चलचित्र ‘उल्झन’ले सम्झायो परदेशी विगत

चलचित्र ‘उल्झन’ले सम्झायो परदेशी विगत



डिल्लीराम अम्माई

युरोप खासगरि लन्डन, फ्रान्स, बेल्जियम र नेपालका विभिन्न स्थानको सांस्कृतिक, ऐतिहासिक, भौगोलिक र पर्यटकीय स्थलहरूमा गरिएको अभिनय कलाले मन साँच्चिकै लोभ्यायो ।

निर्देशक राजु अधिकारी, नायिका रजनी केशी, नायक बेनी ढुंगाना, हरि कार्की, तेजेन्द्र कंडेल लगायत कलाकारहरूसँग बसेर चलचित्र हेर्दै अभिनयका सवल र दुर्वल पक्षहरूबारे बहस समेत गर्न अवसर जुर्यो ।

प्रदेशमा भोगिएका असहज भोगाइहरूले निम्त्याएको उल्झन र त्यसले नेपालमा रहेकी श्रीमतीलगायत आफन्तहरूमा पर्न गएको असहज मनोविज्ञानलाई यो चलचित्रले निशंकोच स्पष्ट पारेको उक्त फिल्मको कमजोर पक्षचाहिँ डबिङमा दर्शाइएको असावधानी हो भन्नैपर्छ । किनकि, केही कलाकारले आफ्ना डाइलग अरुबाट अभिव्यक्त गराउन खोज्दा आवाज र ओठको तालमेल नमिलेको स्पष्टै देख्न सकिन्छ ।

नेपालमा रहेकी नायिकाको केटा साथी ध्रुवदत्तको अभिनय प्रशंसा गर्न लायक नै छ भने दिनेश शर्मा, रामचन्द्र बा र हरि कार्कीको अभिनय मिठो छ ।
आशुतोष फिल्म्स प्रालिको ब्यानरमा निर्मित यो चलचित्रका पटकथा र सम्वाद मौनता श्रेष्ठ, आरती अधिकारीले तयार पारेकी हुन् । क्यामराम्यान लक्ष्मण घिमिरे र रविन्द्र बरालले बेल्जियमको प्रसिद्ध मास म्युजियम, क्याथ्रेडल, स्खिल्द लगायत गाउँ र शहरिया जीवनको परिवेशलाई मिक्स गरेर कलाको जलप दिएका छन्, जसलाई नेपालको अत्यन्त भिन्न परिवेश र अवस्थाबीच एकैसाथ तालमेल मिलाउने प्रयत्न गरिएको देखिन्छ । फिल्मको दृश्य हेरेपछि क्यामराम्यानलाई विशेष धन्यवाद भन्न करै लाग्छ ।

त्यो कठिन कार्यलाई क्यामराम्यानसँगै नायिका रजनी र नायक ध्रुवदत्तले सफलतामा टुङ्ग्याउन कठिन मेहनत गरेका देखिन्छ । बेल्जियमका ब्यवसायी हरि कार्की, नारायण ढुंगाना र नवीन अधिकारीको लगानीमा निर्माण गरिउको उक्त चलचित्र करिब सत्तरी लाखको लागतमा निर्माण गरिएको हो । त्यसमा स्ट्रात आन्त्वेर्पेंन, नेपालको बन्दीपुरको लोकेसनलाई मुख्य रुपमा देखाइएको छ । जसमा अन्जु पन्त, दिनेश गौतम, संजय तुम्रणका मिठा गीतले फिल्मी तनावको सन्तुलन मिलाउने काम गरेको छ ।

उक्त चलचित्रको पहिलो प्रदर्शनी बेल्जियमकै एक हलमा भएको थियो । पूर्वनायिका तथा कलाकार संघ बेल्जियमी अध्यक्ष पार्वती अधिकारीले सोको उदघाटन गरेकी थिइन् ।