ठगी अभियोगपछि फरार रोमा पक्राउ

ठगी अभियोगपछि फरार रोमा पक्राउ


एक खुट्टाको सहारामा नाचेर प्रशंसा बटुलेकी रोमा न्यौपानेलाई ठगी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । करिव एक वर्षअघि नै परेको ठगी मुद्दामा न्यौपाने पक्राउ परेकी हुन् । उनका श्रीमान चिरञ्जीवी न्यौपानेसहति भई ३६ लाख ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएको थियो । त्यसपछि चिरञ्जीवी पक्राउ परे पनि आफूलाई कलाकार भनेर चिनाउन रुचाउने रोमा भने फरार भएकी थिइन् । हिजो विहिबार बेलुका उनी प्रहरी परिसर काठमाडौंको हात लागेकी हुन् ।

भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ । जिल्ला अदालतले २६ पुस २०७३ मा चिरण भनिने चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

ज्ञात रहोस्, ८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी इटहरिकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्छिन् । त्यही कारण उनले देशविदेशमा स्टेज शो कार्यक्रम समेत गरिन् । २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।