पाठक मञ्च-इमानदारहरूको समेत बदनामी भयो

पाठक मञ्च-इमानदारहरूको समेत बदनामी भयो


सञ्चारमाध्यमबाट सत्य र तथ्यगत सूचना प्रवाह गर्नु पत्रकारको उत्तरदायित्व हो । तर, सत्य र तथ्यगत सूचनालाई सञ्चारमाध्यमबाट उजागर नगरी उल्टै ‘बार्गेनिङको अस्त्र’ बनाएर पोखराका एक पत्रकार करोडौँको मालिक बनेका छन् । यसबाट दुःखित भई हामी यो पत्र लेख्न बाध्य भएका छौँ ।
गुल्मी जिल्ला बिम्घा गाविस वडा नं. ३ घर भई हाल पोखरामा पत्रकारिता गर्दै आएका रामकृष्ण ज्ञवाली पीतपत्रकारिताका माध्यमबाट करोडौँको मालिक बनेका हुन् । ०५१÷५२ सालतिर गुल्मीबाट पोखरा आएका ज्ञवालीले १०÷१२ वर्षको अवधिमा करोडौँ सम्पत्ति जोडेका छन् । हाल उनी पोखराको न्युरोडस्थित पोखरा उपमहानगरपालिकाको कार्यालयनजिकै रहेको आफ्नै घरमा बस्दै आएका छन् । उनले सो घर एक करोड ६५ लाख रुपैयाँमा ०६५ सालको पुसमा खरिद गरेका हुन् । स्वच्छ र इमानदारीको पत्रकारिता गर्नेहरूले घरखेत सिध्याएको सन्दर्भमा ज्ञवालीले पत्रकारिताकै नाममा एकाएक करोडौँ सम्पत्ति कमाउनुको रहस्य भने बेग्लै छ ।
गुल्मीको दुर्गम गाउँको सामान्य किसान परिवारमा जन्मिहुर्केका ज्ञवालीले पोखरामा एक दशकभित्र करोडको मालिक बन्ने मुख्य माध्यम पत्रकारितालाई नै बनाएका छन् । हाल एक प्रतिष्ठित टेलिभिजनको पोखरा ब्युरो प्रमुखका साथै स्थानीय समाधान दैनिकको कार्यकारी सम्पादकको भूमिका रहेका ज्ञवालीले पत्रकारितालाई कमाउ धन्दामा रूपान्तरण गर्दै आफूलाई करोडौँको मालिकका रूपमा विकास गर्न सफल भएका छन् । न्युरोडमा कित्ता नं ३६१३ रहेको नौ आना तीन दाम एक पैसा क्षेत्रमा रहेको ज्ञवालीको घर अहिले करिब ६÷७ करोड मूल्यबराबर रहेको जानकारहरू बताउँछन् । ज्ञवालीले सो घरमा अहिले नगरपालिकाको मापदण्डविपरीत बिनास्वीकृति कोठा थपेका छन् । तर, नगरक्षेत्रमा मापदण्ड मिचेर बनाइएका भवनहरू भत्काइएको भए पनि ज्ञवालीको घर भत्काइएको छैन । आफ्नो घरलाई छोएमा पोखरा उपमहानगरपालिकाका अनियमितताहरूबारे टेलिभिजनमा समाचार प्रसारण गरिदिने भन्दै धम्क्याउने गरेकोले उनको घर नगरपालिकाले भत्काउन नसकेको स्रोतको भनाइ छ ।
देशभरिका अधिकांश पत्रकार आफूले काम गर्ने सञ्चारगृहबाट न्यूनतम पारिश्रमक पाउनबाट समेत वञ्चित रहेको कहालीलाग्दो सन्दर्भमा ज्ञवालीको कमाइबारे जान्ने÷बुझ्नेहरू जिब्रो काढ्ने गर्दछन् । पोखराबाट प्रकाशित हुने (हाल अस्तित्वमा नरहेको) गगन साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका ज्ञवाली जनमत, पोखरापत्र, पोखरा एफएम, राजधानी दैनिक हुँदै हाल टीभी र समाधान दैनिकमा कार्यरत रहेका छन् । उनले प्रहरी, प्रशासन र सरकारी अड्डाहरूमा हुने ढिलासुस्ती र अनियमिततालाई बार्गेनिङको अस्त्र बनाउँदै विभिन्न ठाउँबाट मोटो रकम कुम्ल्याउने गरेका रहस्यहरू एक–एक गरी सार्वजनिक हुँदै आएका छन् । उनीले वेश्यालयदेखि भैंसी व्यापारीहरूसम्म र प्रहरी प्रशासनदेखि भूमाफियाका साथै पोखराका मुख्य गुण्डाहरूसँग मिलेर मोटो रकम असुली गर्ने गरेको पीडितहरूले गुनासो गर्दै आएका छन् । ज्ञवालीले कुनै ‘एस्क्लोसिभ न्युज’ भेटाएमा तुरुन्तै बार्गेनिङ गर्ने र आफूले भनेजति रकम नपाए मात्र समाचार लेख्ने गरेको हामी पोखरावासीले देख्दै–भोग्दै आएका छौँ । उनले आफूसँग केन्द्रका छ÷सात जना पत्रकारसमेत रहेको भन्दै मोटो रकम बार्गेनिङ गर्ने गरेको आरोप लगेको छ । प्राप्त जानकारीअनुसार उनले वडा प्रहरी कार्यालय बैदाम तथा वडाप्रहरी कार्यालय रामबजारबाट तेलबापत मासिक २० देखि ३० हजार रुपैयाँ लिने गरेका छन् । त्यस्तै पोखराका गुण्डाहरूलाई टेन्डरमा सहयोग गरी मासिक ७० हजार असुल्दै आएका छन् । पोखराका डान्स, रेस्टुरेन्टबाट पनि ज्ञवालीले हप्तावारी उठाउँदै आएको स्रोतले बतायो । त्यसैगरी केही जग्गा व्यापारीहरूले घरजग्गा कारोबारमा राजस्व छली गरेको विषयलाई बार्गेनिङ गरी ज्ञवालीले ३० लाख रुपैयाँ खाएको स्वयम् जग्गा व्यापारीहरू बताउँछन् । त्यस्तै गण्डकी अञ्चल कार्यालयका अनियमितताबारे समाचार नलेखेबापत मासिक तीसदेखि पचास हजार रकम असुली गर्दै आएका छन् ।
ज्ञवालीले सबैभन्दा ठूलो रकम उनले ‘रातारात मालपोत कार्यालय कास्कीले जग्गा पास गरेको प्रकरण’मा मोटो रकम कुम्ल्याएको समाचार स्रोतले बतायो । पोखराको सिर्जना चोकस्थित हाल मेट्रो सिटी हस्पिटल (पहिले फेवासिटी हस्पिटल) रहेको भवन बिक्री गरेको विषयलाई लिएर गण्डकी मेडिकल कलेजका केही व्यक्तिहरूसँग मिलेर ज्ञवालीले २५ लाख रुपैयाँ रकम लिएर सो समाचारलाई बङ्ग्याएर लेखेका थिए । समाचार लेख्नुअघि तत्कालीन मालपोत अधिकृतसँग रु. पाँच लाख घुस मागेको स्रोतले बतायो । मालअधिकृतले सो रकम दिन अस्वीकार गरेपछि जागिर खाने धम्की दिँदै समाचार सम्प्रेषण गरेका थिए । सो जग्गा नेपाल बंगलादेश बैंक, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको लगानी रहेकामा सो भवनको २८औँ पटकसम्म लिलाम बिक्रीको सूचना जारी गर्दा पनि बिक्री नभएपछि अन्तिममा स्याङ्जाका तानबहादुर थापाले ६ करोड ५० लाखमा खरिद गरेका थिए । त्यसपछि सो भवन गण्डकी मेडिकल कलेजका असन्तुष्ट पोखराका प्रतिष्ठित डाक्टरहरूले नौ करोडमा खरिद गरेका थिए । थापाले सो भवन बिक्रीबापत प्राप्त भएको दुई करोड ५० लाखको नाफाबापत सरकारलाई १७ लाख रुपैयाँ राजस्वसमेत तिरेका थिए । सो जग्गा खरिद गर्ने क्रममा तत्कालीन समयमा जनता बैंकको पोखरा शाखाबाट पाँच करोड ५० लाख रकम दिने सहमति भएको भए पनि जग्गा पास हुने समयमा जनता बैंकले मुद्दा परेको जग्गामा लगानी नगर्ने भनी ऋण स्वीकृति बदर गरिदिएपछि नयाँ लगानी गर्ने बैंकको खोजी गर्दा जग्गा पास गर्न केही ढिलाइ भएको थियो । तर, कार्यालयसमयभन्दा एक घन्टा ढिलो गरी जग्गा रजिस्ट्रेसन भएको थियो । त्यसपछि पोखराका केही डाक्टरको सर्टिफिकेटलाई धितो राखी पोखराको हिमचुली विकास बैंकले ऋण उपलब्ध गराएको थियो । जनता बैंकले आफूहरूलाई धोका दिएको प्रसङ्गबारे स्वयम् चिकित्सकहरूसँग माफी माग्दै पश्चात्ताप व्यक्त गरेको चिकित्सकहरूको भनाइ छ । सो जग्गा पास भएपछि प्राप्त भएको ७५ लाख रुपैयाँ राजस्वको जिम्मेवारी लिने कर्मचारीको अभावमा केही ढिलोसम्म कार्यालय खोली काम गरिएको थियो । पछि राष्ट्र बैंकका कर्मचारीले सो रकम जिम्मा लिइदिएपछि कार्यालय बन्द गरिएको थियो । तर, तत्कालीन समयमा मिडियाले सो वास्तविक समाचार सम्प्रेषण नगरिदिँदा सो मुद्दा अख्तियारसम्म पुग्यो । अहिले सबै कर्मचारीहरूले सो मुद्दाबाट सफाइ पाइसकेका छन् ।
सुरासुन्दरीको साथमा निकै रमाउने ज्ञवालीले आफ्ना सहकर्मीहरूमाथि यौनशोषण गरेको आरोप पनि लागेको छ । उनले बिहे गर्ने आश्वासन दिएर चरम यौनशोषण गरेका पीडितले अझै पनि ज्ञवालीसँग बिहे गर्न पाइन्छ कि भन्ने आशमा कानुनी उपचार नखोजेको यहाँ चर्चा छ । साथै उनले केही प्रतिष्ठित व्यक्तिहरूको सफलताको कथाबारे समाचार लेखेबापत पनि रकम असुल्ने गरेको स्रोतले बताएको छ । डीआईजी आफ्नै नजिकको गाउँले व्यक्ति आएको भन्दै भैंसी व्यापारीहरूसँग लिँदै आएको रकम बढाएर एक लाखको प्रस्ताव गरेको पनि अहिले चर्चा चल्न थालेको छ ।
अर्कोले गरेको गल्तीलाई बार्गेनिङ गरी रकम असुल्ने ज्ञवालीले आफूले घर खरिद गर्दासमेत राजस्व छलेका छन् । उनले एक करोड ६५ लाखमा खरिद गरेको घरलाई २० लाख ६८ हजार रुपैयाँमा पास गरेको मालपोत कार्यालय कास्कीको अभिलेखबाट स्पष्ट भएको छ । ज्ञवालीको पीतपत्रकारिताले स्वच्छ र इमानदारीको पत्रकारिता गर्ने आमपत्रकारको छविमा समेत हिलो छ्याप्ने प्रयास मात्र गरेको छैन, शिरसमेत झुकाउने काम गरेको छ ।
हेमशङ्कर पौडेल, पुम्दीभुम्दी
ललिता शेरचन, बगर
नरराज गुरुङ, न्युरोड तथा पोखरावासीहरू