डा. केशव राजभण्डारी : तपाईंको दृष्टिमा

डा. केशव राजभण्डारी : तपाईंको दृष्टिमा


शान्ति र विकासका लागि युवा सशक्तीकरण, वातावरण, पानी, पर्यटन र शिक्षाक्षेत्रमा काम गर्दै आएको ग्लोबल पिस एसोसिएसन नेपालका अध्यक्ष डा. केशव राजभण्डारी पेसाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ । अमृत साइन्स कलेजमा एसोसिएट प्रोफेसर रहनुभएका उहाँले जर्मनीबाट माइक्रो बाइलोजीमा विद्यावारिधि गर्नुभएको हो । मानवजीवनमा मानवीय गुण, सीपको अत्यन्त महत्व रहने मान्यता राख्नुहुने डा. राजभण्डारी आफ्नो संस्थाले अनौपचारिक या व्यावहारिक शिक्षामा जोड दिँदै आएको बताउनुहुन्छ । देशमा शान्ति र विकासको संस्कार नै नभएकाले विभिन्न समस्या झेल्नुपरेको उहाँको ठहर छ । ग्लोबल पिस एसोसिएसन नेपालका माध्यमबाट शान्ति र विकासका लागि प्रतिबद्ध युवा व्यक्तित्व डा. केशव राजभण्डारी जीवन र जगत्सँग जोडिएका पचास प्रश्नमा यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– अविरल प्रवाह ।
० प्रेम के हो ?
– प्रतिबद्धताका साथ कसैका लागि गरिने त्याग ।
० सुन्दरता के हो ?
– अपेक्षा गरेकोभन्दा राम्रो प्रतिउत्तर ।
० मन के हो ?
– अदृश्य कर्ता ।
० भावना के हो ?
– मनमा उठेका तरङ्ग ।
० विवाह के हो ?
– अनन्त र इमानदारपूर्ण सहकार्यको प्रतिबद्धता ।
० बन्धन के हो ?
– कसैको भलाइ नहुने गरी जबर्जस्ती थुनेर राख्नु ।
० अपमान के हो ?
– निहित स्वार्थका लागि कसैको स्वाभिमानमा खेलवाड गर्नु ।
० इज्जत के हो ?
¬– गरेका कामको कदर गर्नु ।
० बेइज्जती के हो ?
– गरेका काम अस्वीकार गरिनु ।
० मिलन के हो ?
– सहृदयी हुनु ।
० विछोड के हो ?
– दुई सहृदयीका बीच दूरी पैदा हुनु ।
० जवानी के हो ?
– बढी सतर्कताका साथ बिताउनुपर्ने जीवनावस्था ।
० बालापन के हो ?
– जीवनानन्द बेग्लै किसिमले लिन खोज्ने अवस्था ।
० तृष्णा के हो ?
¬– अत्यधिक भोग गर्न चाहने चाहना ।
० रिस के हो ?
– अनियन्त्रित आवेग ।
० जोस के हो ?
– प्रेरणापूर्ण आवेग ।
० नसा के हो ?
– लत लागेको अवस्था ।
० यौन के हो ?
– विशेष दुई व्यक्तिबीच पुग्न सकिने प्रेमको गहिराइ ।
० सन्तुष्टि के हो ?
– अपेक्षाकृत प्रत्युत्तर ।
० कर्तव्य के हो ?
– पूरा गर्नैपर्ने दायित्व ।
० विश्वास के हो ?
– भरोसा गर्न सकिने अवस्था ।
० असल के हो ?
– बृहत्तर हित ।
० खराब के हो ?
– बृहत् स्वार्थलाई लत्याएर निहित स्वार्थ पछ्याउनु ।
० सबैभन्दा ठूलो धोका के हो ?
– भरोसाको दुरुपयोग गर्नु ।
० दु:ख के हो ?
– हृदयको चोट ।
० सुख के हो ?
– भौतिक आराम ।
० खुसी के हो ?
– मनको शान्ति ।
० आनन्द केमा छ ?
– आफू मिटाई अरूलाई दिनुमा छ ।
० मित्र को हो ?
– हरतरहले भरोसा गर्न लायक व्यक्ति ।
० शत्रु को हो ?
– धोका दिने व्यक्ति ।
० सङ्घर्ष के हो ?
– जीवन हो ।
० प्राप्ति के हो ?
– परिश्रमको फल ।
० आस्था के हो ?
– शाश्वत मूल्यमान्यता र सिद्धान्तप्रति अटल रहनु ।
० धर्म के हो ?
– स्वार्थरहित प्रेमको मार्ग नै धर्म हो ।
० नैतिकता के हो ?
– पारदर्शी हुनु ।
० चरित्र के हो ?
– व्यक्तित्व र पहिचानको मापदण्ड ।
० ज्ञान के हो ?
– वस्तुगत बुझाइ ।
० बुद्धि के हो ?
– दिइएको परिस्थितिमा ज्ञान र सीपलाई अधिकतम प्रयोग गर्न सक्ने क्षमता ।
० सम्झौता के हो ?
– हार वा पछाडि हट्नु ।
० सृष्टि के हो ?
– ईश्वरले विशेष उद्देश्यका लागि होसियारीपूर्वक बनाउनु भएको सिर्जना ।
० गुरु को हो ?
– ज्ञान र सीप दिएर बुद्धिमतापूर्वक अगाडि बढ्न सिकाउने व्यक्ति ।
० राजनीति के हो ?
– माहोल बनाएर नयाँ सिर्जना गर्दै जाने प्रणाली ।
० देश के हो ?
– विश्व भूभागको भौगोलिक इकाइ ।
० समाज के हो ?
– परिवारको विस्तारित रूप ।
० पद के हो ?
– जिम्मेवारीको किसिम वा विभाजन ।
० विकास के हो ?
– हरेक क्षेत्रमा निर्देशित किसिमले ल्याइने सकारात्मक परिवर्तन ।
० व्यापार के हो ?
– मानव सेवालाई दिगो किसिमले निरन्तरता दिन अपनाइएको प्रणाली ।
० अनुशासन के हो ?
– विश्वविजयको सूत्र ।