मन्त्रालय भन्छ- अनुगमन रोक, विभाग भन्छ- रोकिँदैन !

मन्त्रालय भन्छ- अनुगमन रोक, विभाग भन्छ- रोकिँदैन !


बजार अनुगमनबाट थलिएका व्यवसायीहरु यतिबेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको शरणमा परेका छन् । उनिहरुले कुनैपनि हालतमा बजार अनुगमन रोक्नुपर्छ भन्दै विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । अर्थमन्त्री युवराज खतिवडाले न्यून बिजकीकरणको समस्या समाधान गर्न मुहान नै सफा गर्ने प्रतिबद्धता जनाइरहँदा बजारमा अराजक वातावरण बनाएका व्यवसायीको पक्षमा आपूर्तिमन्त्री यादवले बजार अनुगमन रोक्न खोज्नु कालोबजारीलाई उल्टै प्रश्रय दिनु हो ।

अराजक र छाडा बजारलाई अनुगमनको माध्यमबाट नियन्त्रण गर्नको लागि आपूर्ति विभागले गरेको कार्यलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले तत्कालका लागि ‘स्थगित गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले उपभोक्ता लुट्दै आएका उद्योगी र व्यवसायीको ‘अनुकूल’ हुने गरी अनुगमन रोक्न निर्देशन दिएका हुन् ।

अनुगमनको नाममा सस्तो लोकप्रियता कमाउने गरी प्रचारमुखी देखिएको र अनुगमन धेरै भए पनि दोषी भनिएका कसैमाथि कारबाही नभएको भन्दै मन्त्री यादवले विभागलाई अनुगमन रोक्न निर्देशन दिएका छन् । तर आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने अनुगमन रोक्नु कालोबजारीलाई थप प्रश्रय दिनु हो भन्दै विभागले अनुगमनलाई नरोक्ने बताएका छन् ।

विगतमा भएका अनुगमनले दोषीमाथि कारबाही नभएकोले कार्ययोजनासहित अघि बढ्ने गरी तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । तर विभागले भने आफूहरुले गरेको अनुगमनमा दोषी देखिएका व्यवसायीलाई कारबाहीका लागि प्रक्रिया अघि बढाएको जिकिर गरेको छ ।

आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री यादवलाई पछिल्लो समय उद्योगी र व्यवसायीको संगठित संघसंस्थाले भेटेरै बजार अनुगमन रोक्न दबाब दिँदै आएका छन् । अर्थमन्त्री युवराज खतिवडाले न्यून बिजकीकरणको समस्या समाधान गर्न मुहान नै सफा गर्ने प्रतिबद्धता जनाइरहँदा बजारमा अराजक वातावरण बनाएका व्यवसायीको पक्षमा आपूर्तिमन्त्री यादवले निर्देशन दिएको उपभोक्तावादी संघसंस्थाले आरोप लगाएका छन् ।