महिला दिवसको मौकामा चारबुँदे संकल्प प्रस्ताव पारित

महिला दिवसको मौकामा चारबुँदे संकल्प प्रस्ताव पारित


– डिल्लीराम अम्माई/बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको महिला फोरमद्वारा आयोजित १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस यहि मार्च ८ को दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा एक अन्तरक्रियात्मक सभा गरी सम्पन्न भएको छ । ‘लैंगिक समानता र प्रगतिका लागि दवाब’ भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ महिला फोरम बेल्जियमकी सचिव मुना ताम्राकारले गरेकी थिइन् ।

कार्यक्रमको सभापतित्व संघकी महिला फोरम अध्यक्ष हरि भट्टराईले गरेकी थिइन् भने कार्यक्रममा नेपाली दुतावास बेल्जियमकी नानु अधिकारी थापा प्रमुख आतिथि रहेकी थिइन् । त्यस्तैगरि विशेष अतिथि एनआरएनएकी केन्द्रिय सचिव जानकी गुरुङ र अतिथिहरुमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल ,आइसीसी सदस्य सरु चापागाईं, लिला शर्मा मानन्धर, पदम गुरुङ, जन सम्पर्क समितिका अध्यक्ष सिता सापकोटा, प्रवासी महिला मंचबाट झुना निरौला,मुना राइ,इशा गुरुङ, गीतकार तथा भूपू महिला फोरमकी उपसंयोजक यासु थापा लगायत थुप्रै महिला नेतृहरुले कार्यक्रममा आफ्ना विचारसहितका राय दिएका थिए। विशेष धन्यवादसहित कार्यक्रममा सहयोगीहरुको नाम समेत पढेर सुनाइएको थियो।

राष्ट्रिय गानबाट सुरु भएको औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र विशेष अतिथि तथा सभापतिद्वारा संयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो । एक मिनेट महिला शहिदहरुको सम्झनामा मौन धारण गरि शुरु भएको कार्यक्रममा सदस्यसचिवले सबै जनसमुहलार्इ स्वागत गरेकी थिइन् भने एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिएका थिए।

कार्यक्रममा वाम महिला नेत्रीहरु कल्पना मगर, सुष्मा भुसाल, निर्मला बजगाईं लगायतले महिला स्वतन्त्रता संग्राम र त्यसको गौरबपूर्ण इतिहासबारे आफ्नो धारणा राखे भने कार्यक्रमकी सभापति हरि भट्टराईले अन्तरक्रियाको निचोडस्वरुप चारबुँदे बेल्जियम घोषणा जारी गर्दै कार्यक्रमको समापन गरिन्।

यस्तो छ चारबुँदे घोषणा-

‘यस गरिमामय सभामा हामीले गर्न अत्यान्त जरुरी, अति आवश्यक र हामीले नै पहल गर्नुपर्ने भावी केही कार्ययोजना अझ भनौ हामीले भावी कार्यको लागि घोषणाको मुलभुत सार खिचेका छौँ । यदि यी काम हामी महिलाले मात्र गर्नुपर्ने कार्य हुन्, यी काम महिलाको सर्वथा हितमा छन्, आज उपयुक्त समय पनि हो, यी काम हाम्रो गरिमा र हाम्रो आत्मा स्वाभिमानसंग जोडिएको तपाइहरुले पाउनुहुन्छ भने कृपया यसमा तपाइको सहमतिस्वरुप हस्ताक्षर गरिदिनु होला । आफु आबद्ध संगठन वा संस्था वा फोरमको नामसहित आफ्नो ठेगाना पदिय उपस्थिति खुल्ने गरेर इमेल सहित राखिदिनुहोला । यी बुँदाहरु पढ्नुस, मनन गर्नुस र समग्र महिलाको हितमा छन् भने सहमति दिनुस प्रिय साथीहरु,

यो प्रतिबद्धता पत्रको नाम ‘८ मार्चको अवसरमा बेल्जियमका महिलाहरुद्वारा जारि ४ बुँदे संयुक्त घोषणापत्र २०१८’ रहने छ।

१. सम्पुर्ण बैचारिक,जातिय र क्षेत्रीय भावनालाई समेट्ने गरि अन्तरास्ट्रिय नारि दिवस मनाउनको लागि आगामी प्रत्येक वर्षहरुमा जनवरी भित्रै तयारि समिति वा त्यस्तै संयन्त्र बनाएर बक्तित्वकला, निबन्ध, कबिता वा त्यस्तै प्रतियोगिता गर्दै नारि दिवसलाई महोत्सब कै रुपमा मनाउने ।

२. बेल्जियममा रहेका सम्पूर्ण संघ संस्थाहरु चाहे ति बैचारिक हुन् वा सामाजिक अथवा जातिय ५० प्रतिशत महिला सहभागिता र प्रतिनिधित्वको लागि आ(आफ्नो ठाउबाट ससक्त आवाज उठाउने र सो अनुसारको तयारिमा महिला नेत्रीहरुले पहलकदमी आफ्नो हातमा लिने ।

३. बेल्जियम भित्र विभिन्न किसिमले उत्पिडनमा परेका महिलाहरुलाई सहयोग गर्न तुरुन्त संयुक्त एक्सन कमिटि बनाउने र समस्याको पहिचान र निराकरणको लागि आफैले नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

४. नेपालमा उत्पिडनमा परेका वा यौनजन्य हिँसामा परेका वा स्वास्थ्य समस्यामा परेका सिमान्तकृत महिला तथा बालबालिकाको लागि उठाउँदै आएको प्रतिमहिला प्रतिमहिना १ युरो अभियानलाई निरन्तरता दिने ।