कूटनीतिक पासपोर्ट बेच्नेले उन्मुक्ति नपाओस





एक-डेढ दशकअघि हाम्रा सांसदहरू रातो पासपोर्ट बेचेर कमाउने धन्दाका कारण बेस्सरी चर्चामा आएका थिए । पत्याउनै नसकिने नामहरू पनि त्यतिबेला पासपोर्ट बेचेर खानेको सूचीमा र्सार्वजनिक भएका थिए । केही लाख रकमका लागि त्यसरी आफ्नो पद-प्रतिष्ठा नै लिलामीमा चढाउने सांसदहरूमाथि छानबिन र कारबाहीका नाटक पनि मञ्चन भएको थियो क्यारे त्यसबेला, तर त्यस्ता इज्जत र इमानबेचुवाहरूलाई खासै कारबाही भएको सुन्न भने पाएनन् नेपाली जनताले ।
त्यो त थियो बहुदलकालको प्रसङ्ग । आज गणतान्त्रिक लोकतन्त्रले मुलुकमा प्रवेश पाएको छ । व्यवस्थाको नाम जे बदलिएको भए पनि व्यक्ति र प्रवृत्तिमा भने कुनै परिवर्तन नआएको हालै र्सार्वजनिक भएको सभासद्को कूटनीतिक राहदानी प्रकरणले पनि पुष्टि गरेको छ । स्तर न औकातका व्यक्तिलाई संविधान बनाउने जिम्मेवारीमा पठाइएपछि यति मात्र होइन अरू के-के पो देख्न-सुन्न पाइन्छ, कुन्नि ?
जे होस्, सभासद्का रूपमा प्राप्त भएको गरिमाशाली पासपोर्ट बेचेर धन कमाउने सभासद्रूपी कङ्गालहरू जो-जसको नाम अहिले र्सार्वजनिक भएको छ, यिनलाई हदैसम्मको कारबाही गरेर जनसमक्ष नाङ्गेझार पार्न सम्बन्धित निकायले कुनै कसर नछोडोस् भन्ने हामी आग्रह र माग गर्दछौँ ।
– सकिल, प्रशान्त जोशी र मनोहर उदास, काठमाडौं

यही हो त वीर अस्पतालको वीरता ?
सम्पादकज्यू,
केही दिन अगाडि श्रीमतीको ?पित्तथैली) को अप्रेसन गर्नलाई वीर अस्पताल भर्ना गरियो । सुनेको थिएँ- वीर अस्पताल नेपालको पुरानो अस्पताल हो । वीर अस्पतालमा असहाय, गरिब, दिन:दुखी, आर्थिक कमजोरी भएका बिरामीको नि:शुल्क उपचार हुन्छ । म पनि आर्थिक अवस्था कमजोर भएको मान्छे हुँ । यसकारण वीर मेरो पहिलो प्राथमिकतामा परेको हो । दसैं सकिनेबित्तिकै बिरामीको नाम लेखाएँ । डाक्टरकै सल्लाहअनुसार पटक-पटक भर्ना सार्नुपर्‍यो । जब भर्ना गरेपछि नि:शुल्क उपचारबारे उपचारमा संग्लन डाक्टरदेखि लिएर त्यहाँका प्रशासन शाखाहरूमा समेत सोधपुछ गर्न थालियो । तर, कोहीले कता कोहीले कता, यता न उता भनेझैं अस्पष्ट उत्तर मात्र पाइयो । अर्थात् उनीहरूले भनेका कुरा मैले प्रस्ट बुझन सकिनँ । कसैले के भने कसैले के भने । भनेका कुरामा सबै अस्पष्टता थियो । उनीहरूको नियत के हो भने आफन्तबाहेक अरूका बिरामीलाई अस्पतालबाट पाउने सुविधा उपलब्ध नगराउने नै हो । एकजना कर्मचारीले चाहिँ डाइरेक्टरलाई चिठी दिनु उहाँले तोक लगाइदिनुहुन्छ पनि भने । चिठी त हामीसँग तयारी नै थियो । चार तलामाथि डाइरेक्टरलाई भेट्न गयौँ । उहाँले चिठीमा तोक लाउन नपर्ने जानकारी गराउनुभयो । साथै जर्मन-नेपाल सहयोग सङ्घमा जानु भन्ने सल्लाहसमेत दिनुभयो । जर्मन-नेपाल सहयोग सङ्घ पनि त्यही अस्पताल हाताभित्रै रहेछ । हामी त्यहीँ गयौँ । शुक्रबारको दिन परेकाले बन्द भइसकेको रहेछ । त्यहीँका एक कर्मचारीले आइतबार औषधिको लिस्ट लिएर आउनु भन्ने जवाफ पाइयो । बिरामी भर्ना भइसकेको थियो । शनिबार बेलुका औषधिको लिस्ट आयो । आइतबार बिहानसम्म औषधि ल्याइसक्नुपर्ने भयो । जर्मन-नेपाल सहयोग सङ्घको अफिस खुल्नुभन्दा पहिल्यै औषधि तयार पार्नुपर्ने भएकोले त्यो सम्भव नै भएन । अर्को पटक सहयोग लिनुपर्‍यो भन्दाभन्दै मेरो आशाले निराशा मात्र छायो । हरेक दिन औषधि लिनुपर्ने तर औषधिको लिस्ट बिहान र बेलुकामात्र पाइने । यो औषधि लिएर आऊ भनेपछि तुरुन्तै लिएर आउनुपर्ने । यसकारण त्यो ९:३० मा खुल्ने र ४:३० बजे बन्द हुने जर्मन-नेपाल सहयोग सङ्घबाट औषधि सहयोग लिनबाट वञ्चित नै हुनुपर्‍यो ।
खासगरी वीर अस्पतालमा स्वास्थ्य सुविधा लिनेहरूले त्यहाँका कर्मचारी, डाक्टर, प्रशासन, कुनै पनि निकायमा सर्म्पर्क नराखे हुने बुझियो । सत्य के बुझियो भने त्यहीँभित्रका डाक्टर तथा उच्चतहका कर्मचारीलाई राम्ररी चिने-जानेका, अझ नातागोता जोडिएका, नेता तथा कार्यकर्ताको मान्छे मात्र औषधि उपचार सुविधा पाउन लायक हुँदोरहेछ । यस्ता कुनै पनि गुण हामीसँग भएन । यदि यो गुण भइदिएको भएको भए ती माथिका समयसँग के सरोकार हुने थियो र ? खोइ वीर अस्पतालले गरिब-दु:खीलाई दिने औषधि उपचार सुविधा ? सुविधाका लागि असहाय, गरिब, दिन:दुखी, आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई पहिचान गरी औषधि उपचारको व्यवस्था मिलाउने जिम्मवारी कहाँ कसलाई दिइएको छ ? यसको उत्तर अस्पतालले मजस्ता अनभिज्ञ जनतालाई दिनैपर्छ । यस सम्बन्धमा कहीँकतै लेखिएको पनि पाइएन । वीर अस्पतालभित्रका अप्रेसन थिएटर वार्डको भित्तामा चाहिँ यस्तो लेखिएको रहेछ-‘अप्रेसनलाई चाहिने उपकरण, औजार एवम् औषधि सकेसम्म अस्पतालबाटै प्रदान गरिने भए तापनि कुनै विशेष सामान औजार एवम् औषधि मगाइएको खण्डमा बिरामीको अभिभावक स्वयम्ले ल्याइदिएर सहयोग गर्नुपर्नेछ’ ?एनेस्थेसिया सेवासम्बन्धी सङ्क्षिप्त जानकारी बुँदा नं- ८) ।
तसर्थ, वीर अस्पतालले सहयोग गर्ने भन्ने वाक्य जो माथि उल्लेखित गरिएको छ त्यो नै सतप्रतिशत झुटो जानकारी रहेछ । यो पत्र प्रकाशित भए आगामी अङ्कमा वीर अस्पताल भोगेर संगालिएको यथार्थ चित्र शब्दमा उपलब्ध गराउने वाचा गर्दछु ।
– प्रेमबहादुर कुलुङ
इलाम, हाल: बुद्धनगर, काठमाडौं

प्रतिक्रिया