मधेसको विकास नभए अब काठमाडौं दोषी नहुने

मधेसको विकास नभए अब काठमाडौं दोषी नहुने


– हेमशंकर सिंह

राजविराज । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश अब आर्थिक विकास र समृद्धितिर उन्मुख भएकाले सार्वजनिक, निजी साझेदारी र सहकारी क्षेत्रको सहभागितामार्फत देशको दिगो विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा सोमबारदेखि शुरु भएको २ नं. प्रादेशिक व्यापार मेला तथा दोश्रो सप्तरी महोत्सवको उदघाटन गर्दै प्रमुख प्रमुख कायस्थले सो कुरामा जोड दिनुभएको हो ।

आर्थिक समानता, समृद्धि र सामाजिक न्यायसहितको समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको भन्दै कायस्थले सक्षम, स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताउनुभयो । सप्तरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवले राज्यले लिएको नीतिमा टेवा पुग्ने गरी स्थानीय स्तरबाट यस प्रकारको महोत्सवको आयोजनले स्थानीय श्रम, सीप र साधनको अधिकतम उपयोगिता हुने विश्वास समेत व्यक्त गर्नुभयो । यस प्रकारको मेला र महोत्सवको आयोजनाबाट सीपको विकास भई रोजगारी तथा स्वरोजगारीतर्फ प्रेरित हुनुका साथै समग्र अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्न योगदान पुग्ने भएकोले कार्यक्रम अत्यन्त सराहनीयरहेको आफूले महसुस गरेको उहाँले बताउनुभयो ।

तराई मधेशको आदिवासी जनजाति सहितका समग्र जातजातिको सामाजिक तथा आर्थिक उत्थानका लागि सरकारी स्तरदेखि जनस्तरसम्मको संलग्नता अपरिहार्य रहेकोमा समेत उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले देश संघीयतामा गईसकेकाले अब काठमाडौलाई गाली गरेर पन्छिने अवस्था नरहेको बताउनुभयो । जानकी मन्दिरको भेटीबाट प्रदश २ चल्न नसक्ने भएकाले प्रदेशमा राज्य र निजी दुवै स्तरबाट उद्योग र व्यापार बढाउनुपर्नेमा उहाँले जोड समेत दिनुभयो । आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री साहले जय मधेशको नारा समेत लगाउनुभयो ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्रनारायण देवले आफैले विकास नगरे अरुले आएर विकास नगरिदिने चेतना जगाउन जरुरी रहेको भन्दै प्रदेशको विकास नभए अब काठमाडौ जिम्मेवार नहुने धारणा व्यक्त गर्नूभयो ।

प्रदेश नं. २ ऐतिहासिक र विकासको सम्भावना बोकेको स्थल हुनुका साथै भारतसँगको सिधा सम्पर्कमा रहेकाले यस प्रदेशको विकासका लागि पुराना मानसिकताबाट निस्केर नयाँ सोच विकसित गरि आफैबाट परिवर्तन ल्याउन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य संघ २ नं. प्रदेशका उपाध्यक्ष अशोक अग्रवालले बन्दका कारण विकास प्रक्रिया चर्मराउन पुगेको भन्दै संघियतामा आर्थिक विकास गर्न यस प्रकारको मेला र महोत्सवको आयोजन आवश्यक रहेको बताउनुभयो । प्रदेश नं. २ मा खेतीयोग्य जग्गा धेरै भएपनि कृषिको व्यवसायीकरण हुन नसकेकाले प्रदेश नं. २ का ८ जिल्ला पछिपरेको भन्दै कृषिको व्यवसायीकरणसँगै सिंचाईको समुचित व्यवस्थापन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले सप्तरीसँगै प्रदेश नं. २ का विकासका लागि औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी र सप्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शत्रुधन प्रसाद रौनियारले सप्तरीलाई विकासको बाटोमा अगाडी बढाउन महोत्सव सहयोगी सावित हुने धारणा व्यक्त गर्नुभयो ।

सप्तरी उद्योग वाणिज्य संघको अगुवाइमा संचालन हुन लागेको महोत्सव चैत ८ गते सम्म राजविराजको राजरंगशालामा चल्ने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारको १२० वटा स्टल रहनुका साथै वालवालिकाहरुको मनोरञ्जनसंगै प्रत्येक दिन सांस्कृतिक कार्यक्रम आयोजन गरिने जानकारी संघका बरिष्ठ उपाध्यक्ष शंकर दासले दिनुभयो ।

महोत्सवको उदघाटनपूर्व विभिन्न संस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरिएको थियो ।