नेपालमा बेरोजगारी : कारण, परिणाम र समाधानका उपाय

नेपालमा बेरोजगारी : कारण, परिणाम र समाधानका उपाय


– चन्द्रभूषण साह

सामान्यतया कुनै पनि काम गर्न योग्य व्यक्ति काम गर्ने इच्छा र तत्परता देखाउँदासमेत उसले काम गर्ने अवसर प्राप्त गर्दैन भने त्यसलाई बेरोजगार भनिन्छ । अर्को शब्दमा भन्ने हो भने शारीरिक तथा मानसिक रूपमा काम गर्न सक्षम उमेर पुगेका भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनिन्छ । वर्तमान समयमा नेपालका विभिन्न समस्यामध्ये बेरोजगारी समस्यासमेत एक प्रमुख समस्याको रूपमा विद्यमान रहेको पाइन्छ ।

नेपालको श्रमबजारमा प्रतिवर्ष चार लाखभन्दा बढी नयाँ युवा श्रमबजारमा प्रवेश गर्छन् । तर, दुर्भाग्य, हाम्रो नेपालको रोजगारी वृद्धिदर ३.२५ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैधानिक रूपमा श्रम स्वीकृति लिएर मात्रै प्रतिदिन करिब एक हजारदेखि पन्ध्र सय युवा रोजगारीको सिलसिलामा विदेश जान्छन् र प्रतिदिन लगभग तीनदेखि दशवटा लास बाकसमा भित्रने गर्दछ । ‘बिदेसिनु रहर होइन बाध्यता हो’ भन्ने युवा जमातका लागि बेरोजगारी समस्या अभिशापतुल्य भएको पाइन्छ । नेपाली श्रमिक विदेशी भूमिमा गएर थ्रीडी (डर्टी, डिफिकल्ट एन्ड डेन्जरस) काम गर्न बाध्य भएको पाइन्छ । ०७१ मा अर्थ मन्त्रालयले दिएको तथ्याङ्कअनुसार उच्च शिक्षा बेरोजगारीको प्रतिशत २६.१५ रहेको पाइन्छ । जसको परिणामस्वरूप बौद्धिक पलायन (ब्रेनड्रेन)को समस्या सहजै देख्न सकिन्छ ।

बेरोजगारीका प्रमुख कारण :

– उच्च जनसङ्ख्या वृद्धिदर : नेपालमा उच्च जनसङ्ख्या वृद्धिदर लगभग २.३५ प्रतिशत रहेकाले पुराना बेरोजगारलाई रोजगारीको अवसर सिर्जना हुन नपाउँदै नयाँ बेरोजगारहरू श्रमबजारमा प्रवेश गर्दछन् । फलस्वरूप बेरोजगारी समस्या थप विकराल बन्न पुग्छ ।

– मुद्रास्फीति र मन्दी : मुद्राको क्रय शक्तिमा आएको ह्रास र विभिन्न कारणले गर्दा व्यापार–व्यवसायमा आएको मन्दीको प्रभावले गर्दा नयाँ रोजगारी सिर्जनामा कमी तथा पुरानो रोजगारीका अवसरसमेत सङ्कटमा पर्ने भएकाले बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ ।

– सुस्त व्यापार वृद्धि : हाम्रो मुलुकमा व्यापार–व्यवसायको वृद्धिदर अन्य विकसित मुलुकको तुलनामा निकै कम रहेको पाइन्छ । त्यसको परिणामस्वरूप उच्च दरमा रोजगारीको अवसर सिर्जना हुन पाउँदैन र बेरोजगारी समस्या उत्पन्न हुन पुग्छ ।

– प्रविधिको प्रयोग : आधुनिकीकरणको प्रभावले गर्दा स–सानादेखि ठूला–ठूला उद्योगहरूमा मानवको सट्टा प्रविधिको प्रयोगमा जोड दिनुसमेत बेरोजगारी समस्याको एक प्रमुख कारण हो ।

– मौसमी रोजगार : नेपाल कृषिप्रधान देश भएको कारणले यसमाथि निर्भर अधिकांश व्यक्ति तथा परिवार मौसमी बेरोजगारीका सिकार हुन पुगेका छन् ।

– पुँजी अभाव : केही सक्षम र स्वावलम्बी युवा स्वरोजगार तथा अरूहरूका लागि समेत रोजगारीको सिर्जना हुने उद्यमशील कार्यको थालनी गर्न आवश्यक एकीकृत पुँजीको अभाव तथा युवा वर्गमा पुँजीको प्रबन्ध गर्न सक्ने अक्षमताको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ्र ।

– कमजोर शैक्षिक गुणस्तर : हाम्रा विश्वविद्यालयले उत्पादन गर्ने श्रमशक्ति सिद्धान्तमा अब्बल भए तापनि प्राविधिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानको कमीले गर्दासमेत बेरोजगारी समस्या देखापर्दछ ।

– सीप तथा दक्षतामा बेमेल : हाम्रो श्रमशक्तिसँग विद्यमान परम्परागत सीप तथा दक्षता र त्यसैगरी अन्य मुलुकमा सिकेका सीप तथा दक्षताअनुसारको अवसर नेपाली श्रमबजारमा उपलब्ध नहुनु दुर्भाग्यको विषय बन्न पुगेको छ । उपलब्ध सीप तथा दक्षताअनुसारको उद्यमशीलता नहुनु बेरोजगारी समस्याको कारण बन्न पुगेको पाइन्छ ।

– सुशासन र कुशल नेतृत्वको कमी : हाम्रो समाजमा मौलाएको चरम भ्रष्टाचार तथा अक्षम र गैरजिम्मेवार नेतृत्वको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ । मानव संसाधनको मूल सिद्धान्त ठीक व्यक्ति ठीक समयमा ठीक ठाउँमा हुनुपर्नेमा अन्यथा भई अर्थतन्त्रमा पर्न गएको भ्रष्टाचार तथा कुशासनको प्रभावले गर्दा सिङ्गो श्रमबजार प्रभावित भई बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ ।

– परनिर्भरता : एउटा भनाइ नै छ, ‘आफूमा भर परे सबलता र अरूमा भर परे कमजोरी’ भन्नेझैँ हाम्रो श्रमबजार अन्य मुलुकप्रति निर्भर छ जसले गर्दा केही सम्भावना बोकेका श्रमशक्ति विदेश पलायन हुने भएकाले नयाँ अवसर सिर्जना हुन सकेको छैन, फलस्वरूप देशभित्र बेरोजगारी समस्या समाधान हुन सकेको छैन ।

– प्रविधिमा तरलता : पुराना सीप र क्षमता भएका व्यक्तिलाई प्रविधिको क्षेत्रमा हुने नवीन परिवर्तन, आविष्कार तथा विासको प्रभावले गर्दासमेत बेरोजगारी समस्या उत्पन्न हुन पुग्छ ।

– श्रमको दर्जा : विदेशमा शौचालय सफा गर्न तत्पर व्यक्ति नेपालमा फोहोर व्यवस्थापन तथा सरसफाइ गर्नसमेत आनाकानी गर्नु हाम्रो समाजको श्रमप्रतिको हेर्ने श्रेणीगत दर्जा प्रवृत्ति नै प्रधान रहेको पाइन्छ । स्वाभिमान र प्रतिष्ठाका कारण धेरै जनशक्ति बेरोजगार हुन पुगेको छ जसको नकारात्मक चक्रीय परिणाम सिङ्गो श्रमबजार भोग्न बाध्य छ ।

– उद्योगहरू टाट पल्टनु : सरकारी तथा निजी स्तरबाट सञ्चालित व्यापार–व्यवसाय तथा उद्योगहरू एकाएक टाट पल्टनु तथा धमाधम बन्द हुनु बेरोजगारी समस्याका कारण बन्न पुगेको छ ।

– राजनीतिक अस्थिरता : हरेक नीतिको मूल नीति मानिने राजनीति पछिल्लो केही दशकदेखि नेपालमा राजनीतिक व्यवस्था निरन्तर परिवर्तन भए तापनि त्यसमा संस्थागत स्थायित्व र स्थिरता नभएको कारण आन्तरिक तथा बाह्य पुँजी परिचालनमा डर तथा त्रासको अवस्था सिर्जना भएको पाइन्छ । लगानीकर्ताको जनधनको कुनै पनि सुरक्षाको ग्यारेन्टी नहुनु दुर्भाग्यपूर्ण अवस्था मान्न सकिन्छ । विद्यमान राजनीतिक खिचातानी, आन्तरिक कलह, अविश्वास र आन्दोलनको प्रभावले गर्दासमेत श्रम बजारमाथि नकारात्मक असर पुगेको पाइन्छ ।

– चक्रीय बेरोजगार : बेरोजगारीले आम्दानीमा भएको कमिको कारण समग्र अर्थतन्त्रमा पर्न गएको नकरात्मक प्रभावको चक्रीय परिणामको रूपमा बेरोजगारी समस्या झन्-झन् बढ्दै गएको पाइन्छ ।

बेरोजगारी समस्याका परिणाम :

– गरिबी : यस समस्याले आम्दानीको मार्ग अवरुद्ध गर्ने भएकोले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गई व्यक्ति, परिवार र सिङ्गो समाज नै गरिबीको चक्रव्युहमा फस्न बाध्य हुन्छन् ।

– बिरामी र निराशा : यस समस्याको प्रभावले व्यक्ति तथा समाजमा निराशा उत्पन्न हुन्छ । जसको फलस्वरूप मानिस शारीरिक तथा मानसिक रूपमा बिमार हुन पुग्दछ ।

– अपराधमा वृद्धि : यस समस्याले गर्दा समाजमा चन्दाआतङ्क, आत्महत्या, अपहरण, हत्या–हिंसा, चोरी–तस्करीजस्ता जघन्य अपराधमा वृद्धि हुन पुग्दछ ।

– ब्रेनड्रेन : यस समस्याको प्रभावले गर्दा युवाको सोच र शक्ति खाडी तथा अन्य मुलुकमा गएर रित्तिन्छ । हाम्रो श्रमशक्ति विदेशी भूमिमा गएर डिफिकल्ट, डेन्जर र डर्टी काम गर्न बाध्य हुन्छ । जसको परिणाम देशमा युवा शक्तिको ठूलो अभाव देखापर्छ ।

– कुलत एवम् दुव्र्यसनी : यसको प्रभावले गर्दा मूलतः युवा श्रमशक्ति जाँडरक्सी, गाँजा, चरेस, सुर्तीजन्य पदार्थको सेवन, वेश्यालयमा देहव्यापारजस्ता कुलत एवम् दुव्र्यसनको सिकार हुन पुग्छन् ।

– आर्थिक वृद्धिमा कमी : यसको प्रभावले आम्दानीमा कमी (क्रयशक्तिमा कमी) बजार मागमा कमी, व्यापारमा कमीको चक्रीय प्रभावले गर्दा समग्र आर्थिक वृद्धिमा कमी ल्याउन पुग्दछन् ।

– राजनीतिक अस्थिरता : ‘खाली दिमाग सैतानको बास’ भनेझैँ बेरोजगार श्रमशक्तिहरूको प्रभावले गर्दा देशमा सानोतिनो कुरामा समेत अनिश्चितकालीन धर्ना, आन्दोलन, चक्काजाम, तोडफोडजस्ता अन्य विभिन्न गतिविधिको कारण राजनीतिक अस्थिरता निम्त्याएको पाइन्छ ।

बेरोजगारी समस्याका समाधान :

– कृषि र उत्पादनमा जोड : नेपाल कृषिप्रधान देश भएकाले निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउन तथा उत्पादनमूलक उद्योगमा विशेष जोड दिई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।

– जनसङ्ख्या नियन्त्रण : तीव्र रूपमा बढ्दै गइरहेको जनसङ्ख्यालाई सन्तुलित गर्न जनसङ्ख्या शिक्षामा जोड र परिवार नियोजनका अस्थायी तथा स्थायी साधनको प्रयोगबाट आदर्श एवम् सन्तुलित आकारको जनसङ्ख्यालाई रोजगारीको अवसर प्रदान गर्न सजिलो हुनेछ ।

– गुणस्तरीय शिक्षा : व्यवसाय तथा रोजगारमूलक गुणस्तरीय शिक्षाको प्रभावले बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

– पुँजीको प्रबन्ध : ससाना हिस्सामा रहेको पुँजीलाई एकीकृत गरी राम्रो किसिमको रोजगारी सिर्जना हुने कार्यको थालनी गर्नुपर्ने देखिन्छ । साथसाथै राज्यले युवावर्गलाई व्यवसायी तथा स्वरोजगार बन्नका लागि पुँजी निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । खर्चमा भन्दा पुँजी निर्माण र लगानीमा जोड दिन सकेमा समेत बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ ।

– ग्रामीण विकास : नेपालको अधिकांश श्रम अवसर शहरकेन्द्रित हुने भएकाले ग्रामीण क्षेत्रको विकासमा जोड दिई थप रोजगारीको अवसर सिर्जना गरी समस्या समाधान गर्न सकिन्छ ।

– लगानीमैत्री वातावरण : यस कार्यको थालनीबाट लगानीकर्ता उत्साहित भई विभिन्न बहुराष्ट्रिय कम्पनीले नेपालमा नै उत्पादनदेखि अन्य व्यावसायिक गतिविधिको थालनी गर्न पुग्नेछन् भने देशभित्र तथा बाहिरबाट नयाँ लगानीको थालनी हुने भएकाले बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।

– रोजगारीमूलक कार्यक्रमलाई प्राथमिकता:
पुनर्निर्माण, सडक–यातायात, बाढी नियन्त्रण, उत्पादनजस्ता रोजगारीमूलक क्षेत्रलाई प्राथमिकताका साथ बढाउने कार्यनीति लिएर अघि बढ्न सकेमा समस्या समाधानमा टेवा पुग्नेछ ।

– सीपमूलक तालिम : उपलब्ध श्रमशक्तिलाई समय–समयमा निरन्तर रूपले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सीप र प्रविधियुक्त तालिमको प्रबन्धबाट बेरोजगारी समस्या समाधान गर्न मद्दत पुग्नेछ ।

– सीप तथा दक्षता मिलान : खाडी तथा अन्य मुलुकमा रहेको श्रमशक्तिसँगको सीप र दक्षताअनुसारको व्यावसायिक गतिविधि स्वदेशमै सञ्चालन गरी विदेशमा रहेको श्रमशक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिन्छ ।

– तीव्र औद्योगीकरण : तीव्र औद्योगीकरण गर्नका लागि ठूलो मात्रामा श्रमशक्तिको जरुरी पर्ने भएकोले बेरोजगारी समस्या समाधान मद्दत पुग्नेछ ।

– श्रमलक्षित : प्रविधिभन्दा मानवीय श्रमको प्रयोगबाट उत्पादन एवम् सेवा प्रवाहमा जोड दिन सक्यो भने बेरोजगारी समस्या समाधानमा सहयोग पुग्नेछ ।

– नीतिमा सुधार : रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति तथा व्यवसायलाई न्यून ब्याजदरमा ऋण सेवा, न्यून कर तथा ग्रामीण र दुर्गम क्षेत्रमा कारोबार सञ्चालन गर्नेलाई विशेष प्राथमिकता र सहायताको नीति लिएरसमेत बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिन्छ ।

– युनियनको अधिकारमा नियमन : अनावश्यक सिन्डिकेट, बन्द–हडताल, धर्ना, कामचोरी, दादागिरी र धाकधम्कीजस्ता गैरजिम्मेवारपूर्ण कार्यलाई निरुत्साहित गर्ने तथा श्रमिकको सीधा सम्पर्क मालिकसँग स्थापित गर्न श्रम युनियनको अधिकारमा नियमन गरी स्वच्छ श्रम सम्बन्ध कायम गरी थप रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।

– सुशासन र कुशल नेतृत्व : सुशासित सेवा प्रवाह, स्थिर राजनीतिक अवस्था र कुशल नेतृत्वको कारण अर्थतन्त्रमा पर्न गएको सकारात्मक प्रभावले बेरोजगारी समस्या नियन्त्रण गर्न सहयोग पुग्नेछ ।