दुईतिहाइको राजकुमार !

दुईतिहाइको राजकुमार !


– दीपेन्द्र पाण्डे

वर्तमान प्रतिनिधिसभामा एमालेको १२१ स्थान र माओवादी केन्द्रको ५३ स्थान गरी वाम सरकारलाई सुविधाजनक अङ्कगणित भएकाले प्रधानमन्त्री केपी ओली तत्काल सत्ताबाट हट्नुपर्ने कारण र अवस्था थिएन । नेपाललाई स्थिरता, सुशासन, विकास र समृद्धिको गन्तव्यमा पुऱ्याउने चुनावी नारालाई व्यवहारमा उतार्न ओली सरकारलाई दायाँबायाँबाट कुनै अवरोध तत्काल देखिएको छैन । ०५१ मा प्रमुख प्रतिपक्षी काङ्ग्रेस पार्टीले समेत भोट हालेको मनमोहन सरकार नौ महिना नटिकेको बुझ्दा पनि सुविधाजनक बहुमतमा सन्तुष्ट नहुने प्रधानमन्त्री ओलीको ‘नयाँ रहर’ वास्तवमै शङ्कास्पद र अर्थपूर्ण लाग्दै छ । विकासको निम्ति चाहिने आवश्यक कानुन निर्माणको संसदीय अङ्कगणित आफ्नो गोजीमा हुँदाहुँदै अनिष्ट, अकल्पनीय जोखिम मोल्दै खोजिएको दुईतिहाइले ओली गन्तव्य कतै ’चक्रब्यूह’मा फस्दै त छैन भन्ने सवाल चैत–वैशाखको डढेलो जसरी फैलिँदै छ । जनतालाई देखाएको सपना एकातिर प्रधानमन्त्री ओलीको कदम अर्कैतिर लम्किएको देख्दै गर्दा उनको दोस्रो कार्यकाल नीतिकथाको राजकुमारको जस्तो बन्दै छ ।

जीवनको अन्तिम समय आएको महसुस गर्दै राजाले आफ्नो छोरोलाई बोलाउन पठाए । पिता महाराजसामु उपस्थित राजकुमारलाई भने, बाबु मेरो अब धेरै समय छैन । मपछि तिमीले राज्य हाँक्नुपर्नेछ । मेरो जीवनको अन्तिम इच्छा पूरा गर्न सक्छौ ? बिनासोचविचार राजकुमारले भने– महाराज हुकुम होस् । म तयार छु । राजाले भने, बाबु मलाई दश वर्षको पाठो, बीस वर्षको स्याल, चालीस वर्षको गधा र असी वर्षको उँट ल्याइदिन सक्छौ ? यी सामान प्राप्तिको निम्ति आवश्यक धनदौलत राज्यकोषबाट लिन सक्छौ । अल्पज्ञानी राजकुमार अत्यन्तै हौसिँदै केही भारदार र थुप्रै सुनचाँदीसहित बुबाको इच्छा खोज्न तम्सिए । राज्यका विभिन्न चोकचोकमा महाराजले चाहेको वस्तुहरू दशवर्षे पाठो, बीसवर्षे स्याल, चालीसवर्षे गधा र असीवर्षे उँट ल्याइदिनेलाई राज्यको जति पनि धन–सम्पत्ति दिन तयार छु भन्दै राजकुमारले भाषण गरे । राजकुमारको कुरा सुनेर राज्यका जवानदेखि वृद्ध मानिसहरू अत्यन्तै दुःखी हुन पुगे । दशवर्षे पाठो कहाँ पाउनु । दुई वर्षमा नै खसी बनाएर खाइसक्ने कुरा हाम्रा हुनेवाला राजा पैसामा किन्न खोल्दै छन् । स्यालको उमेर कसले सोध्ने । चालीस वर्ष गधा बाँच्दै बाँच्दैन । असीको उँट ! लौ अब यो राज्यको भविष्य धरापमा पर्दै छ भन्दै सबै मानिस आफ्नो बाटो तताए ।

राजनीतिक लडाइँ सकियो अब आर्थिक क्रान्ति शुरु गर्ने भन्ने सरकार अनुपयुक्त शक्ति आर्जन गर्न लाग्नुले समृद्ध नेपालको सपना कतै दुर्घटनामा पर्दै त छैन ? सामान्य बहुमतले आर्थिक प्रगतिको निम्ति कुनै बाधा नहालेको बुझ्दाबुझ्दै दुईतिहाइको खेल कसको स्वार्थमा खेलिँदै छ ?

अनेकौँ कोसिसका बाबजुद राजाले खोजेको कुरा नपाउँदा निराश राजकुमार अन्तिम भाषण गर्दै थिए । भाषणको समाप्तिपछि एउटा बालकले राजकुमारलाई बोलाउन पुगे । बालकको पछाडि लुरुलुरु लाग्दै एउटी बीस वर्षीया कन्यासामु पुगे । कन्याले राजकुमारलाई सोधिन्– यस्ता कुरा कसले ल्याउनुभनेको ? राजकुमारले भने, राजाले । कन्याले भनिन्– हजुरको पिता महाराजले ती सामान खोज्नुभएको होइन । केवल सवालको जवाफ खोज्नुभएको हो । तपाईंको दिमाग जाँच्नुभएको हो । दश वर्षको पाठो भनेको दश वर्षको बच्चा हो । दश वर्षमा बच्चा पाठोजस्तै चञ्चल हुन्छ । त्यही बच्चा बीस वर्षमा स्यालजस्तै धूर्त हुन्छ । चालीस पुग्दै गर्दा पारिवारिक बोझले गधाजस्तो हुन पुग्छ । असी वर्ष पुग्दा बूढो हुने र उँटलाई जस्तै डोऱ्याउनुपर्छ । तपाईं राजासामु जानुस् र भनिदिनुस् । कन्याको कुराले लज्जित राजकुमार जवाफ बोकेर राजासामु फर्किए ।

वर्तमान नेपालमा असङ्ख्य सगरमाथाहरू ठडिएका छन् । राजनीतिक अधिकार प्राप्तिको दौरान राजनीतिसँग सरोकार राख्ने र नराख्ने आन्तरिक तथा बाहिरी शक्तिद्वारा सिर्जित समस्याबाट खडा गरिएका सगरमाथाहरू बेथिति, विकृति, विसङ्गति, ढिलासुस्ती, भ्रष्टाचार, अराजकताहरू न गनेर साध्य न भनेर साध्य भेटिन्छन् । चौडा सडक, ठूलाठूला जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, चिनियाँ रेल र तेल, ग्यासपाइप लाइन, फलाम खानीको उत्खननजस्ता विकासे सपना बाँडेर निस्केको नवराजकुमार कमरेड ओलीको भाषणलाई पत्याएर राजाको भूमिकामा रहेका जनताले देश विकासको ढुकुटी र साँचो सुम्पिए । निर्वाचनपूर्व जारी गरिएको वाम घोषणापत्रलाई तत्काल लागू गर्न चाहिने राष्ट्रिय पुँजीको अभाव रहेको बुझ्ना साथ प्रधानमन्त्री ओली नीतिकथाको राजकुमारझैँ दशवर्षे पाठो खोज्न केरुङ, बैंकक, सोल्टी होटेल, ससफोको कोठा मात्र होइन राजपाको भान्सासम्म पुगिसकेका छन् । गाई–भैंसी पाल्दा लाज मान्ने, गाउँघरको पाखोबारी बाँझो राख्ने, दैनिक १५ सयको हाराहारीमा युवा पलायन हुने, शिक्षित युवा देशमा बस्नै नमान्ने, जवान युवा विदेश जाने र उनीहरूको परिवार रेमिट्यान्सको भरमा शहरको एउटा कोठामा जीवन गुजारा गर्दै बच्चालाई बोर्डिङ पढाउने फेसन शुरु गराइएको नवबुर्जुवावाद ओली-अभियानको टाउकोदुखाइ हुन पुगेको छ ।

घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई चटक्कै बिर्सेर बाघको सवारी गरेको सङ्घीयताले सिर्जित सयौँ सेताहात्ती पाल्न असम्भव हुने प्रधानमन्त्री ओलीबाट छिपेको कुरो थिएन । समृद्ध नेपालको सपना पूरा गर्न चाहिने अर्थको जोहो कालोधनबाट गर्न सकिने प्रधानमन्त्रीको चाहना सजिलै पूरा हुने देखिँदैन । देखाउनकै लागि भने पनि गर्नुपर्ने आर्थिक अनुशासनको नियमनले ओली सपना विदेशी पुँजीकै भर पर्नुको विकल्प देखिँदैन । अत्यन्त मिहिनेत गर्दा तन्काउन सकिने राजस्वको लक्ष्य करिब ९ खर्ब पुऱ्याउन सकिने अर्थशास्त्रीहरूको भनाइले हौसिएका प्रधानमन्त्री ओली भ्याटबाट आउने तीस प्रतिशत रकम स्थानीय र प्रदेश सरकारमा स्वतः जाने बुझ्नासाथ झस्किए । त्यसैगरी अन्तःशुल्कको ३० प्रतिशत, सवारीसाधन कर र रजिस्ट्रेसन सङ्कलनको रकम पनि केन्द्र सरकारको ढुकुटीबाट घट्ने हुँदा वाचाकबुल पछाडि धकेलिने देखियो । संविधानको व्यवस्थाअनुरूप ठूलो रकम स्वतः केन्द्रीय ढुकुटीबाट घट्न जाँदा बचेको रकम केन्द्र सरकारले सुरक्षा, वैदेशिक ऋणको साँवाब्याज भुक्तानी, वैदेशिक मामिला खर्च, सामाजिक सुरक्षा दायित्व, राष्ट्रिय गौरवको आयोजना, भूकम्पले पुऱ्याएको क्षतिको पुनर्निर्माण गर्न चाहिने अर्थको जोगाड चुनौतीपूर्ण बन्दै छ । आममानिसलाई केही समय भ्रममा पार्ने खेलअन्तर्गत रोजिएको विज्ञ सहयोगीद्वारा बुझिएको वर्तमान नेपालको आर्थिक सूचकाङ्कले निराश प्रधानमन्त्री ओली असफल हुने डरले प्रधानमन्त्री पदलाई शक्तिशाली बनाउन लाग्नुको सट्टा आफैं शक्तिशाली बन्न मरिहत्ते गर्दै छन् ।

गाई–भैंसी पाल्दा लाज मान्ने, गाउँघरको पाखोबारी बाँझो राख्ने, दैनिक १५ सयको हाराहारीमा युवा पलायन हुने, शिक्षित युवा देशमा बस्नै नमान्ने, जवान युवा विदेश जाने र उनीहरूको परिवार रेमिट्यान्सको भरमा शहरको एउटा कोठामा जीवन गुजारा गर्दै बच्चालाई बोर्डिङ पढाउने फेसन शुरु गराइएको नवबुर्जुवावाद ओली-अभियानको टाउकोदुखाइ हुन पुगेको छ ।

देशको अर्थतन्त्र, भूराजनीति, बन्दै गरेको एकीकृत पार्टीको राजनीतिक समीकरण र आफ्नै राजनीतिक शैलीको कारण असफल हुने शङ्काले पोलेको नवराजकुमार सुरक्षित, स्पष्ट र भरोसायोग्य संसदीय अङ्कगणितको साटो रिमोटको सङ्ख्या खोज्न हतारिनुलाई बाध्यात्मक मानिँदै छ । विगतमा बनाएको राष्ट्रवादी र विकासवादीको कस्मेटिक छविमा आइपर्ने समस्यालाई राजनीतिक रूपले प्रतिकार गर्ने सुनियोजित स्टन्ट बाजी शुरु भइसकेको सङ्केत रक्षामन्त्रीको चीनसँग संयुक्त सैन्य अभ्यास र गृहमन्त्रीको कालापानीमा सुरक्षा फौज राख्ने उत्ताउलो अभिव्यक्तिले दिएकै छ । २०४४ सालसम्म काठमाडौंमा बस्न सरकारी पाहुना नै हुनुपर्ने नवबुर्जुवाहरू नेपाली जनताको मन जित्दै स्थानीय तह, प्रदेश सरकार, मुख्यमन्त्री, मन्त्रीहरू, केन्द्रीय मन्त्री, राष्ट्रपतिसम्म आफ्नै भक्त, सेवकलाई स्थापित गर्न सफल हुँदा पनि समृद्धिको जग अनिश्चित बन्दै छ । डाक्टर महाथिर र ली क्वानको बाटो पछ्याउने ओली अठोटको बाधक मानिएको राजावादी, जनवादी र भ्रष्टाचारीपछि पाकिस्तानी प्रधानमन्त्रीको टुँडिखेल यात्रा समृद्ध नेपालको निम्ति ‘राजनीतिक ओट’ हुने विश्लेषणलाई नकारिहाल्नु हतार हुनेछ ।

नीतिकथाको राजकुमारकै शैलीमा चोकदेखि संसद्सम्म भाषण गर्ने प्रधानमन्त्रीलाई जनताले दिएको सुविधाजनक बहुमत किन अपुग भयो ? राजनीतिक लडाइँ सकियो अब आर्थिक क्रान्ति शुरु गर्ने भन्ने सरकार अनुपयुक्त शक्ति आर्जन गर्न लाग्नुले समृद्ध नेपालको सपना कतै दुर्घटनामा पर्दै त छैन ? सामान्य बहुमतले आर्थिक प्रगतिको निम्ति कुनै बाधा नहालेको बुझ्दाबुझ्दै दुईतिहाइको खेल कसको स्वार्थमा खेलिँदै छ ? के दुईतिहाइबिना मूर्छित सपना पूरा हुन सक्दैनन् ? ओली सरकारलाई दुईतिहाइ सङ्घीयता खोस्न, हिन्दूधर्म कायम गर्न वा राजतन्त्र पुनर्बहाली गर्न चाहिएको हो ? अवश्य होइन । त्यसो भए दुई नम्बर प्रदेश र केन्द्रको भाषा हिन्दी बनाउन हो त ? दुईतिहाइको दम्भमा खेलिने खेल विदेशीको सेवा र संवैधानिक निकायका प्रमुखलाई थर्काउनबाहेक के काम लाग्छ ? जनता र पार्टीको सहयोगबिना दुईतिहाइ भए पनि नटिक्ने इतिहास २०१७ साल नै काफी छ । अन्तरकुन्तरभित्र रहेको सत्ताबाट फालिने डर र आफ्ना आसेपासेको राजनीतिक जीवन सुरक्षित गर्ने चाहनाले खोजिएको दुईतिहाइ प्रधानमन्त्री ओलीको असल नियत र मनशायबाट जन्मेको होइन भन्ने बुझ्न धेरै कुर्न नपर्ने देखिन्छ । व्यङ्ग्य, घोचपेच र छेडखानीलाई छोड्दै गरिबीमा बेचेको, राष्ट्रवाद जाग्दा किनेको तेह्रथुमको बाँझो जमिनमा अदुवा फलाउन सफल भए समृद्ध नेपालको यात्रा शुरु भएको मानिनेछ । निकट भविष्यमा पूर्णता पाउने उनको विज्ञ समूहमा नीतिकथाको बीसवर्षे युवती समेटिए प्रधानमन्त्री ओली र सम्पूर्ण देशवासीको कल्याण हुनेछ ।