राष्ट्रपतिको निर्वाचनमा को-को भए अनुपस्थित ?

राष्ट्रपतिको निर्वाचनमा को-को भए अनुपस्थित ?


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् । संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका हुन् ।

यस्तै, प्रदेशसभातर्फका कूल ५४९ सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु रहेको जानकारी मिलेको छ ।

आज बिहान १०ः०० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न १५ः०० बजेसम्म चलेको थियो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा. युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् । यस्तै, प्रहरी हिरासतमा रहेका रेशमलाल चौधरीले पनि मतदान गर्न पाएनन् ।

तस्बिर रासस