मेलम्चीको म्याद फेरि सारियो, दशैँयता मेलम्ची नचुहिने !

मेलम्चीको म्याद फेरि सारियो, दशैँयता मेलम्ची नचुहिने !


पटक-पटक सारिँदै आएको मेलम्ची खानेपानी आयोजनाले पूर्णता पाउने म्याद फेरि सारिएको छ । अन्तिम चरणमा पुगेको दाबी गरिए पनि अब राजधानीवासीका धारामा दशैँताका मात्र मेलम्चीको पानी आउने बताइएको छ । यसअघि आगामी वैशाखमा धारामा मेलम्ची चुहिने बताइएको थियो ।

दुई दशकभन्दा ज्यादा निर्माण अवधि पार गरिसकेको अर्बौं रुपैयाँको उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का ठानिए पनि पटक-पटक भाखा सारिएबाट आशावादी उपभोक्ता न्यास्रिएका छन् ।

एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको आज राजधानीमा आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्ययोजना भने सार्वजनिक गरेको छ । योजनानुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्ने बताइएको छ ।

असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुने आयोजनाको दाबी छ । यसअनुसार अब आगामी दशैँताका आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिने छ ।