वर्षदिनमा मास्क उन्मुलन गर्ने नै हो भने…

वर्षदिनमा मास्क उन्मुलन गर्ने नै हो भने…



– राजेन्द्रप्रसाद पाठक

प्राणी जगत्को समस्त सृष्टिमा मानवजीवनको महत्व अलग्गै छ । प्रकृतिले दिएको सुविधामा अपुग कुरालाई मानव मात्रले कृत्रिमता प्रदान गरी विभिन्न सुख–सुविधाका साधन निर्माण गरेर जीवनलाई सरस–सुुलभ बनाउन सक्ने सृष्टिको एक मात्र प्राणी भनेको मानव नै हो । ब्रह्माण्डको प्रणाली घुम्ने चक्रमा आधारित भएको पत्ता लगाइसकेपछि मानवले हरेक कर्म घुम्ने चक्रबाटै सम्पन्न हुने ठहर गरी घुमाउने यन्त्रको विकास गऱ्यो। सोही यन्त्रको विविध रूप नै आजको विकसित संसारले प्राप्त गरेको सर्वसुलभ सुविधा हो । त्यस्ता यन्त्र–उपकरणहरू सञ्चालनार्थ ऊर्जाको आवश्यकता पर्छ । सोही खपत भएको खनिज ऊर्जाको वातावरणीय व्यवस्थापन नै आजको मानव स्वास्थ्यको प्रमुख चुनौती बन्न पुगेको छ ।

पेट्रोलियम पदार्थद्वारा सञ्चालन हुने मोटर–गाडीलगायत जुनैसुकै मेसिन होस्, सबै यन्त्र–उपकरणका लागि खपत हुने ऊर्जाको शेष तत्व विभिन्न केमिकलयुक्त वायुको रूपमा हाम्रै पर्यावरणमा उत्सर्जन गर्ने भएका कारण त्यस्ता तत्वहरूले हाम्रो पर्यावरणलाई प्रत्यक्ष दुष्प्रभाव पार्नुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्दछ । यस्ता धुवाँमा मानव स्वास्थ्यलाई सीधै दुष्प्रभाव पार्ने कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइडजस्ता विषादियुक्त पदार्थहरू हुन्छन्, जसका कारण क्यान्सरजस्तो भयावह रोगको सामना गर्नुपर्ने हुन्छ । यसरी सुविधाका नाममा चलाइएका मिल–मेसिनरी र गाडी आदिबाट दिन–प्रतिदिन पर्यावरणको विनाश भइरहेको छ । विकसित देशहरूमा त यसको न्यूनीकरण र उचित व्यवस्थापनका लागि प्रविधिकै प्रयोग अनिवार्य गराइएको छ ।

तर, हाम्रोजस्तो अविकसित देशमा त्यसको वकालत कसले गर्ने ? शिक्षा, चेतना र आर्थिक अभावमा साधारण जनसमुदाय पिरोलिइरहेका छन् । केही हुनेखानेहरूका लागि मात्र सहज गरिएको यातायात र औद्योगीकरणको नीतिले सर्वसाधारणका लागि यी र यस्ता विषयमा सोच्ने फुर्सद नै पाइरहेको छैन । उच्च ओहोदामा बस्नेहरू विकासको चरम निर्माण हेर्न बेला–बेलामा विदेश भ्रमण त गर्छन्, तर त्यहाँ यी–यस्ता विकासका कारण उब्जिएका समस्याको समाधानचाहिँ कसरी गरिएको छ भन्ने कुरामा चासो राख्दैनन् या राखेर पनि नजरअन्दाज गर्छन् । यस्ता अपरिहार्य कुराको अध्ययन त परै जाओस् उल्टै विकृति–विसङ्गतिहरू मात्र अवलोकन गरी त्यसलाई टपक्कै टिपेर नेपाल भित्र्याउने काम यो वर्गले गरिरहेको महसुस हुन्छ ।

विशेषगरी गाडीलगायत यातायातका साधनले उत्पादन गर्ने धुवाँको उचित पर्यावरणीय व्यवस्थापनका लागि युरोप, अमेरिका, जापानजस्ता देशहरूले सकेसम्म विद्युतीय र सौर्य ऊर्जाको प्रयोगमा बढावा दिने नभए अत्याधुनिक उपकरणका माध्यमबाट प्रदूषित शेष ऊर्जालाई सीधै पर्यावरणमा जान नदिईकन मेसिनले फिल्टर गरी अक्सिजन वा नाइट्रोजनजस्तो अत्यावश्यक ग्यासमा परिणत गरेर मात्र पर्यावरणमा उत्सर्जन गर्ने प्रविधिको अनिवार्यताले मानव स्वास्थ्यलाई जोगाउने र मजबुत तुल्याउने गरिएको छ । सोही प्रविधियुक्त मेसिनलाई नाम दिइएको छ– क्याटालाइटिक कन्भर्टर ।

क्याटालाइटिक कन्भर्टर

गाडीको इन्जिनबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइडजस्ता विषादियुक्त धुवाँलाई अक्सिजन वा नाइट्रोजन ग्यासमा परिणत गरेर हावामा फाल्ने प्रविधि हो क्याटालाइटिक कन्भर्टर । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने धुवाँ क्याटालाइटिक कन्भर्टरको माध्यमबाट बोटबिरुवा र मानवलाई समेत असर नपर्ने हावा वा वाफमा परिणत भएर बाहिर निस्कन्छ । यो मेसिन र गाडीको साइलेन्सर पाइपमा फिट गरिन्छ । यो दुई प्रकारको हुन्छ– एउटाले विषाक्त ग्यासलाई नाइट्रोजन ग्यासमा परिणत गर्छ अर्कोले अक्सिजन वा पानीमा परिणत गर्दछ । त्यसैले त त्यस्ता विकसित देशमा अथाह वा असङ्ख्य गाडीहरू गुडिरहेका हुन्छन् र पनि प्रदूषण भने अत्यन्तै न्यूनस्तरमा भएको हुन्छ । यो फिल्टर प्रविधिले इन्जिनबाट आएका एचसी, हाइड्रो कार्बन, सिओ कार्बनमनोअक्साइड र एनओएक्स नाइट्रोजन अक्साइड ग्यासलाई पूर्ण फिल्टर गरी मानव स्वास्थ्यलाई हानि नहुने एचटुओ पानी, सिओटु कार्बनडाइअक्साइड र एनटु नाइट्रोजनमा परिणत गरेर बाहिर निकाल्छ । यसबाट प्रदूषित धुवाँका कारण हुने मानव स्वास्थ्यलाई पुग्ने प्रतिकूलता निकै हदसम्म कम हुन सक्छ ।

यस्तो मेसिनको मूल्य नेपालको सन्दर्भमा एक लाख पचास हजारदेखि तीन लाखसम्म पर्न सक्छ । लाखौँ–करोडौँ मूल्य तिरेर गाडी चढ्न सक्ने नेपालीलाई नीतिगत तवरले नै यस्ता अनिवार्य सर्तसहितको सुविधा प्रदान गर्न सकिएको खण्डमा पैदलयात्री तथा गाडीको सुविधाबिना जीवनयापन गर्न बाध्य ठूलो सङ्ख्याका नागरिकको स्वास्थ्य रक्षा हुने र पर्यावरणसमेत बिग्रनबाट जोगिन्छ । यसबाट आगामी पुस्ताका लागि हाम्रो शहरबजार पर्यावरणीय हिसाबले बस्नलायक बन्दछ । अन्यथा गाडी मेसिनको प्रयोग गर्न सक्ने सीमित व्यक्तिहरू त आ–आफ्नो औषधोपचार विदेशमा गराएर जीवन लम्ब्याउन सक्लान्, यस्ता केही प्रतिशत सुविधाभोगीले गरेका पर्यावरणीय दोहनकै जनसङ्ख्याको ठूलो हिस्साले भने आफ्नो गल्तीबिना नै अकाल मृत्युवरण गर्न बाध्य हुनेछन् ।

यसर्थ, हालको मन्त्रिमण्डलमा सामेल भएका आसलाग्दा वातावरणमन्त्री माननीय लालबाबु पण्डितलाई समेत जनताको तर्फबाट यो अत्यन्त उपयोगी वातावरणमैत्री साधनको नीति–नियमसंगत अनिवार्यता कायम गरी बिग्रँदो वातावरणलाई सुधार गरी हाम्रो शहरलाई मानव स्वास्थ्यमैत्री बनाउनुहुनेछ भन्नका खातिर यो सुझावपत्र समस्त तीन करोड जनताको तर्फबाट सम्प्रेषण गर्दछौँ । यति मात्र होइन, खाद्य र कृषि प्रविधिमा हुने विषादीको नियन्त्रण, प्लास्टिकजन्य उत्पादन र वितरणमा रोक, फोहोरी ऊर्जाको प्रयोगमा नियन्त्रणका साथै वृक्षरोपण र यत्रतत्र फोहोर हुनबाट रोक लगाई गाडीबाट उत्सर्जन हुने धुवाँलाई फिल्टर गर्ने मेसिनको अनिवार्यताले मात्र हाम्रो मानवबस्ती बस्न या जिउनलायक हुन्छ ।