बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौँमा


सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेललाई उद्धृत गर्दै राससले जनाएको छ ।

यता गृह मन्त्रालयले दुर्घटनाग्रस्त विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको सार्वजनिक गरेको छ । यसअघि ४९ जनाको निधन भएको जनाइएको थियो । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेका हुन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।