अमेरिकामा चाडबाड, सामुदायिक भेटघाटले मेट्छ नेपालको न्यास्रो

– मनोज रिजाल, न्युयोर्क

न्युयोर्कको क्विन्सनिवासी सुमन श्रेष्ठको अहिले बसेको दुई बेडरुमको अपार्टमेन्ट नराम्रो छैन । घरभाडा सस्तै छ । खाना पकाउने ग्यास र बत्ती–पानीको पैसासमेत तिर्नुपर्दैन । छोरा पढ्ने स्कुल पनि नजिकै छ । तैपनि उनी नयाँ अपार्टमेन्टको खोजीमा छन् । उनी सर्नुपर्ने मुख्य कारणको हो– साथीभाइहरू आएर भोजभतेर गर्नुपर्दा उनकोमा बस्ने, रमाइलो गर्ने लिभिङ रुम नै छैन । ‘साथीहरू आएको बेला कोठामै लगेर राख्नुपर्छ । हामीलाई बस्न त सजिलै छ यहाँ, तर बैठककोठा नहुँदा साथीभाइसँग भेटघाट, रमाइलो भोजभतेर गरेर नेपालको तिर्सना मेट्न पाइएन,’ श्रेष्ठ भन्छन् । उनी अलिकति महँगो भाडा तिर्न पनि तयार छन् । तर, बैठक भएकै अपार्टमेन्टमा छिट्टै सर्ने योजनामा छन् । ‘भेटघाट रमाइलो भएन भने नेपालकै मात्र याद आउने भयो । साथीभाइ बरु नेपालमा नचाहिएला, तर विदेशमा एकदमै चाहिने रहेछ । त्यही भएर म त डेरा सर्ने तरखरमा छु,’ उनी भन्छन् ।

नेपालको दोलखातिर घर भएका कृष्ण सापकोटा नेपालमा हुँदा छोरीको पास्नी यति धुमधामले गर्ने थिएनन् । ‘पास्नी भनेको आउँथ्यो, जान्थ्यो, सामान्य रूपमा मनाइन्थ्यो । तर, यहाँ परदेशको ठाउँमा सबै साथीभाइलाई बोलाएर रमाइलो गरेर मनाऊँ भन्ने विचार आयो,’ सापकोटा भन्छन् । उनले पार्टी त दिए, तर घरमा होइन, पूरै एक रेस्टुरेन्ट नै बुक गरेर पार्टी गरे । ‘अरू बेला काममै व्यस्त भइन्छ । भेटघाट हुने कहिले हो कहिले । त्यही भएर मैले त रेस्टुरेन्टमै पार्टी दिन उचित सम्झेर पार्टी दिएको हुँ,’ उनी भन्छन् ।

समीर न्यौपाने उबर कम्पनीमा काम गर्छन् । कामको जहिले पनि चापाचाप हुन्छ । काम नगरी न्युयोर्कसिटीमा बाँच्न पनि गाह्रै हुन्छ । तैपनि उनी कुनै भेटघाटको निमन्त्रणा आयो भने नाइँ भन्दैनन् । गत जनवरीमा उनको साथीको छोरीको जन्मदिन थियो । उनको साथीले मेरिल्यान्ड राज्यबाट फोन गरेर जन्मदिनमा आउनुप¥यो भनी बोलाए । उनले एकै शब्दमा ‘हुन्छ’ भने र करिब आठ घन्टा आफैँ ड्राइभिङ गरेर न्युयोर्कबाट मेरिल्यान्ड पुगे । ‘यहाँ अमेरिकामा एकनासको जिन्दगी छ, काम–घर, घर–कामभन्दा पर्तिर केही हुँदैन । यस्तो अवस्थामा पारिवारिक जमघटको रमाइलोमा कहिलेकाहीँ हराउन पाउँदा कता–कता आनन्द महसुस हुन्छ । त्यही भएर पैसा कमाउनु त छँदै छ, तर साथीभाइ तथा पारिवारिक भेटघाटलाई समेत म महत्वका साथ हेर्छु,’ न्यौपाने भन्छन् ।

साथीभाइ, पारिवारिक जमघटहरू त छँदै छन्, अमेरिकामा बस्ने नेपाली चाडपर्वहरूसमेत सामूहिक रूपमा नै मनाउन मन पराउँछन् । नेपालमा दशैँ, तिहार, ल्होसार आदि चाडपर्वहरू पारिवारिक रूपमै बढी मनाइन्छ । तर, यहाँ यस्ता चाडपर्वहरू मन्दिर, गुम्बा वा कुनै कार्यक्रमस्थलमा भेला भएर भव्यताका साथ मनाइन्छ । न्युयोर्कमा ज्याक्सन हाइट्सको सत्यनारायण मन्दिर, रिजवुडको नेपाली दुर्गा मन्दिरमा दशैँ–तिहारमा बाक्लै भिडभाड हुन्छ र विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको हुन्छ । नेपालीको धेरै बसोवास भएका राज्यहरू टेक्सास, क्यालिफोर्नियालगायत मेसाचुसेट्स राज्यको बोस्टन, पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया र मेरिल्यान्ड राज्यको बाल्टिमोर आदि ठाउँहरूमा पनि उस्तै दृश्य देख्न पाइन्छ ।

न्युयोर्कमा शेर्पा किदुगले आयोजना गर्ने ल्होसारको कार्यक्रम विशेष हुन्छ । शेर्पा किदुगले न्युयोर्कको ज्याक्सन हाइट्समा अवस्थित गुम्बामा नाचगानसहितको ल्होसारको कार्यक्रम आयोजना गर्छ । यसपालिको गम्बो ल्होसारको अवसरमा परम्परागत पहिरनमा सजिएका महिला–पुरुषको शेर्पानाच हेर्न बाटोभरि नेपाली मात्रै होइन, अन्य समुदायको समेत भिड लागेको थियो । यस्ता कार्यक्रममा न्युयोर्कसिटीका मेयरको समेत शुभकामना सन्देश या उपस्थिति रहने गरेको पाइन्छ ।

‘हामीले पहिलोपल्ट बृहत् रूपमा ल्होसार पूजा सम्पन्न गर्न सफल भयौँ । यसका लागि न्युयोर्कसिटीका मेयर र उनका प्रतिनिधि काउन्सिलर डेनियल ड्रोमलाई सहयोगका लागि हार्दिक धन्यवाद,’ किदुगका अध्यक्ष उर्गेन शेर्पा भन्छन् । त्यसैगरी किदुगकै टेन्डी शेर्पाको भनाइमा ‘न्युयोर्कजस्तो ठूलो शहरमा आफ्नै मौलिक संस्कृतियुक्त चाडपर्व मनाउन पाउँदा हामीले आफ्नो दुःख भुल्ने गतिलो कारण पाएका छौँ ।’

नेपालमा हुँदा जुन कुरा मिस हुँदैन अथवा न्यास्रो लाग्दैन, अमेरिकामा त्यही कुराको बढी न्यास्रो लाग्ने रहेछ, न्युयोर्कमा विगत पाँच वर्षदेखि बसिरहेका सन्देश लामिछाने भन्छन् । ‘हजार काम छोडेर भए पनि साथीभाइहरूसँग भेटौँ–भेटौँ लाग्ने, चाडपर्व, जन्मदिन आदि पनि भव्य रूपमा मनाऔँ–मनाऔँ लाग्ने कारण पनि यही नै हो,’ उनी थप्छन् । Email: [email protected]

प्रतिक्रिया






12 Shares
Share12
Tweet
+1
Share