सिङ्गो नेपाल हाँसेको दिन जो आफूलाई सुखी ठान्छ…

सिङ्गो नेपाल हाँसेको दिन जो आफूलाई सुखी ठान्छ…


सुखद भविष्य निर्माणको मार्ग खोज्दै आजभन्दा बीस वर्षअघि गोरखा सिमजुङबाट काठमाडौं छिर्दा प्रकाशचन्द्र दवाडीसँग आफ्नो भविष्यको कुनै स्पष्ट मार्गचित्र थिएन । ज्यान धान्न एउटा सामान्य जागिरभन्दा बढीको आशा पनि उनले राखेनन् यो काठमाडौं खाल्डोभित्र । २४ घन्टामा १५ घन्टाभन्दा बढी समय काठमाडौंको ठमेललगायत गल्ली–गल्लीमा जागिर खोज्न भौँतारिनुपर्दा भविष्यमा आफू एक सफल व्यवसायी बन्छु भनी कल्पना गर्नका लागि फुर्सद नै उपलब्ध थिएन उनलाई । जागिरका लागि दिनमा पचास–साठीवटा पसल, कार्यालय आदिमा एकैजनालाई तीनपटकसम्म नमस्कार गर्दै भौँतारिनुपर्दा आजका प्रकाशचन्द्रले जापानजस्तो समृद्ध मुलुकका थुप्रै सहरमा समेत आफ्नो व्यापार–व्यवसाय फैलिने र स्वदेश तथा विदेशमा गरी थुप्रै व्यक्तिका लागि आफू रोजगारदाता बन्ने सपना बुन्नु साँच्चै कल्पनाबाहिरकै कुरा थियो । तर, सोचेका कुरा सबै वास्तविकतामा परिणत हुन सक्दैनन् र नसोचेका कैयन कुरा यथार्थ बनेर झुल्किन सक्छन् भन्ने मान्यताको भुक्तभोगी बन्न पुगेका छन् युवा व्यवसायी एवम् समाजसेवी प्रकाशचन्द्र दवाडी ।
आजभन्दा १५ वर्षअघिसम्म प्रकाशचन्द्रको दिनचर्या पनि ठमेलको टुरिजम व्यवसायमा अल्मलिएका अन्य युवाहरूकै जस्तो एकतमासको थियो । ठमेलमा पर्यटन व्यवसायसम्बद्ध युवाका रूपमा जिन्दगी डोर्‍याउने क्रममै जापानी पर्यटकसँग बाँधिएको मित्रताले भने उनको जीवनमा कायापलट गरिदियो ।
जापान गएर पैसा कमाउने रहर बुन्दै उनी १५ वर्षअघि जापानको ओसाका विमानस्थल ओर्लिएका थिए । ‘जापान पुगेपछि त पैसाको के दु:ख, त्यहाँ त हावामै पैसा फल्छ नि’ भन्ने सुन्दै आएका प्रकाशले जापानको धर्ती टेक्नेबित्तिकै पहिले त आकाशतिर फर्किएर पैसा कता फलेको छ त भनी नियाले । शून्य आकाश त रित्तै थियो, तर जापानको समृद्धिले भने पसिना बगाउनेलाई अवसर छ भन्ने सन्देश दिएझैँ लाग्यो उनलाई ।
इमानदारीका साथ मिहिनेत गर्छु भन्नेलाई ढिलो–छिटो सफलता हात लाग्छ नै भन्ने भनाइ छ । प्रकाशमा पनि मिहिनेतको भूत सवार थियो नै, तर त्यति छिट्टै आफूलाई अवसर र सफलता हासिल होला भन्नेचाहिँ फेरि पनि उनले सोचेका थिएनन् । त्यहाँ भोगेका दु:खका पाटाहरू पनि अलग्गै नभएका होइनन्, तथापि जापान छिरेको ६ महिनामै एउटा आफ्नै पसल खोल्न सके उनले । हेर्दाहेर्दै एक वर्षमै पसलको सङ्ख्या १२ पुग्यो । आफूले पर्यटक बजार ठमेलमै पर्गेलिसकेका नेपाली ह्याण्डिक्राफ्टका सामान, नेपाली गाउँघरका डोको, नाम्लो, हँसिया, मधु (काठको बाक्सा), सुनचाँदीका गहना आदि सामानको व्यापार हेर्दाहेर्दै जापानका हिरोसिमा, क्योटो, ओसाका, नागाजस्ता सहरमा फैलाउन सफल भए उनी । कारोबारका सिलसिलामा कोरिया, थाइल्याण्ड, चीन, बर्मा, इण्डोनेसिया, कम्बोडिया, भारतलगायतका एसियाली मुलुक प्रकाशका निम्ति पानीपँधेरोसरह बन्न पुगे । आज एक्सपोर्ट–इमपोर्ट, ट्राभल एजेन्सी, एग्रोभेट, रेमिट्यान्स कारोबारजस्ता व्यवसायमा सफलताको झण्डा गाड्दै सामाजिक कार्यमा समेत मनग्गे हात बढाइरहेका छन् प्रकाशचन्द्र दवाडी । आफूले लाख कमाए दश हजारचाहिँ समाजसेवा वा कल्याणकारी कार्यका लागि छुट्याइहाल्नुपर्छ भन्ने जापानबाट सिकेको बताउँदै यसलाई व्यवहारमा उतार्ने प्र्रयत्न आफूले गरिरहेको खुलासा गर्छन् । ‘सकिन्छ भने कसैको सेवा गरौँ, नसके कसैको बिगार नगरौँ’ भन्ने पनि आफूले जापानीहरूबाटै सिकेको अर्को महत्वपूर्ण ज्ञान रहेको बताउँदै उनी भन्छन्, ‘प्रत्येक नेपालीले यसको अनुसरण गर्ने हो भने हाम्रो मुलुकले छिट्टै एक समृद्ध र सुसंस्कृत राष्ट्रका रूपमा पहिचान बनाउन सक्छ ।’
आफ्नो सफलतालाई मिहिनेत, भगवान्को कृपा र कर्मचारी साथीहरूको साथ–सहयोगको उपज ठान्ने प्रकाश मिहिनेतको फल प्राप्तिका लागि पनि मुहूर्त जुर्नुपर्दोरहेछ भन्ने आफ्नो अनुभव सुनाउँछन् । पैसा कमाउन सजिलो छैन र असहज नै छ भन्ने पनि होइन भन्छन् प्रकाश । ‘आजका युवाको सोच कसरी पैसा कमाउने भन्ने छ तर उनीहरू दु:ख, मिहिनेत र सङ्घर्ष नै नगरी एकैचोटि करोड हात पार्ने चाहना राख्छन्,’ भन्ने बुझेका प्रकाशचन्द्र युवाहरूले मिहिनेत र धैर्यको पाठ सिक्नुपर्ने सुझाव दिन्छन् ।
व्यवसायको सिलसिलामा महिनामा २–३ पटक स्वदेश–विदेश ओहोरदोहोर गर्नुपर्ने धपेडीबीच पनि प्रकाशचन्द्रले आफ्नो जिल्ला गोरखालगायत पोखरा, लमजुङ, दाङ, कास्कीलगायतका स्थानमा शिक्षा, स्वास्थ्य एवम् युवालाई रोजगारी प्रदान गर्नेसम्बन्धी विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्न भ्याएका छन् । हाल विशेषगरी गोरखा जिल्लालाई फोकस गरे पनि आफ्नो गच्छे र समयले साथ दिएसम्म सेवाको क्षेत्र फैलाएर देशभर नै पुर्‍याउने उनको सोच छ । दूरदराज गाउँमा स्कुल भवन निर्माण, मठ–मन्दिर र मोटरबाटो निर्माण गर्ने, गरिब तथा जेहेनदार छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने, किताब, कापी तथा स्टेसनरीका सामग्री उपलब्ध गराउने, किड्नी फेल भएका, अन्य यस्तै गम्भीर रोगको सिकार बनेर उपचार गर्न नसकी ज्यान गुमाउने अवस्थामा पुगेका बिरामीलाई आवश्यक सहयोग प्रदान गर्ने काम ३८ वर्षे युवा प्रकाशचन्द्र दवाडीले कति सहयोग गरे, त्यसको हिसाब उनी स्वयम्सँग पनि छैन । जुस खानुको साटो पानी खाएर पनि सेवाका लागि रकम बचाउँछन् प्रकाश र यस्तै गर्न अरूलाई पनि आग्रह गर्छन् । कुनै प्रतिफल या अभीष्टको कामना राखेर आफूले सेवा नगरेको बताउँछन् उनी । पत्रपत्रिकामार्फत तथा चिनेजानेका व्यक्तिहरूबाट सहयोगका लागि हारगुहार गर्दा उनको मन पग्लन्छ र असहायको यथार्थ बुझेर सहयोग गर्न उनी हतारिन्छन् । नेपालमा धेरै जनता गरिब छन् तर विश्वकै अर्बपतिको सूचीमा पनि नेपालीको नाम आउन थालेको छ भन्ने स्मरण गराउँदै प्रकाश भन्छन्, ‘त्यस्ताहरूले आफ्नो कमाइको एक सानो अंश मात्र आफ्नो मुलुकमा पिछडिएका वर्ग, अवसर नपाएका, समस्यामा परेका, दीनदु:खी र असहायहरूका लागि छुट्याइदिने हो भने धेरै राम्रो हुने थियो, हुनेखानेहरूलाई यस्ता सेवाका कार्यमा अभिप्रेरित गर्न पनि हो मैले समाजसेवामा आफूलाई लगाएको ।’ कैयन आफूजस्ता एनआरएनहरूले एनआरएन संस्थालाई भजाएर आफ्नो दुनो सोझ्याइरहेको आफूले देखेको खुलासा गर्दै एनआरएनहरूले मातृभूमिका लागि दिलदेखि नै केही गर्नुपर्नेमा उनले जोड दिए ।
आफ्ना शिक्षाप्रेमी एवम् शिक्षक दिवंगत काका कुलप्रसाद दवाडीको नाममा खडा गरेको एक ट्रष्टमार्फत गोरखाका विभिन्न स्कुलका ८० जना विद्यार्थीको पठनपाठनलगायतको सम्पूर्ण खर्चको जिम्मेवारी उठाउने एक महत्वाकाङ्क्षी कार्यक्रम लिएर गाउँ जाने तयारीमा रहेका प्रकाशचन्द्रसँग कुराकानीका सिलसिलामा राजनीतिक झुकावबारे सवाल गरियो । आफू सानैदेखि प्रजातान्त्रिक विचारधाराबाट प्रेरित रहेको प्रस्ट्याउँदै उनले राजनीतिक माध्यमबाट आफू चिनिनेभन्दा पनि राम्रो काम गरेर ‘राजनीति’लाई चिनाउने चाहना आफूमा रहेको बताए । गाउँ–गाउँमा व्यक्तिगत खर्चमा सेवामुखी काम लिएर जाँदा कैयनले उनलाई राजनीतिक रूपले अघि बढ्न आग्रह पनि गर्छन्, तर आफू फगत राजनीतिका लागि राजनीति नगर्ने, त्यो कुरा समय र परिस्थितिमा निर्भर हुने जवाफ दिएर पन्छन्छन् उनी । नेपालमा ‘राजनीति’ या ‘राजनीतिकर्मी’ भन्नेबित्तिकै जनतामा वितृष्णा पैदा हुने अवस्था आएको राम्ररी बुझेका प्रकाशचन्द्रले राजनीति सेवाका लागि हुनुपर्छ भन्ने मान्यता बोकेका छन् । काम गर्छु भनेर कुर्सीमा पुगेपछि काम गरेर देखाउनुपर्ने, नसके हीनताबोध गर्दै तत्काल अर्कोका लागि ठाउँ छोडिदिनुपर्ने संस्कार नेताहरूमा नबस्नाले पनि मुलुकले दु:ख पाइरहेको उनको बुझाइ छ । विश्वका समृद्ध देशहरूमा आफूले त्यस्तो राजनीतिक संस्कार देखेको र ती देशहरूको प्रगतिको एक प्रमुख कारण पनि त्यही रहेको प्रकाशको ठहर छ ।
नेपाल बनाउन ५–१० वर्षभन्दा बढी समय नलाग्ने उल्लेख गर्दै त्यसका लागि राम्रो या कडा संविधान, त्यसको पूरापूर पालना या प्रत्येक नागरिकमा अनुशासन र कर्तव्यको बोध हुनुपर्ने उनी बताउँछन् । डेढ–दुई करोडको गाडी चढ्ने तर इन्धनमा सरकारले सब्सिडी दिनुपर्ने सोच राखेर हामी उँभो होइन उँधो मात्र लाग्छौँ भन्ने खरो अभिव्यक्ति दिँदै प्रकाशचन्द्र भन्छन्, ‘सरकारले बजेट दशतिर छर्नुभन्दा एउटा वर्ष बाटोघाटोमा, अर्को वर्ष शिक्षामा, अर्को वर्ष कृषि, अर्कोमा रोजगारीका अवसर गर्दै लगानी गर्ने योजना बनाए मुलुकले छिटो प्रगति हासिल गर्न सक्छ भन्ने मेरो बुझाइ छ ।’
आफ्नो सबैभन्दा दु:खको दिन सम्झनुपर्दा प्रकाश काठमाडौंमा सुरुसुरुका दिनमा भोक लागेर अतिसार हुँदा अर्काको टोकरीबाट खोसेर खानुपरेको क्षण सम्झन्छन् । खुसी, सुख या रमाइलो क्षणचाहिँ उनको आजसम्म नआएको उल्लेख गर्दै उनले भने, ‘सुख त म खोज्दै छु तर त्यो सुख मेरो व्यक्तिगतचाहिँ होइन । जुन दिन सारा नेपाली र सिङ्गो नेपाल शिक्षित, स्वस्थ र समृद्ध भएर हाँसेको देख्न पाइन्छ त्यही दिन मेरा लागि पनि सबैभन्दा सुखकारी दिन हुनेछ ।’
– जयप्रकाश