सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि समिति

सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि समिति


आगामी चैत ११ गतेदेखि शुरु हुने सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले मंगलबार एक हजार १३८ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

कामपाले मंगलबार आयोजना गरेको कार्यक्रममा समिति गुरुजु (पुजारी) नीलकाजी शाक्यको संयोजकत्वमा स्थानीय सरोकारवाला सदस्य रहने गरी गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुखसहित गुठी संस्थान, विद्युत् प्राधिकरण, स्काउट, रेडक्रस लगायतका संघसंस्थाका प्रतिनिधिलाई सदस्य राखिएको छ ।

त्यसैगरी, समितिको संरक्षकमा महानगरका प्रमुख र उपप्रमुख राखिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रामा कोही पनि असुरक्षित हुन नहुने भन्दै विकृतिजन्य क्रियाकलापलाई प्रश्रय दिनु नहुने बताए । राससका अनुसार जात्रामा देश तथा विदेशी नागरिकले सहजै सहभागी हुन पाउने व्यवस्था मिलाउनु पर्नेमा पनि शाक्यको जोड थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले स्थानीय सरकारको संयोजनमा हुने काममा आफू सहजीकरण गर्न र राष्ट्र प्रमुखको सवारी हुने बखतको सुरक्षा मिलाउने आफ्नो जिम्मेवारी स्थानीय समन्वयमा सम्पन्न गर्ने बताए ।

उक्त जात्रा काठमाडौँको मौलिकतासँग जोडिएको बताउँदै महानगरको वडा नं २५ का वडाध्यक्ष एवं व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले सुरक्षित र मर्या्दित जात्रा चलाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।