राष्ट्रपतिमा फेरि विद्या

राष्ट्रपतिमा फेरि विद्या


सङ्घीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित हुनुभएको छ । गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपतिको इतिहास रचिसक्नुभएकी भण्डारी ३९ हजार २ सय ७५ मत हासिल गर्दै मुलुकको तेस्रो राष्ट्रपति निर्वाचित हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी रहनुभएकी काङ्ग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई ११ हजार ७ सय ३० मत प्राप्त भएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाइनुभएकी विद्यालाई मधेसकेन्द्रित दलहरूले समेत समर्थन दिएका थिए ।

आमा मिथिला पाण्डे र बाबु रामबहादुर पाण्डेको कोखबाट भोजपुरमा जन्मनुभएकी विद्या विद्यार्थीजीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०३७ मा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष निर्वाचित उहाँ त्यसको दुई वर्षपछि भूमिगत कालमै तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग विवाहबन्धनमा बाँधिनुभएको थियो ।

पतिको ०५० जेठ ३ मा जीप दुर्घटनामा निधन भएपछि विद्या पुनः राजनीतिमा सक्रिय बन्नुभएको थियो । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली काङ्ग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उहाँको राजनीतिक उचाइ ह्वात्तै बढ्न पुगेको थियो ।