धरानमा सवा अर्ब लगानीको डिपार्टमेन्ट स्टोर

धरानमा सवा अर्ब लगानीको डिपार्टमेन्ट स्टोर


– मनिता चाम्लिङ, धरान

पूर्वाञ्चलकै पहिलो डिपार्टमेन्ट स्टोर ‘गोर्खा डिपार्टमेन्ट स्टोर’ले आफ्नो पाँचौ शाखाको रुपमा धरानबाटसेवा शुरु गरेको छ । शनिबार धरान-८ धनकुटे रोडस्थित आफ्नै स्टोरमा आयोजित एक समारोहका बीच धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाले स्टोरको उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा नगर प्रमुख सुब्बाले निजी क्षेत्रको सहभागिता विना धरान सरकारले केही गर्न नसक्ने बताउदै धरानमा यस्ता ठुलाठुला व्यापारिक प्रतिष्ठानहरु अझै खोलिनुपर्ने बताए । उनले धरानमा जति धेरै व्यापारिक प्रतिष्ठानहरु खुल्छन् त्यो धराने जनताका लागि रोजगारीको विषय भएकाले व्यापारिक प्रतिष्ठानहरुको सुरक्षाको लागि धरान सरकार सदैव संवेदनशील रहने बताए ।

सोही क्रममा गोर्खाका संचालक बलराम आचार्यले २०५६ सालमा इटहरिबाट पूर्वाञ्चलमा नै पहिलोपटक संचालनमा ल्याएको गोर्खा डिपार्टमेन्ट स्टोरले स्थापनाको १८औ प्रवेशको तयारीमा पाँचौ शाखाको रुपमा धरानबाट पनि सेवा शुरु गरेको बताए । उनले सर्वसाधारण उपभोक्ता ग्राहाकहरुलाई आवश्यक पर्ने दैनिक घरायसी उपभोग्य सामाग्रीहरुका साथमा अन्य ६ लाख भन्दा बढी प्रकारका सामानहरु एउटै छानामुनीबाट सर्वसुलभ रुपमा उपलब्ध गराएकोे जनाए ।

गोर्खाले ग्रोसरी सामानका साथमा किचन आईटम, बेकरीका आईटम, शुद्ध पानी र दुग्धजन्य पदार्थको उत्पादनगरी विक्री वितरण गरिनुका साथै सिजन अनुसारका अन्तर्राष्ट्रिय ब्राण्डका कपडासमेत उपलब्ध गराएको छ ।

कुल १ अर्ब २५ करोडको लागतमा संचालनमा आएकोे यस स्टोरले स्थानिय उपभोक्ताहरुको आवश्यक्ता चाहना र मागलाई पुरा गर्ने अपेक्षा लिएको स्टोरले जनाएको छ। यस स्टोरले दैनिक उपभोग्य सामानका साथमा सुविधा सम्पन्न दुईवटा स्तरीय मल्टिप्लेक्स सिनेमा हलपनि संचालन गर्न धमाधम कन्ट्रक्सनका काम गरिरहेको छभने दुईवटा सेमिनार हल र बैंकट हल संचालनमा ल्याएको छ ।

यसैगरी गोर्खा डिपार्टमेन्ट स्टोरले एकै पटकमा १ सय जनाले एकैपटक खाना खान मिल्ने गरी किचनको पनि सेवा दिएको छ। धरानको बजार साँघुरिदै गईरहेको बेला यस स्टोरले पार्किङको अभावलाई महशुस हुन नदिन ७५ वटा साना गाडी र १२ सय मोटर साईकल एकै साथ पार्किङ गर्ने क्षमताको पाकिङको व्यावस्था समेत गरेको छ ।

यस स्टोरले अहिले सम्म इटहरी, विराट चौक, पथरी र दमकमा गरी ११ सय व्यक्तिलाई रोजगारी दिईसकेको छभने धरान शाखामा मात्र २५० जनाले रोजगारी पाएको स्टोरका संचालक आचार्यले बताए । यस स्टोरले आफ्नो संस्थालाई शाखा विस्तार गर्ने क्रममा व्यावसायिक विस्तार मात्रै नगरी धरानको समग्र सामाजिक विकाश अभियानमा समेत प्रत्यक्ष एवं परोक्ष रुपमा सहभागिता जनाउने समेत संचालक आचार्यले बताए ।