अधिकतामाझ नैराश्यता

अधिकतामाझ नैराश्यता


– माइकल स्पेन्स

अहिले विश्वमा अभाव र संकट सामना गरिरहेका अर्थतन्त्र र समाजको कमी अवश्य छैन तर सकरात्मक गइरहेका दिर्घकालीन प्रवृत्तिलाई ओझेलमा पार्न दिनुहुन्न । यो अनुचित नैराश्यताको निवारणको उपाय बडो ब्यवहारिक छ– वैज्ञानिक अनुसन्धान र सामाजिक ऐक्यबद्धताद्वारा सृजित प्रभावकारी र तथ्यपरक नीतिको निर्माण ।

केही वर्षअघि मैले ’द नेक्स्ट् कन्वर्जेन्स्’ भन्ने आफ्नो पुस्तकमा विकासोन्मुख अर्थतन्त्र कसरी आफ्ना अगुवा समकक्षीका आय, स्वास्थ्य, सम्पत्ति तथा कल्याणका अरु सूचकलाई नजिकबाट पछ्याउँदै छन् भन्ने कुरा लेखेको थिएँ । त्यसमा मैले खुला विश्व अर्थतन्त्रको अहम् भूमिका बाहेक यी मुलुकले गरेको द्रुत आर्थिक विकास तथा यिनलाई समबिन्दुमा पु¥याउने प्रकृयाले ल्याउने अवसर र चुनौतीबारे उल्लेख गरेको थिएँ ।

सो पुस्तक लेख्दा मैले रेखाचित्रहरुको अधिकतम प्रयोग गर्ने योजना बनाएको थिएँ । तर एक आदरणीय साहित्यकारले जनसमुदायको सानो भागले मात्र प्रस्तुत गरिएको तथ्यांकीय सूचना आत्मसात गर्नसक्ने भएकाले यो सोच त्यति उचित नहुने जिकिर गरे । मैले के थाहा पाएँ भने रेखाचित्रहरु वास्तवमा प्रश्नका जवाफ थिए । यदि तपाईंँ प्रश्न नै सोध्नुहुन्न भने ग्राफ वा रेखाचित्र निरस र ब्यर्थका हुन जान्छन् ।

हालसालै हार्वार्ड विश्वविद्यालयका मनोवैज्ञानिक स्टिभन पिंकरले जनकल्याणका बहुआयाम तर्फ देखिएका दिर्घकालीन सकारात्मक प्रवृत्तिलाई सँगालेर एउटा पुस्तक प्रकाशित गरेका छन् । पिंकर के भन्छन् भने प्रगति एक समानले भएको छैन । जलवायु परिवर्तनजस्ता समस्याले केही उल्लेखनीय अड्चन ल्याएका छन् । तर, लोककल्याणमा क्रमशः सुधारहुँदै आएको छ । अठारौँ शताब्दीको मध्यदेखि औद्योगिक क्रान्तिको कारण यसको वेगमा वृद्धि भएर आयो । दोस्रो विश्वयुद्ध पश्चात विकासशील मुलुकहरुमा बस्ने ८५ प्रतिशत जनता यसबाट लाभान्वित भएका छन् ।

पिंकरले धेरै रेखाचित्रहरुको प्रयोग गरेर यो प्रगतिलाई देखाउन खोजेका छन् तर अधिकांशलाई यो प्रष्ट भएको छैन या अहिलेका समस्या र चिन्तासामु यसलाई गौण सम्झिएका छन् ।

तथ्य र यसको ग्रहणबोधबीच फरक हुनुमा धेरै तत्वले भूमिका खेलेका हुन्छन् । जसमध्ये एक मानिसमा स्वभावतः रहेको पूर्वाग्रही सोच पनि हो । एउटा यस्तो पूर्वाग्रह ‘आशाको भिन्नता’ हो – मानिसहरु अरु मानिस वा समाजको परिस्थितिभन्दा आफ्नोप्रति बढी आशावादी हुन्छन् । अर्को कारक तत्वलाई नोवेल पुरस्कार विजेता डेनियल कानेमन र उनका सहलेखक मनोवैज्ञानिक आमोस ‘उपलब्धता अनुरुप अनुमान’ भन्छन् । यस अनुसार मानिसहरु जति सजिलै उनीहरुका विचारमा उदाहरण आउँछन्, त्यही अनुरुप घटनाहरुका आवृत्तिको अनुमान लगाउँछन् ।

जब आर्थिक र सामाजिक प्रचलनको मूल्यांकनको समय हुन्छ, यी दुवै पूर्वाग्रह समाचार चक्रबाट प्रेरित देखिन्छन् । पिंकरले केही तथ्यहरु उद्घृत गरेका छन् जसले के देखाउँछन् भने विश्वयुद्ध पछाडिका दिनहरुमा नकारात्मक समाचारहरु बेसी सम्प्रेषण गरिएका छन् । डिजिटल र सामाजिक सञ्चारको आगमन पश्चात समाचार चक्र छोटिएर केही मिनेटको भएको छ र यसले झन् सनसनीपूर्ण खेज, झुटो, पुर्वाग्रही र अस्पष्ट सूचनाहरु निरन्तर प्रवाह गर्न प्रेरित गरेको छ । यही नकरात्मकताप्रतिको पूर्वाग्रहले गर्दा आम मानिस नकरात्मक समाचार बढी रुचाउँछन् । सामाजिक सञ्चारमा भने प्रयोगकर्ताले आँफै चाहे अनुरुपको बिषय रोज्न सक्छन् तर उपलब्ध बिषयहरुमध्ये उनीहरु आफ्नै पूर्वाग्रहलाई बल पुग्ने कुरा नै रोजिरहेका हुन्छन् ।

सकारात्मक वा नकारात्मक जे भए पनि आर्थिक प्रवृत्तिबारे समाजको बुझाई केही हदसम्म आर्थिक नीतिमाथि उसको प्रतिकृयाले दर्शाउँछ । नीतिनिर्माताले कुनै विशेष क्षेत्र वा खण्डमा हुन पुगेको नोक्सानीलाई सम्बोधन गरेनन् भने त्यसले असन्तुष्टी र सामाजिक विभेद निम्त्याउँछ र त्यो आर्थिक कारबाहीप्रति नकरात्मक सोच हुन पुग्छ ।

विकसित देशहरुमा विश्वव्यापिकरणले श्रम बजार र आय वितरणमा उल्लेखनीय परिवर्तन ल्याएका छन् । आर्थिक गतिविधीलाई जुन तवरले ‘आर्टिफिसिअल इन्टेलिजेन्स’ र ‘रोबोटिक्स’ले सहयोग गर्दैछ सो चलिरहनेछ र यी परिवर्तन अझ तीब्र हुनेछन् । संसारभर यी आर्थिक र प्राविधिक शक्तिहरु मुलुकहरुका सरकारका नियन्त्रण क्षमताभन्दा बाहिर जाँदैछन् र सरकारका नीतिगत क्षमता माथि प्रश्न उठ्दैछन् ।

यसरी नै जलवायु परिवर्तनको मुद्दा कुनै एक मुलुकले मात्र सम्बोधन गर्नसक्ने कुरा होइन र समग्र विश्व समुदायको यसप्रतिको हालसम्मको प्रतिकृयाले यो दुर्घटनालाई टार्न सक्छ भन्ने कुरामा ठूलो संशय छ । विश्वयुद्ध पश्चात बनेको शक्तिराष्ट्रको अनुक्रम भात्किसकेको र यसलाई प्रतिस्थापन गर्ने ब्यवस्थाको भने टुङ्गो नलागिसकेको अहिलेको परिप्रेक्षमा अन्तर्राष्ट्रिय समन्वयको प्रभावकारिता माथि पनि अन्यौल छाएको छ ।

यो पनि सत्य हो कि समष्टिगत आर्थिक विवरणहरुले धेरै स्थानीय समस्याहरुलाई अस्पष्ट बनाइदिन सक्छन् । विश्वव्यापिकरणको फाइदा अनेक भए पनि ती समान रुपले उपभोग गरिएका छैनन् । बहुल क्षेत्रीय र स्थानीय अर्थतन्त्रहरु रोजगारीको अभाव र सम्पूर्ण औद्योगिक क्षेत्रको अधोगतिको कारण धराशायी हुन पुगेका छन् । यी कुराहरुले असमानता बढाउन भूमिका खेलेका छन् ।

आर्थिक वृद्धिको ढाँचाको वितरण पक्षमा ध्यान नदिँदा आइपर्ने खतरा अहिले प्रष्ट देखिएको छ । असमानताको बढ्दो खाडल आर्थिक तथा सामाजिक विकासप्रति नकरात्मक दृष्टिकोण फैलाउने प्रमुख कारण बनेको छ । पिंकर तथा अरुहरुले के सही कुरा भनेका छन् भने समग्र आय वृद्धिशून्य नहुँदासम्म असमानता बिभिन्न उपसमूहहरुको पूर्ण नोक्सानीको द्योतक पनि होइन ।

प्रायः सबै समाजमा अत्याधिक असमानता र गरीबी स्वीकार्य नभए पनि आय र सम्पत्तिमा हुने विभेद भने सह्य र अझ अपरिहार्य ठानिन्छ, तर कुन तहसम्मको असमानतालाई उचित ठान्ने भन्ने कुरा भने देश अनुसार फरक हुन्छ । वास्तविक मुद्दा त्यसैले पनि समाजले निष्पक्षतालाई कसरी लिन्छ भन्ने कुरामा भरपर्छ । परिमाण निर्धारण गर्न गाह्रो सूचक हो यो । प्रतिभा, पारदर्शिता तथा अतिशय माथिको अंकुश यसका मुख्य आयाम हुन सक्छन् ।

सकारात्मक वा नकारात्मक जे भए पनि आर्थिक प्रवृत्तिबारे समाजको बुझाई केही हदसम्म आर्थिक नीतिमाथि उसको प्रतिकृयाले दर्शाउँछ । नीतिनिर्माताले कुनै विशेष क्षेत्र वा खण्डमा हुन पुगेको नोक्सानीलाई सम्बोधन गरेनन् भने त्यसले असन्तुष्टी र सामाजिक विभेद निम्त्याउँछ र त्यो आर्थिक कारबाहीप्रति नकरात्मक सोच हुन पुग्छ । यस बिपरित यदि नीतिनिर्माताहरुले आफ्न जनतालाई यथेष्ट सुरक्षाको प्रत्याभुती दिन सकेभने सोचमा सकारात्मकता आउने सम्भावना प्रवल हुन्छ ।

यस कुरालाई हालैको ‘न्युयोर्क टाइम्स’ को एउटा लेखले पुष्टी गरेको छ । सो लेखमा युरोपेली कमिसनको एउटा सर्भेलाई उद्धृ्रत गरिएको छ । जसअनुसार ८० प्रतिशत स्वीडिस नागरिकहरुले रोबोट तथा ’आर्टिफिसिअल इन्टेलिजेन्स’ बारे सकारात्मक बिचार राखेका छन् भने अर्को तिर पिउ रिसर्च सेन्टरको सर्भे अनुसार ७२ प्रतिशत अमेरिकीहरु भविश्यमा रोबोट र कम्प्युटरले मानिसलाई रोजगारीमा बिस्थापित गर्लान् भन्ने कुरामा चिन्तित देखिन्छन् ।

स्वीडिस नागरिकहरु प्रविधिलाई प्रतिस्पर्धा र उर्जा उत्पादन वृद्धिका लागि आवश्यक ठान्दछन् । उनीहरुको विचारमा यसद्वारा हुने अधिक वचतलाई कामदार, व्यवस्थापन र मालिकबीच उचित रुपमा बाँड्न सकिन्छ वा श्रमिकहरुको दक्षता प्रविधि अनुकुल बनाउन सकिन्छ । जनतालाई संक्रमणकालमा सहयोग गर्न उनीहरुसँग एउटा बिस्तृत र खर्चिलो सामाजिक सुरक्षा व्यवस्था पनि छ । यता अमेरिकामा भने महत्वपूर्ण आर्थिक कदमप्रति नकारात्मक सोच राखिनुमा यथेष्ट नीतिगत प्रतिकृयाहरु नदिइनु एउटा र फितलो सामाजिक सुरक्षा सञ्जाल अरु कारक हुन सक्छन् । विश्वव्यापिकरण र डिजिटल प्रविधिप्रति उच्च आर्थिक वृद्घिदर भएका भारत र चीन जस्ता विकासशील मुलुकमा सकरात्मक धारणा पाइन्छ । त्यहाँ प्रगति पनि प्रष्ट देखिन्छ र डिजिटल प्रविधिलाई आर्थिक वृद्घिदर विकासको इन्जिनको रुपमा हेरिन्छ न कि खतराको रुपमा ।

अहिले विश्वमा अभाव र संकट सामना गरिरहेका अर्थतन्त्र र समाजको कमी अवश्य छैन तर सकारात्मक गइरहेका दीर्घकालीन प्रवृत्तिलाई ओझेलमा पार्न दिनुहुन्न । यो अनुचित नैराश्यताको निवारणको उपाय बडो ब्यवहारिक छ – वैज्ञानिक अनुसन्धान र सामाजिक ऐक्यबद्धताद्वारा सृजित प्रभावकारी र तथ्यपरक नीतिको निर्माण ।

९अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता माइकल स्पेन्स न्यु योर्क विश्वविद्यालयको ‘स्टर्न स्कूल अफ बिजिनेस’का प्राध्यापक, ‘काउन्सिल अफ फरेन रिलेसन्स्’ का सम्मानित भिजिटिङ फेलो, स्टान्फोर्ड विश्वविद्यालयको ‘हुवर इन्स्टिच्युट’ का सिनियर फेलो, हङकङको ‘एशिया ग्लोबल इन्स्टिच्युट’ का सल्लाहकार बोर्डको सहअध्यक्ष र ‘वल्र्ड इकोनोमिक फोरम ग्लोबल एजेण्डा काउन्सिल अन न्यु ग्रोथ मोडल्स’ का अध्यक्ष हुनुहुन्छ । उहाँ ‘इन्डिपेन्डेन्ट कमिसन अन ग्रोथ एण्ड डेवलप्मेण्ट’का पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
(अनुवादः एकराज पाठक)