पन्ध्र सय लोहजारावासीसँगै बसेर मन्त्री र सचिवले हेरे ‘राज्जा रानी’

पन्ध्र सय लोहजारावासीसँगै बसेर मन्त्री र सचिवले हेरे ‘राज्जा रानी’


हेमशंकर सिंह, राजविराज

नेपालमा सम्भवतः पहिलोपल्ट घुम्ती सिनेमामा फिचर फिल्म प्रदर्शन गर्ने अभियानको आरम्भ सप्तरी तिरहुत गाउँपालिकाको लोहजारा गाउँबाट भएको छ । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र सोही मन्त्रालयका सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ गत शनिबार भएको हो ।

लोहजारा गाउँका १५०० भन्दा बढी जनसमुदायले ठुलो पर्दा र गुणस्तरीय साउण्ड सिस्टमसहित घुम्ती सिनेमाको पहिलो शोमा आफ्नै गाउँटोलमा राज्जा रानी मैथिली सिनेमा हेर्न पाएका छन् । सामाजिक विकासमन्त्री साहले ल्याटपमा क्लिक गरेर राज्जा रानी मैथिली सिनेमाको पहिलो घुम्ती शोको शुभारम्भ गरे ।

प्रदेश नम्बर २ र १ का मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँगाउँमा घुम्ती सिनेमा सञ्चालन गरिन लागिएको उक्त सिनेमाका निर्माता तथा निर्देशक रामकुमार महतोले जानकारी दिए ।

निर्देशक महतोले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिचर फिल्म रज्जा रानी सुगमदेखि दुर्गममा बसेका तथा सम्पन्नदेखि विपन्नसम्मको पहुँचमा पुर्याउन घुम्ती सो शुरु गरिएको बताए ।

सिनेमाहलको पहुँचबाट टाढा रहेकाहरूलाई सिनेमा देखाई मनोरञ्जनमार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको अभियानमा योगदान गर्नुका साथै नेपाली सिनेमाको बजार विस्तारमा मद्दत पुर्याउनु आफुहरूको उद्देश्य रहेको उनको कथन थियो ।

मैथिली सिनेमाप्रति आम जनसमुदायको चासो र भोक जगाउनुका साथै भोलीको दिनमा गुणस्तरीय मैथिली सिनेमा निर्माण गर्न र सफल व्यापार गर्न अनि राज्जा रानी मैथिली सिनेमाको घुम्ती सिनेमामार्फत गाउँगाउँमा महिला पुरुषबीचको दाइजो तथा महिला हिंसाविरुद्धको अभियानमा व्यापक जनचेतना फैलाउनु शोको उदेश्य रहेको बताइएको छ ।

उक्त सो प्रदेश नम्बर १ र २ का मोरङदेखि पर्सासम्मका १० जिल्ला मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गाउँ–गाउँमा घुम्ती सिनेमा सञ्चालन गरिने छ । प्रत्येक जिल्लाका ६ देखि ८ स्थानलाई केन्द्र बनाई घुम्ती सिनेमा सञ्चालन गरिने छ । हरेक एक स्थानमा ३ देखि ५ शो सिनेमा प्रर्दशन गरिने छ ।

प्रत्येक शोमा ३०० देखि ४०० दर्शकलाई व्यवस्थित ढंगले टोलमै पुगेर सिनेमा देखाइने लक्ष्य रहेको आयोजकले जनाए । सिनेमा प्रदर्शनमा प्रतिटिकट रु पचास रुपैयाँ प्रतिब्यक्तिबाट उठाउने व्यवस्था गरिएको छ । घुम्ती सिनेमा प्रदर्शनमा १० फिट र ८ फिटको प्रोजेक्टरको पर्दा र ४००० लुमेन्स फुल एचडी प्रोजेक्टर र दुई वटा हाई भलुमको साउन्ड सिस्टमको प्रयोग गरी गाउँस्तरको घुम्तीमा सजिलो हुने गरी उच्चतम गुणस्तरमा सिनेमा प्रदर्शन गरिने बताइन्छ ।

दाइजोपीडितको सत्य घटनामा आधारित भएर निर्माण गरिएको गुणस्तरीय, मनोरन्जनात्मक र सन्देशमुलक सिनेमा हो ‘राज्जा रानी’ । नेपालको इतिहासमै पहिलोपल्ट दुई भाषा नेपाली र मैथिलीमा उक्त चलचित्र निर्माण गरिएको छ । समाज परिवर्तनमा चलचित्र महत्वपुर्ण माध्यम रहेको तथ्यलाई मध्यनजर गर्दै भोर कम्पनीले सिनेमालाई मैथिली भाषामा पनि तयार गर्ने निर्णय गरेको बुझिएको छ ।

चलचित्रमा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापानिर्देशित सो फिल्मको सम्पुर्ण छायांकन बाँके जिल्लामा गरिएको हो । सत्य घटनामा आधारित दाइजो र महिलाविरुद्ध हिंसा प्रमुख कथा रहेको राज्जा रानी लाई रमेश एमके पौडेल र राजकुमार महतोले निर्माण गरेका हुन् ।

उक्त चलचित्रको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनी प्रा.लि.ले राज्जा रानी मैथिली सिनेमाको पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्ने अभियानमा खर्च गरिने निर्णय गरेको छ । चलचित्रबाटबाट आउने पुरै मुनाफा बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानअन्तरगत तराईका जिल्लामा रहेका अति विपन्न परिवारका बालिकाहरुको शिक्षामा मितव्ययी तथा पारदर्शी तवरले सहयोग प्रयोग गरिने बताइएको छ । यसैगरी वीरगंजदेखि विराटनगरसम्मका कोरीडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रर्वद्धन र सुदृढिकरणमा समेत उक्त चलचित्रको मुनाफा खर्च गरिने छ ।