सरकारले ‘२१’ गर्‍यो, म त ‘२५’ कै पक्षमा छु

सरकारले ‘२१’ गर्‍यो, म त ‘२५’ कै पक्षमा छु


नेपाली जनताको विकास निर्माण कार्यप्रतिको जनचेतनाको स्तर र विकासप्रतिको तीव्र चाहना एवम् देश निर्माणमा सकारात्मक परिवर्तनको चाहनालाई सम्मान गर्दै विशेषत: बाँके जिल्लाअन्तर्गत कोहलपुर–जमुनहा सडकखण्डमा सडक अतिक्रमण गरी भएका भवन निर्माण भत्काई सडक विस्तार गर्ने अभियानमा बाँके जिल्लाका जनताको चाहनाअनुसार सडकको बीचभागबाट दायाँ–बायाँ पच्चीस–पच्चीस मिटर कायम हुनुपर्ने धारणाप्रति म पूर्ण सहमत रही सोही अभियानमा लागिरहेको व्यक्ति हुँ । यो यथार्थबीच केही विकासविरोधी व्यक्ति र संस्थाले आफ्नो कुत्सित स्वार्थपूर्तिका लागि मेरोसमेत नाम मुछ्दै सडकखण्डको दुवैतर्फ २१/२१ मिटर कायम गर्ने अभियानमा लागेको भनी गलत प्रचार गरेकोप्रति मेरो घोर आपत्ति रहेको छ । सडकखण्ड २५/२५ मिटर कायम हुनुपर्ने अन्य राजनीतिक पार्टीहरूको धारणाप्रति पूर्ण प्रतिबद्ध रहँदै बाँकेस्थित कोहलपुर–जमुनहा सडकखण्ड बीचभागबाट दायाँ–बायाँ २५/२५ मिटर कायम हुनुपर्नेमा स्पष्ट र पूर्ण सहमत हुँदै सर्वदलीय निर्णयमा ऐक्यबद्धता जाहेर गर्दछु ।
साथै नेपाल सरकारले हालै गरेको २१ मिटर सडक कायम गरेको निर्णयको विरोध गर्दै सो अलोकप्रिय निर्णय तुरुन्त खारेज गरी जनताको चाहनाअनुसार सडकको दुवैतर्फ २५/२५ मिटर कायम गर्न पनि म जोडदार माग गर्दछु ।
– पूर्णकुमारी सुवेदी
पूर्वउपाध्यक्ष, संविधानसभा

क्षेत्रीय विमानस्थल निर्माणमा प्रचण्डको नौटङ्की
डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारको वास्तविक कमाण्ड खिंचेका एमाओवादीका अध्यक्ष प्रचण्ड नौटङ्की गर्न निकै सिपालु छन् भन्ने कुराको फेरि पुस्टि भएको छ । पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणलाई मुद्दा बनाएर पोखरेली जनता आन्दोलित भएको यतिका समय बितिसक्यो । तर, सरकार कहिले के र कहिले के बहानावाजी बनाएर त्यो आवाजलाई कुल्चिरहेको छ । यदि विमानस्थल बनाउने खास मनसाय थियो भने केले रोकेको थियो ? पोखरेली जनतासँग ऐक्यवद्धता जनाउन आउने प्रचण्डले चाहे यो काम हुँदैनथ्यो र ? बाबुराम भट्टराईलाई यसमा दबाव दिए हुन्थ्यो नि उनले । प्रधानमन्त्रीले प्रचण्डका कुरा अहिलेको हालतमा पक्कै काट्न सक्दैनन् भन्नेमा हामी विश्वस्त छौँ । प्रचण्डको यो काइते तरिकाबाट हामी झुक्किनेवाला छैनौँ । उनको नाटक अब धेरै दिन चल्दा पनि चल्दैन । सके हामी आफै आन्दोलनको माध्यमबाट विमानस्थल निर्माण गराइ छाड्छौँ नसके प्रचण्डजस्ता लाउके नेताको साथ हामीलाई चाहिँदैन । चेतना भया ।
–निमेशचन्द्र पराजुली र साथीहरु, चिप्लेढुङ्गा, पोखरा

प्रतिपक्षमाथि सरकारी हस्तक्षेप
‘जो चोर उसैको ठूलो स्वर’ भनेझैँ नवधनाढ्य वर्गको पार्टी एमाओवादी र जमिनदार वर्गको प्रतिनिधित्व गर्ने मधेसवादी मोर्चाबीचको गठबन्धनबाट बनेको सत्तावादी, अराजनीतिक गठबन्धनले लोकतन्त्रको होइन सामाजिक फाँसीवादको अभ्यास गर्ने प्रयत्न गरिरहेको छ ।
केयरटेकरका रहेका बाबुराम भट्टराई सरकारले तुरुन्त राजीनामा दिएर राष्ट्रिय सहमतिको ढोका खोल्नुपर्नेमा कथित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले आगामी चुनावमा सङ्घीयताको पक्षमा जनमत बनाउने भन्दै असोज १७ गतेदेखि दबाबमूलक आमसभा गर्दै छ । आफैँ सरकारमा बस्ने र प्रतिपक्षमाथि सरकारी हस्तक्षेप गर्ने यो लोकतन्त्र होइन, यो सामाजिक फाँसीवाद हो । आफ्नै नेतृत्वमा चुनाव गराई २५ वर्ष सरकार चलाउने साम्राज्यवादी ग्राण्डडिजाइनको एउटा अध्याय नै हो ।
आफूलाई सङ्घीयता पक्षधर देखाउने यो मोर्चा वास्तवमा एकल जातीय पहिचान पक्षधर होइन । षड्यन्त्रमा विश्वास गर्ने गठबन्धन बरु सङ्घीयता तुहाउने, फाँसीवाद लाद्ने नियत हेर्दा यो राजनीतिक विचार होइन सत्तावादबाट पे्ररित छ । सडक, सरकार र चुनावमार्फत सत्ता कब्जा गर्ने यिनीहरूको नियत प्रस्ट भइसकेको छ । सहमति र सहकार्यबाट प्रचण्ड नेतृत्वको मोर्चा राजनीतिक मुठभेडमा ओर्लिएको छ । यस कदमको सबै सच्चा राष्ट्रपे्रमी नेपालीबाट प्रतिरोध हुनु आवश्यक छ ।
– क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल