गिनिजको मोहनीमा लट्ठ ‘चेतनशील’हरू !

गिनिजको मोहनीमा लट्ठ ‘चेतनशील’हरू !


– स्वयम्भूनाथ कार्की

संयुक्त अधिराज्यको भूतपूर्व उपनिवेशहरूको सङ्गठन हो ‘कमन वेल्थ’ । धेरथोर रूपमा लामो बेलायती शासनको छाप तिनीहरूमा रहेको छ । निख्रँदै गरेको भए पनि आफ्ना कुराहरूमा कुनै न कुनै बेलायती छाप लागेमा पक्का भएको मान्ने संस्कारको अवशेष छँदै छ । ती कमनवेल्थमा भएका कुनै न कुनै मुलुकहरूबाट प्रभावित भएका मुलुकमा भने बेलायतीहरूले पनि भनेको भनेर नाक फुलाउने चलन बढ्दो क्रममा छ । अझ नेपालजस्तो मुलुकका विदेश शिक्षितहरू त गोरो छाला देख्नेबित्तिकै बुहारी झारझैँ लल्याकलुलुक पर्दछन् । यस्ता उदाहरणहरू छरपस्ट छन्, नेपालका देश नै हाँक्ने क्षमतावानहरू विदेशी पाहुना बसेको होटेलमा उहिले प्रभावशाली राणाजीहरूको पटाङ्गिनीमा चाकरीको निमित्त उभिएकाहरूझैँ भिड लागेका भेटिन्छन् ।

कुरो त्यही संयुक्त राज्य बेलायतमा पर्ने आयरल्यान्डको हो । अझ आयरल्यान्डको एक व्यापारी संस्थानको हो । त्यसले १९५४ अगस्तदेखि प्रतिवर्ष गिनिज बुक अफ वल्र्ड रेकर्ड प्रकाशन गर्दछ । इनसाइक्लोपेडिया भनिने कैयौँ ठेली भएको ज्ञानकोशभन्दा अलग प्रतिवर्ष प्रकाशन हुने यो किताब एकप्रकारको सामान्य ज्ञानको किताब हो । यसमा कुनै पनि क्षेत्रमा पहिलो भएको कुराहरू राखिन्छ । यस्ता कुराहरू सुनेको र अन्त भनिएको आधारमा मात्र नभएर त्यस कुरालाई आफ्नै टोलीद्वारा जाँचेर मात्र राखिन्छ । जसरी खेल जगत्मा कीर्तिमान राख्नेहरूको अभिलेख हुन्छ र त्यसलाई अद्यावधिक गरिन्छ । त्यसै गरेर आफ्नो स्थापनाकालदेखि नै गिनिज बुकले आपूmलाई अद्यावधिक राखेको छ ।

हिजोआज नेपालमा पनि गिनिज बुकमा नाम चढाउने धुन चढेको छ । यही क्रममा टुँडिखेलमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर गिनिज बुकमा चढाउने भनेर प्रचारित भयो । ऐतिहासिक कुरालाई सत्यापन गर्ने वा खोज्ने गिनिज बुकको क्षेत्रमा पर्ने कुरा नै होइन ।

यसै शैलीमा शुरु भएको रेप्लीको ‘पत्याउनुस्–नपत्याउनुस्’ भने अलि फरक किसिमको सङ्कलन हो । यसले पत्याउनै कठिन पर्ने किसिमका कुराहरू, घटनाहरू समेट्ने गर्दछ । जे–जसो भए पनि इनसाइक्लोपेडियाको जस्तो आधिकारिकता यसले प्राप्त गरेको छैन र गर्न पनि सक्दैन । तर, यसले प्रायशः अरूले नराखेका कीर्तिमानहरूको अभिलेख भने राख्ने गर्दछ । यसै शैलीमा भारतमा पनि लिम्का बुक अफ वल्र्ड रेकर्ड शुरु भएको थियो । अन्य मुलुकहरूमा पनि प्रयास नभएका होइनन् । तर, यो विधामा अहिलेसम्म गिनिजकै हैकम छ । किनभने यसले केवल कुनै कुरामा भएको घटना या तौलिन नाप्न सकिनेमा सबैभन्दा ठूलो या सानो आदि मात्र अभिलेखमा राख्छ । त्यो पनि आफ््नै टोलीले नापेर जोखेर वा साक्षी बसेर ।

हिजोआज नेपालमा पनि गिनिज बुकमा नाम चढाउने धुन चढेको छ । यही क्रममा टुँडिखेलमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर गिनिज बुकमा चढाउने भनेर प्रचारित भयो । ऐतिहासिक कुरालाई सत्यापन गर्ने वा खोज्ने गिनिज बुकको क्षेत्रमा पर्ने कुरा नै होइन । त्यसैले सबैभन्दा धेरै जम्मा भएर एकैपल्ट भगवान् बुद्धको ‘धम्मपद’ वाचन गरेको अभिलेख राखियो । अर्थात् यदि यो अभिलेख गिनिज बुकमा आयो भने पनि यति हजार मान्छे भेला भएर फलाना ठाउँमा एकैपल्ट धम्मपद वाचन गरे भन्ने अभिलेख रहनेछ । अनि यो अभिलेखको अवधि अर्को स्थानमा त्योभन्दा एकजना भए पनि ज्यादा व्यक्ति जम्मा भएर फेरि धम्मपद वाचन नगरुञ्जेल रहनेछ ।

अर्थात् टुँडिखेलको त्यो तामझामले गिनिज बुकले बुद्ध नेपालमा जन्मेको भनेर प्रमाणपत्र दिनेछैन । हो, यो आयोजन गरेर अलेकजेन्डरले विश्व विजय गरेको जस्तो गरेर नाक फुलाउनेहरू भने प्रफुल्ल भएका छन् । होइन, यसको खास महत्व छैन भन्नेहरूलाई गाली गर्न नयाँ–नयाँ शब्द आविष्कार गरेका छन् । तिनीहरूलाई गिनिज बुकमा केके अभिलेख छन् भनेर सोध्ने हो भने उत्तर के आउला ? कतिले त्यो किताब एकपटक पनि हातमा लिनुभएको छ भन्ने सोध्नु त बेकार नै हो । हो, १५ देशका करिब २७ टेलिभिजन च्यानलमा कसैले कुनै शृङ्खला हेरेको भने हुन सक्छ । अर्थात् कहिले कुनै बेला सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिने गिनिज बुकको मोहनीमा लट्ठ परेर विश्व विजय गरेको ‘मुतको न्यानो’ मान्नुसिवाय केही होइन ।