राष्ट्रिय किक बक्सिङ संघको अध्यक्षमा महर्जन

राष्ट्रिय किक बक्सिङ संघको अध्यक्षमा महर्जन


पूर्व राष्ट्रिय किक बक्सिङ च्याम्पियन विनोद महर्जनको अध्यक्षतामा ललितपुर किक बक्सिङ संघ पुनर्गठन गरिएको छ । उक्त संघ उपाध्यक्षमा पूर्वराष्ट्रिय खेलाडी उमेश ढुंगेल, सचिवमा पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र चित्रकार, कोषाध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सुरज राजथला रहेका छन् ।

सदस्यहरूमा पूर्व राष्ट्रिय खेलाडीहरू सुरेन्द्र कपाली, राजेश बज्राचार्य, उमेश कायस्थ, चन्द्रबहादुर श्रेष्ठ, राजेश महर्जन, विनोद सिलवाल र सरेन मालाकार रहेका छन् ।

त्यसैगरी प्रमुख सल्लाकारहरूमा राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष तथा किक बक्सिङ तथा करातेका अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन रहेका छन् । अन्य सल्लाहकारहरूमा किक बक्सिङका पूर्वराष्ट्रिय खेलाडी नारायणदेव राना, दिपक श्रेष्ठ, गंगाराम महर्जन र दयाराम महर्जन रहेका छन् ।

किक बक्सिङ संघ पुनर्गठनसँगै उक्त कमिटीले गोदावरी नगरपालिका अन्तर्गत चापागाउँको प्याङगाउँ चौरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । संघले उक्त प्रतियोगिता चैतको अन्तिम साता ‘दोश्रो बीर गणेशमान सिंह’ रुपमा आयोजना गर्ने छ । उक्त प्रतियोगितामा नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा प्रथमले ३० हजार, दोस्राले १५ र तेस्रो हुने दुई जना खेलाडीलाई १०– १० हजार प्रदान गर्ने संघले निर्णय गरेको छ । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट हुने खेलाडीलाई २५–२५ हजार प्रदान गरिने अध्यक्ष बिनोद महर्जनले जानकारी गराएका छन् । यसैगरि टीम च्याम्पियन हुने टीलाई नगद ५० हजारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० केजी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ५०, ५५, ६० र खु्रल्ला तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल अधिराज्यभरिका कराते, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, उसु, बक्सिङ, आइटीएफ तेक्वान्दो, राष्ट्रिय तेक्वान्दो र सातै प्रदेशका राष्ट्रिय खेलाडीहरुको सहभागिता जनाउने आयोजक कमिटीले जानकारी गराएको छ । त्यस्तै उक्त प्रतियोगितामा विभागिय टोलीको रुपमा पुलिस र शसस्त्र प्रहरीका खेलाडीहरुले पनि सहभागिता जनाउने छन् ।

गत वर्ष ललितपुरको जावलाखेल मैदानमा सम्पन्न प्रथम वीर गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको संयोजक राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा किक बक्सिङ संघका अन्तराष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन रहेका थिए ।