जेरार्डलाई लगाइन् साकिराले बन्देज

जेरार्डलाई लगाइन् साकिराले बन्देज


एउटा समय थियो, त्यसबेला विश्वका युवाहरूको मुटुको ढुकढुकी थिइन् उनी । आफ्नो सुरिलो स्वर र नौलो नृत्य प्रस्तुतिले उनी रातारात चर्चाको शिखरमा पुगेकी थिइन् । ‘ह्वेन इभर, ह्वेन इभर’ बोलको गीत र जसमा उनले गरेको कामुक नृत्यले उनलाई प्रसिद्धिको चुचुरोमा पुऱ्याएको थियो । त्यसपछि उनलाई प्रेमको प्रस्ताव राख्ने र ‘आई लभ यू’ भन्नेहरूको लर्को करोडौँको सङ्ख्यामा पुगेको थियो । उनी हुन्– विश्वचर्चित पपगायिका साकिरा ।’

साकिरा जब प्रसिद्धिको शिखरमा थिइन् त्यसबेला विश्वभरि उनका करोडौँ फ्यान थिए । त्यसबेला साकिरालाई एकै दिनमा आउने लाखौँ सन्देशले पनि यो कुरालाई प्रमाणित गर्छ । यसरी लाखौँ फ्यानको ढुकढुकी बनेकी साकिराले एक्कासि ती फ्यानको दिल तोड्दै स्पेनका चर्चित फुटबल खेलाडी अर्थात् बार्सिलोनाका स्टार जेरार्ड पिकेसँग विवाह गरेकी थिइन् ।

साकिरा र जेरार्डको भेट सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको फिफा विश्वकप फुटबल प्रतियोगिताका दौरान भएको थियो । साकिरा विश्वकपको उद्घाटन समारोहमा विश्वकप फुटबलको गीत र नृत्य प्रस्तुत गर्न अतिथिको रूपमा दक्षिण अफ्रिका पुगेकी थिइन् भने पिके स्पेनको प्रमुख खेलाडीको रूपमा विश्वकप खेल्न । साकिराले दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फुटबलको उद्घाटन समारोहमा ‘वाका वाका’ गीत प्रस्तुत गरेकी थिइन् । जुन गीत ज्यादै लोकप्रिय बनेको थियो । सोही गीतको रिहर्सल गर्ने र म्युजिक भिडियो निर्माण गर्ने क्रममा साकिरा र जेरार्डको सम्बन्ध बढेको र पछि प्रेममा बदलिएको थियो ।

यतिबेला विश्व फुटबल जगत्मा साकिरा र जेरार्डको जोडी निकै लोकप्रिय मानिन्छ । व्यावसायिक रूपमा दुवै कार्यक्षेत्र फरक भए पनि दुवै एक–अर्काको व्यवसायलाई सम्मान गर्छन् । कसैले कसैलाई दखल अन्दाजी गर्दैनन् । दुवै एक–अर्काको प्रोत्साहन गर्न साकिरा फुटबल मैदानमा पुग्छिन् भने जेरार्ड म्युजिक कन्सर्टमा । त्यसैले यी दुवै अहिले अन्य स्टारहरूका लागि उदाहरणीय बन्दै गएका छन् । साकिरा र जेरार्ड अलग–अलग देशका नागरिक हुन्, जसको भाषा पनि मिल्दैन । तर, उनीहरूको प्रेमकहानीलाई यी कुराले अहिलेसम्म अवरोध गर्न सकेको छैन । उनीहरू एक–अर्कालाई सम्मान गर्दै खुसीको जिन्दगी व्यतीत गरिरहेका छन् ।

फुटबल स्टार जेरार्ड पिकेभन्दा साकिरा १० वर्ष जेठी छिन् । विवाहपश्चात् उनीहरूको प्रेम अझ प्रगाढ बनेको छ । त्यसको प्रमाणको रूपमा उनीहरूले जन्म दिएकी छोरीलाई लिन सकिन्छ । आफ्नो मायाको चिनोलाई उत्तिकै माया गर्ने दुवैले छोरीलाई विशेष समारोहमा लैजानेसमेत गरेका छन् । छोरीलाई जन्म दिएपछि उनीहरूको वैवाहिक सम्बन्ध अझ बलियो बनेको छ ।

साकिरा आफ्नो सङ्गीत र नृत्यलाई जति ख्याल गर्छिन् त्यति नै जेरार्डको फुटबल खेललाई । यो कुरा जेरार्डले एक सञ्चारमाध्यम टेली मुन्डोलाई दिएको अन्तर्वार्तावाट पनि थाहा पाउन सकिन्छ । उक्त अन्तर्वार्तामा जेरार्डले फुटबलका महत्वपूर्ण प्रतियोगिता चलिरहेको बेलामा साकिराले शारीरिक सम्बन्ध गर्न नदिने खुलासा गरेका छन् । साथै जेरार्डले विश्वकप फुटबलको दौरानमा साकिराले सेक्स गर्नमा अझै कडा गर्ने बताएका छन् । खेलमा ध्यान केन्द्रित गर्न साकिराले सेक्स गर्नमा रोक लगाएको जेरार्डले बताएका छन् । जसले आफूलाई उत्कृष्ट प्रदर्शन गर्नमा सहयोग भइरहेको जनाएका छन् ।

साकिरा र जेरार्डको सम्बन्धमा बेलाबेला चिसोपन नदेखिएको होइन । त्यही चिसोपनका कारण उनीहरूबीच सम्बन्धविच्छेद हुन लागेको कुरा सञ्चारमाध्यमहरूमा पनि प्रसस्तै आएका थिए । तर, अहिलेसम्म यो जोडीको सम्बन्धविच्छेद भएको छैन ।