मन्त्रिमण्डल बिस्तार आइतबार मात्र

मन्त्रिमण्डल बिस्तार आइतबार मात्र


मन्त्रिचयनमा एमाले र माओवादी केन्द्र निश्कर्षमा पुग्न नसकेपछि शुक्रबार साँझसम्ममा विस्तार हुने भनिएको मन्त्रिमण्डल अन्ततः तीन सदस्यीय मण्डलमै सीमित रहन पुग्यो । अब पर्सी आइतबारयता मन्त्रीमण्डलले पूर्णता पाउन नसक्ने करिव करिव निश्चित नै छ । यसको संकेत माओवादी केन्द्रका नेता देव गुरुङले पनि दिएका छन् । आइतबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने उनको भनाई छ ।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने दाबी गरे । माओवादी फुटाएर फेरि विलय हुन पुगेका गुरुङ पनि बादल समूहकै नेताका रुपमा चिनिन्छन् । वर्षमान पुन, जनार्दन शर्माहरु जस्ता खरो उत्रिएका नेताहरुले गृहमन्त्रालयको वागडोर सम्हाल्ने आकांक्षा देखाइरहेको परिवेशमा बादलकै नेतृत्वमा गृहसहित माओवादी केन्द्र सरकामा जाने गुरुङको दाबीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले सरकारमा मधेशवादी दलसमेत सहभागी हुनसक्ने वातावरण बन्दै गएको पनि सोही अवसरमा बताए । अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने दाबी गर्दै नेता गुरुङले राष्ट्र र राष्ट्रियताको विषयमा पक्ष÷प्रतिपक्ष नभएर वाम गठबन्धन र नेपाली कांग्रेस एक ठाउँमा उभिनुपर्नेमा तर्क पनि गरे ।