीका लागि बाटो खोल्ने र इरानको शुभेच्छुक सी जिनपिङको उदय मानवजातिको अभिव्यक्ति स्वतन्त्रताको अन्त्य, मान्छेले निर्धक्क बाँच्न पाउने युगको पनि अन्त्य र अस्वाभाविक मृत्युका लागि तयार रहनुपर्ने दिनको शुरुवात पनि हुन सक्छ ।