यूएस-बंगला विमानको दुर्घटनापछि…

यूएस-बंगला विमानको दुर्घटनापछि…


– अङ्गराज तिमल्सिना (पीएचडी)

यो दुःखद घटनाले धेरैलाई स्तब्ध बनाएको छ । उज्यालो भविष्यको सपना बोकेका बंगलादेश पढ्ने धेरै विद्यार्थीको यो दुर्घटनामा निधन भएको दुखान्त खबर छ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना !

हामी नेपालीको पुरानो रोग के भने दुर्घटना÷घटना र आपतविपत भएपछि एकाध दिन जुर्मुराउँछौँ । त्यसबारे छलफल गर्छौं र त्यसको केही दिनमै पहिला जस्तो थियो त्यही अवस्थामा देश र समाज फर्किन्छ अनि यसरी नै लम्बेकालदेखि जीवन र जगत् चलिरहेको छ । महाभूकम्पपछि होस् वा माओवादी युद्धपछिको पुनर्निर्माण, ठूलो बाढी जाँदा वा ठूलो पहिरो जाँदापछिको पुनस्र्थापनाको अवस्था यसरी नै गुज्रियो ।

यूएस–बंगला विमानको दुर्घटनाबारे कुरा गर्दा अहिले यूएस–बंगला कम्पनीले नेपालको कन्ट्रोल रुम र नेपालको कन्ट्रोल रुमले विमानलाई दोष दिइरहेका छन् । हवाईजहाज दुर्घटनाबारे निम्न तथ्य महत्वपूर्ण छ ।

अहिलेसम्म भएका ‘प्लेन क्र्यास’बारेको अनुसन्धानले के देखाउँछ भने अक्सर एउटा मात्र कारणले प्लेनको दुर्घटना हुँदैन । दुर्घटना भए आगलागी भएर यात्रुहरू खरानी बन्ने भयावह दृश्य देखिने भए पनि प्लेन यान्त्रिक रूपले यति सुधारिएको यन्त्र हो कि करिब १२ लाख फ्लाइटमा एउटा प्लाइटमा दुर्घटना हुन सक्ने सम्भावना हुन्छ भने करिब १ करोड १ लाख प्लेन यात्रीमा १ एकजना मर्ने सम्भावना । अर्कोतिर कार वा बस दुर्घटनामा हरेक ५ हजार मान्छेमा एकजना मर्न सक्ने सम्भावना हुन्छ ।

ब्ल्याक बक्सभित्र ककपिटमा पाइलटले बोलेको कुरा र एअरपोर्टको कन्ट्रोल रूमबीचको संवाद आदिको अनुसन्धानले सत्यतथ्य बाहिर आउने नै छ, तर प्रारम्भिक तथ्यहरू हेर्दा एउटा मात्र नभएर धेरै कुराले यो दुर्घटना भएको देखिन्छ ।

जस्तो कि पाइलटले गल्ती गरेर उत्तरतिरबाट ल्यान्ड गऱ्यो वा ल्यान्ड गर्दा ‘एङ्गल’ मिलाउन सकेन भनिएको छ । तर, सार्वजनिक गरिएको कन्ट्रोल रुमको संवाद हेर्दा उत्तर र दक्षिण कता जाने भन्ने निर्देशन दिने कन्ट्रोल रुम र सुन्ने पाइलटबीच नै ‘मिस अन्डरस्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन ग्याप’जस्तो देखिन्छ । कन्ट्रोल रुमलाई प्लेन उत्तर गयो वा दक्षिण गयो भन्ने कन्फ्युजनजस्तो छ भने प्लेन र कन्ट्रोल रुमबीच क्य्रासअगाडिका १२ मिनेटजति कुनै सम्पर्क–संवाद छैन ।

म पाइलट वा एरोनोटिकल इन्जिनियर होइन, तर हाम्रो उत्तरमा पहाड पर्ने भएकाले ठूला प्लेन ओराल्न सजिलो छैन । तर, त्रिभुवन विमानस्थलमा ट्राफिक जाम हुँदा उत्तरबाट पनि अवतरण गर्ने अनुमति दिइन्छ भनिन्छ ।

सन् २०१६ को एउटा अन्तर्राष्ट्रिय ‘ऱ्याङ्किङ’का अनुसार हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका दश खराब विमानस्थलमा पर्छ । एउटा मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट हुनुको पीडा त छँदै छ, घरेलु र अन्तर्राष्ट्रिय सबै उडानहरू एउटै धावनमार्गबाट उड्ने र ओर्लिने बाध्यताले त्रिभुवन विमानस्थलमा बारम्बार एयर ट्राफिक जामको समस्या छ । एक वर्षमा झन्डै ६० लाखजति यात्री यो विमानस्थलले सकी–नसकी धानेको छ ।

हाम्रो भौगोलिक अवस्था र मौसम खराबी आदिले पार्ने समस्या (जस्तो कि प्लेनलाई कन्ट्रोल रुमले एयरपोर्ट देख्नुभो भन्नुपर्ने अवस्था) का अलावा हाम्रो मुख्य समस्या त्रिभुवन विमानस्थलको स्तरोन्नति हुनु नसक्नु र करिब ३ करोडभन्दा बढी जनसङ्ख्या भएको नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु हो ।

सन् २०१६ को एउटा अन्तर्राष्ट्रिय ‘ऱ्याङ्किङ’का अनुसार हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वका दश खराब विमानस्थलमा पर्छ । एउटा मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट हुनुको पीडा त छँदै छ, घरेलु र अन्तर्राष्ट्रिय सबै उडानहरू एउटै धावनमार्गबाट उड्ने र ओर्लिने बाध्यताले त्रिभुवन विमानस्थलमा बारम्बार एयर ट्राफिक जामको समस्या छ । एक वर्षमा झन्डै ६० लाखजति यात्री यो विमानस्थलले सकी–नसकी धानेको छ ।

विश्वमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुने अरू देशहरू र भूभागहरू पनि छन् । तर, तिनीहरूको स्तर हेर्दा हाम्रोभन्दा कति गुना राम्रो छ । अस्ति मात्रै फुच्छे बालीको हाम्रोभन्दा कति राम्रो एयरपोर्ट भनेर डा. बाबुराम भट्टराईले आफ्नो फेसबुकमा लेखेका थिए ।

कम्तीमा पनि प्लेन उड्ने र बस्ने दुई छुट्टै धावनमार्ग हुँदा प्लेनको ट्राफिक जामले हुने दुर्घटना घटाउन सकिन्छ भने राडार आदि प्रविधिको स्तरोन्नतिले प्लेनलाई कन्ट्रोल रुमले गाइड गर्न सजिलो हुन्छ ।

हामीले चाँडोभन्दा चाँडो पोखरा, लुम्बिनी र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ भने त्रिभुवन विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको धावनमार्ग, टर्मिनल, राडारलगायतको प्रविधि र उद्धारको तयारीलगायतको स्तरोन्नति गर्न जरुरी छ ।

हाम्रो विडम्बना के भने विमानस्थलको स्तर र सुविधा अभिवृद्धिका लागि भनेर हरेक हवाई यात्रीबाट उठाउने कर नागरिक उड्ययन प्राधिकरणमा मात्रै २० अर्बजति पैसा खातामा बसिरहेको छ भनिन्छ, तर हाम्रो विमानस्थलको खस्किँदो अवस्थाका कारणसमेत हवाई सेवा असुरक्षित बन्दै छ । सबैभन्दा खराब एयरपोर्टमा गनिने हाम्रो एयरपोर्टमा दुर्घटना हुँदा यसले नेपालको हवाई सुरक्षाप्रति विश्वको आशङ्का अझ बढाउने र यसले हाम्रो पर्यटन र अरू क्षेत्रमा असर पार्ने छ । अस्तु !!!