सातै प्रदेशका मूख्यमन्त्री किन भेला भए बानेश्वरमा ?

सातै प्रदेशका मूख्यमन्त्री किन भेला भए बानेश्वरमा ?


मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्य एकै थलोमा भेला हुन मुस्किल नै पर्ला । तर, आज संघीय संसद् भवन परिसर बानेश्वरमा उल्लिखत सबै ओहदावाल एकैचोटि भेला भएका छन् ।

तेस्रोपटक हुन लागेको संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उनीहरु काठमाडौँ आइपुगेका हुन् ।

यतिबेला जारी राष्ट्रपतीय निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य र संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थित भएका हुन् ।

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान जारी छ । विहान १० बजेदेखि मतदान शुरु भएको र दिउँसो ३ बजेसम्म जारी रहने जनाइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् ।

तस्बिर रासस